सूचनाको शक्ति - The Power Of Information

        

धेरै सुते क्यान्सरको जोखिम, सबेरै उठ्दा ४० प्रतिशतले कम

काठमाडौं । रातभरि काम गर्ने वा बिहान ढिलोसम्म सुत्नुभन्दा सबेर उठ्नु क्यान्सरको जोखिम कम गर्नका लागि फाइदाजनक रहेको एक अध्ययनले देखाएको छ । बेलयातका अनुसन्धानकर्ताले गरेको पछिल्लो अध्ययन अनुसार बिहान सबेर उठ्ने महिलामा स्तन क्यान्सरको जोखिम रातभर जागै बसेर काम गर्ने वा अबेरसम्म सुत्नेको तुलनामा निकै कम देखिएको हो ।
सुत्ने समय र स्तन क्यान्सरको जोखिमबारे चार लाख ९ हजारभन्दा बढी महिलामा गरेको अनुसन्धानबाट सबेर उठ्नेमा जोखिम कम देखिएको हो । रातीको समयमा नसुती काम गर्ने र बिहान चाँडै उठ्ने महिलामा क्यान्सरको जोखिमका बारेमा अध्ययन गर्दा बिहान चाँडै उठ्नेमा रातभरि जागै बस्ने भन्दा जोखिम ४० प्रतिशत कम देखिएको अनुसन्धानकर्ताले बताएका छन् ।
यस्तै आवश्यकभन्दा बढी सुत्नेमा पनि क्यान्सरको जोखिम धेरै हुने देखिएको छ । दिनको सात वा आठ घण्टाभन्दा बढी सुत्नेमा हरेक थप एक घण्टाको सुताईले क्यान्सरको जोखिम २० प्रतिशत बढ्ने देखिएको हो । अनुसन्धानमा संलग्न बेलायतको ब्रिस्टोल विश्वविद्यालय अन्तर्गत क्यान्सर रिसर्च युके इनटिग्रेटिभ क्यान्सर इपिडिमियोलोजी कार्यक्रमसँग अबद्ध रिबेका रिचमोण्डका अनुसार अनुसन्धानलाई थप परिस्कृत गर्न बाँकी रहेको छ ।
तर क्यान्सरको जोखिम कम गर्नका लागि बिहान सबेरै उठेर काम गर्नु रातभर जागै बसेर काम गर्नुभन्दा उपयुक्त रहेको देखिएको उनको भनाई छ । यस्तै आवश्यकभन्दा बढी सुत्नु पनि खतरनाक रहेको देखिएको छ । अनुसन्धानले सुत्ने समय वा बानी र स्तन क्यान्सरबीचको सम्बन्ध वा जोखिमका बारेको ‘कारण–प्रभाव’ सम्बन्धमा प्रमाणित गरेको छैन । तर यो अनुसन्धानले सुताई र क्यान्सरको जोखिमको अनुसन्धानमा थप मार्ग प्रसस्त गरेको अनुसन्धानकर्ताले बताएका छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७५, शनिबार १०:२३