सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रपति, प्रधानमन्त्री र शीर्ष नेताको तिहार : यसरी लगाउँदैछन् सप्तरंगी टीका

काठमाडौं । उज्यालो पर्व तिहारको आज मुख्य दिन, भाइटीका । हिन्दु धर्मावलम्बीहरुले दाजुभाइलाई दिदीबहिनिले सप्तरंगी टीका लगाउँदै धुमधामका साथ यो चाड मनाउँदैछन् । परापूर्वकालदेखि चेली–माइतीको अटुट सम्बन्ध एवं दीर्घायुका लागि यो पर्व मनाउने गरिएको छ ।
राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, राजनीतिक दलमा शीर्ष नेताहरुले पनि विशेष गरिकाले तिहार मनाउँदैछन् । तिहारको समयमा पार्टीले आयोजना गरेको चियापानबाहेक अन्य राजनीतिक गतिविधि नभएकाले उनीहरु फुर्सद मिलाएर चाडपर्वमा रमाइरहेका छन् । उनीहरु पनि आफ्ना दिदीबहिनको हातबाट टीका ग्रहण गर्दै छन् । कतिपय भने कारणवश यसपालि टीका लगाउने छैनन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी
गणतन्त्रपछि दोस्रो पटकका लागि राष्ट्रपति पदमा निर्वा्चित भण्डारी विगतझैं यसपटक पनि तिहार मनाउँदैछिन् । राष्ट्रपति भण्डारीले कान्छो भाइ डेगेन्द्र पाण्डेलाई टीका लगाउँदै आएकी छन् । अर्का भाइ अमेरिकामै बसोबास गर्ने हुनाले यसपटक पनि डेगेन्द्रलाई नै टीका लगाइदिने शीतल निवासले जनाएको छ । राष्ट्रपतिले टीकाको शुभ साइत ११स्५५ मा मै राष्ट्रपति भवन शीतल निवासमा टीका लगाइदिने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली
भर्खरमात्र अस्पताल बसाईबाट सरकारी निवास फर्केका केपी शर्मा ओली दसैंझैं तिहार पनि मनाउँदैछन् । दसैं उनले बालुवाटारमा धुमधामका साथ मनाएका थिए । आफूमात्र नभई सर्वसाधारणलाई समेत उनले टीका लगाइदिएका थिए । जसका कारण उनी बिरामी परे ।
प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ओलीले दुई बहिनीको हातबाट टीका थाप्ने तयारी गरिरहेको उनको सचिवालयले जानकारी दिएको छ । उनका प्रेस संयोजक चेतन अधिकारीका अनुसार झापामा रहेकी बहिनी कौशल्या कोइराला र चितवनमा रहेकी अर्की बहिनी विष्णुकुमारी ढकाल टीका लगाइदिन काठमाडौं आइसकेका छन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले भने यस वर्ष तिहार मनाउने छैनन् । दसैं पनि उनले मनाएनन् । छोरा प्रकाशको वार्षिकी बारेका कारण उनको यसपालिको चाडबाड खल्लो हुन पुग्यो । यद्यपि घरमै कार्यकर्ता भेटघाट गरेर तिहार मनाउने उनको तयारी रहेको छ ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा
प्रमुख प्रतिपक्षी दलका नेता एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले भने यसपटक तिहार मनाउँदैछन् । दसैं पनि उनले निजी निवास बूढानीलकण्ठमा मनाएका थिए । विगतझैं यसपटक तिहारमा पनि देउवाले बहिनी सुशीला खड्काको हातबाट टीका थाप्दैछन् । बर्सेनि देउवा उनैसँग टीका थाप्दै आइरहेका छन् । यसपटक पनि खड्काले नै टीका लगाउने उनको सचिवालयले जनाएको छ ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल
नेकपाका तेस्रो वरीयताका नेता माधव नेपालले पनि तिहार काठमाडौमै मनाउँदैछन् । यसपटक बहिनी बसुधा पोखरेलको हातबाट टीका लगाउने कार्यक्रम नेपालको रहेको छ ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल
नेकपाका अर्का वरिष्ठ नेता झलनाथ खनालले पनि उपत्यकामै तिहार मनाउने छन् । दसैंझै तिहार पनि परिवारका साथ यतै मनाउन लागेका हुन् । खनालले भक्तपुरमा रहेकी जेठी दिदी यशोधादेवी आचार्य र काठमाडौंमा रहेकी बहिनी कुसुम खनालको हातबाट शुभसाइतमै टीका थाप्ने कार्यक्रम रहेको खनालले जनाएका छन् । हरेक वर्ष दुवै दिदीबहिनिका हातबाट टीका छाप्दै आएको र यो वर्ष पनि सोही कार्यक्रम निरन्तर रहेको उनले बताए ।

वरिष्ठ नेता रामचन्द्र पौडेल
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल ठूलीआमाकी छोरीको हातबाट टीका थाप्दै आएका छन् । चन्दा ओझाबाट शुभसाइतमा टीका थाप्ने कार्यक्रम रहेको पौडेलले बताए ।

प्रकाशित मिति : २३ कार्तिक २०७५, शुक्रबार ११:०९