सूचनाको शक्ति - The Power Of Information

        

दाजुभाईलाई सप्तरङ्गी टीका र सयपत्री माला लगाइदिने प्रतिक्षामा दिदीबहिनी

काठमाडौँ । यमपञ्चकको पाँचौँ दिन शुक्रबार दिदीबहिनीहरुले भाइटीकाका लागि सम्पूर्ण तयारी पूरा गरेका छन् । भाइटीकाका लागि शुक्रबार बिहान ११ बजेर ५५ मिनेटको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । सोही समयमा आफ्ना दाजुभाइलाई टीका लगाउन दिदीबहिनीहरुले तयारी पूरा गरिसकेका हुन् ।
दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाउनेछन् । त्यसका लागि सयपत्री तथा मखमली फूलको माला, मिठामिठा परिकारहरु तयार भइसकेका छन् भने सप्तरङ्गी टीका पनि तयार भइसकेको छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ । तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको समितिले जनाएको छ ।
लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजाआजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरीलगायतका फूलका माला लगाइदिने गरिन्छ ।
टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७५, शुक्रबार १०:५७