सूचनाको शक्ति - The Power Of Information

        

मुस्लिमका निधारमा सप्तरंगी टिका

बाँके । अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ मुस्लिम समुदायका व्यक्ति हुन् । नेपालगन्ज उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्षसमेत रहेका चुन्ना मुस्लिम भए पनि हिन्दुका हरेक चाडवाडमा रमाउने गर्छन् । नेपालगन्जका रैथाने चुन्नाले २० वर्षदेखि दसैँतिहारमा टीका लगाउँदै आएका छन् ।
‘यसपाली साइतको टीका लगाउन नपाइने भयो,’ उनले भने, ‘यसपाली त टीका शुक्रबार परेको छ, एक बजे नमाज पढेर दुई बजेतिर टीका लगाउन जान्छु ।’ चुन्नाले नेपालगन्ज–१, धम्बोझी निवासी पुनम सिंहको हातबाट टीका लगाउँदै आएका छन् ।
‘मैले जहिले पनि साइतकै टीका लगाएको छु,’ उनले भने, ‘यसपाली शुक्रबार टीका परेकाले साइतमा लगाउन नपाइने भयो ।’ आफूलाई सेल र फिनी रोटी अति नै मनपर्ने बताउँदै उहाँले स्कूल पढ्दादेखि नै छिमेकी एकजना बाहुन बाजेको घरमा फिनी र सेलरोटी पाक्दा खान जाने गरेको विगत सम्झिए ।
नेपालगन्जको घरबारीटोल पहाडी समुदायको बाक्लो बसोबास रहेको वस्ती हो । त्यही वस्तीमा हुर्किएका चुन्नाले भने, ‘छिमेकी भनेका हरेक समस्या पहिला काम लाग्ने मान्छे हुन्, आफन्त त पछि आइपुग्छन् । यही सोंचका साथ म पनि छिमेकी साथीहरु दुवै समुदायको पर्वमा रमाउन थालेँ ।’
स्कूल पढ्दा तिहारमा देउसीभैलो खेल्न जाने गरेको सम्झिँदै उनले भने, ‘मुस्लिम समुदायको चाड बकरइदमा हिन्दु साथीहरुलाई बोलाएर खुवाउने गरेको छु ।’ चुन्नाले हिन्दु धर्मावलम्बीको चाडमा आफैँ खानपिन गर्छन् । दसैँमा रामबागमा रहेको शक्तिको घरमा गएर चुन्नाले टीका लगाए । ‘तिहारमा धम्बोझीमा गएर टीका लगाउछु,’ उनले भने ।

‘म हलाल गरेको मासु खान्छु, त्यो कुरा उहाँहरुले बुझ्नु भएको छ, म दसैँ र तिहारमा जाँदा दिदीबहिनीले हलाल गरेकै मासु ल्याउनु हुन्छ । कहिले सिंगै कुखुरा ल्याउनु हुन्छ । म आफैँ काट्छु र बनाउन लगाउँछु,’ चुन्नाले भने, ‘हाम्रो परिवार मुस्लिम र हिन्दु दुवैको चाडमा रमाउने गर्छ ।’ हिन्दुहरुको पर्व भएकाले तिहारमा हिन्दु समुदायका मानिसको निधार मात्रै नभई नेपालगन्जमा मुस्लिम समुदायका व्यक्तिको निधारमा पनि सप्तरंगी टीका देख्न सकिन्छ ।
नेपालगन्ज एउटा सद्भाव र सभ्यता बोकेको शहर हो । चुन्नामात्रै होइन, नेपालगन्जमा रक्षाबन्धन, दसैँतिहारमा टीका लगाउनेहरु धेरै छन् । शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई पनि रक्षाबन्धन, दसैँ र तिहारमा टीका लगाएर रमाउँदै आएका छन् । ब्रम्हकुमारी ईश्वरीय विश्वविद्यालयमा गएर उनले त्यहाँका दिदीहरुसँग टीका लगाउने गर्छन् ।
हिन्दुहरुले दसैँको दुर्गा मूर्ति सेलाउन जाँदा मुस्लिम युवाहरुले बाटोमा बसेर पानी बाँडेका थिए । ईदमा वीपीचोकमा मुस्लिम समुदायले सामुहिक नमाज पढेर बाहिर निस्किँदा हिन्दु युवाहरुले पानी वितरण गरे । यो नेपालगन्जको छुट्टै पहिचान हो । यहाँ हिन्दु, बौद्ध, मुस्लिम, शिख र इसाई मिलेर बसेका छन् ।
यहाँको विशेषता के हो भने मन्दिरमा घण्टी बजिरहँदा, मस्जिदमा अल्लाह अबकर भनिएको स्वर सुनिन्छ । शिखले वाहे गुरु भनिरहँदा बौद्धको मन्त्रोचारण गुञ्जयमान हुन्छ । हिन्दुहरु मन्दिर जाँदा मस्जिद भएर जानुपर्छ । मुस्लिमहरु मस्जिद जाँदा मन्दिरहरु भएर जानुपर्छ । हरेक २–३ सय मिटरको दुरीमा मन्दिर, मस्जिद, गुम्बा, गुरुद्वारा रहेका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७५, शुक्रबार १०:११