सूचनाको शक्ति - The Power Of Information

        

फेरि ‘बोक्सी’कै आरोपमा कुटिँदा विक्षिप्त छिन् राधा

कैलाली । तिहारको उमंग र झिलिमिली । सबैको घरमा लक्ष्मीको चलिइरहेको थियो, लक्ष्मीको पूजा । घोडाघोडी नगरपालिका वडा नम्बर ५ देउकलिया बस्ने राधा चौधरी पनि घरमा लक्ष्मीको स्वागत गर्ने तयारीमा थिइन् । उनी आँगनमा बसेर उत्साही मूडमा थिइन् । टुप्लुक्क आइपुगे छिमेकी कालीचरण चौधरी ।
‘तँ बोक्सी होस्, तेरै कारणले भोलेबाबा जेलमा छ । तैंले जालझेल गर्छेस्…’ यस्तैयस्तै फलाक्दै उनी गाली गर्न थाले । मदिरा सेवन गरी अपशब्द बोल्दै उनले राधामाथि कुटपिट गर्न थाले । ‘बेलाबेला कालीचरणले मलाई यस्तो शब्द प्रयोग गर्दै आएको थियो,’ उनले भनिन्, ‘मेरो आमाले गाली गरेको सुनेपछि दुवैबीच वादविवाद भयो ।’
वादविवादकै क्रममा कालीचरणले आमा फुलकेशरी र राधामाथि नै कुटपिट गरेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । राधालाई गत अन्तर्राष्ट्रिय नारी दिवसका दिन बोक्सीकै आरोपमा निर्मम कुटपिट गरिएको थियो । उक्त घाउमा मलम लगाउने प्रयासमा थिइन् राधा । तर फेरि बोक्सीकै आरोपमा कुटिँदा उनी विक्षिप्तझैं बनेकी छन् ।
पहिलेको पीडा भुल्न नसकेको गुनासो गर्दै उनले भनिन्, ‘गाउँघरका कतिपयले अझै पनि ‘बोक्सी’ भनिरहन्छन् । सुने पनि नसुनेझैं गर्थे तर, हिजो (बुधबार) आमाले सहन नसकेपछि वादविवाद भएको थियो । उसले लठ्ठीले हामी दुवैलाई कुटपिट गर्यो ।’ इलाका प्रहरी कार्यक्रय सुखडका प्रहरी निरीक्षक यक्षराज जोशीका अनुसार राधामाथि कुटपिट हुँदैछ भन्ने खबर पाउने बित्तिकै घटना स्थलमा पुगेर कालीचरण चौधरीलाई नियन्त्रणमा लिइएको हो ।
उनलाई अपहेलना अन्तर्गत मुद्दा चलाइने जोशीले बताए । राधाका परिवारले प्रहरीमा उजुरी दिइसकेको बताउँदै उनले जिल्ला अदालत खुलेको दिन म्याद थप गराई अनसुन्धान कार्य अघि बढाइने उनको भनाइ छ । राधालाई यसअघि २०७४ फागुन २४ गते नारी दिवसका दिन ७ घन्टा निर्घात कुटपिट भएको थियो ।
२० वर्षीया राधामाथि ‘भोलेबाबा’ भनिने रामबहादुर चौधरी र ‘पार्वती माता’ भनिने किस्मती चौधरीले बोक्सीको आरोप लगाउँदै कुटेका थिए । सोही ठाउँका उनीहरु अहिले जेल जीवन बिताइरहेका छन् । राधाको परिवारमा आमा, बुवा, दाइ, एक भाइ र एक बहिनी छन् । कमजोर आर्थिक अवस्थाका कारण अहिले राधाका बुवा, दाइ–भाइ भारतमा काम गर्न गएका छन् । अहिले राधासहित आमा र बहिनी मात्रै घरमा बस्छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७५, शुक्रबार ०८:१३