सूचनाको शक्ति - The Power Of Information

        

आज गाई, गोरु र गोवर्द्धन पूजा गरिँदै

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोवर्द्धन र गोरुको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूधजत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।
स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजा गरी आजका दिन मिठामिठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।
नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ ।

गोवर्द्धन पूजा
आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो । वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मिठामिठा खानेकुरा खान दिने प्रचलन छ । यसैगरी कृषक एवं हलीलाई पनि आज पूजा गर्ने गरिन्छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७५, बिहीबार १०:४४