सूचनाको शक्ति - The Power Of Information

        

सुधारिँदै नेपालगन्जको ट्राफिक व्यवस्थापन

रुपा गहतराज । बाँके । नेपालगन्जको सुर्खेत रोड चार लेनको भयो । सडकको बीच भाग र किनारमा डिभाइडर राखिए । चोकचोकमा ज्रेब्रा कसिङ्ग बनाइयो । साँघुरा गल्ली र सवारी साधनको बढ्दो चापले अस्तब्यस्त नेपालगन्जको सडक फराकिलो हुँदा निकै राहात महसुस गरियो । ट्राफिक व्यवस्थापन नौलो थियो । जहाँ पायो त्यहीँबाट बाटो काट्ने बानी परेका पैदल यात्रुले डिभाइडर नाघेर बाटो काट्न थाले ।
नेपालगन्ज–१० का आनन्द सुनार मुख्य सडकसँग जोडिएका भित्री सडक क्रसिङमा डिभाइडर राखिदिँदा कठिनाइ झेल्नुपरेको बताउँछन् । उनी भन्छन्, ‘डिभाइडर त राखियो । यसको आवश्यकता र महत्वबारे स्थानीयलाई बुझाउन सकिएन । राम्रा कामका लागि सुरु गरिएको अवधारणा प्रभावहीन हुनथाल्यो ।’ डिभाइडर आफ्नै लागि हो भन्ने यात्री, चालक र यातायात व्यवसायीले बुझेनन् ।
‘कारवाही मात्रै त समाधान होइन । कानून उल्लंघन गर्न नहुनेबारे सचेतना दिनु प्राथमिकताको विषय हो’, गाडी चालक रामु खडका भन्छन्, ‘त्यसपछि पनि सुधार भएन भने कानून अनुसार कारवाही त अन्तिम विकल्प हो ।’ नेपालगन्ज उपमहानगरपालिकाले ट्राफिक प्रहरीसँग छलफल गरी डिभाइडर राखेको थियो ।
यात्रीको सुविधा र सुरक्षाका लागि राखिएका डिभाइडरमाथि जनचेतनाको अभावमा स्थानीयले निर्माण सामग्री राख्न, ठेला अडाउने र सवारी पार्किङ गरेर दुरुपयोग गर्दा आवतजावतमा समस्या हुनथाल्योे । गत १५ माघदेखि नेपालगन्ज उपमहानगरपालिका सुर्खेत रोडको छेउका डिभाइडरलाई हटाउन बाध्य भयो ।

नगर प्रमुख डा. धवलशमशेर राणाको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकको निर्णयअनुसार सडकका डिभाइडर हटाउने निर्णय गरिएको थियो । सिमेन्टका भारी डिभाइडर हटाउन दिउँसो सम्भव नभएपछि क्रेनमार्फत माघको जाडोको रातिराति काम गरिएको थियो । राँझाचोकदेखि गणेशमान चोकसम्मका ३२५ डिभाइडर हटाइएर व्यवस्थित गरिएको नेपालगन्ज उपमहानगरपालिका सूचना अधिकारी शरदकुमार पौडेल बताउँछन् ।
अहिले सडकबीचमा मात्र डिभाइडर राखिएको छ । पौडेल भन्छन्, ‘साना सवारी साधन र पैदल यात्रुले ग्रीन बेल्टमा राखिएका डिभाइडर नाघ्ने क्रम केही कम भएको छ । जथाभावी बाटो काट्दा चारलेन सडकमा हुने दुर्घटनाको जोखिम पनि केही घट्दो दरमा छ ।’ जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार आर्थिक वर्ष २०७४÷०७५ मा जिल्ला भरी ६ बस, ७ ट्रक, ४ जिपकार, १५ मोटरसाइकल, ३ टेम्पु गरी ५४ वटा दुर्घटनामा २७ जनाको मृत्यु भएको थियो ।
जिल्लामा सवारी दुर्घटना धेरै देखिए पनि नगरभित्र भने ५० प्रतिशतले सडक दुर्घटनामा कमि आएको जिल्ला ट्राफिकको दाबी छ । नेपालगन्जको गणेशमान चोक, भुजइगाउँ, राँझा, ट्राफिक चोक बढी सवारी दुर्घटना हुने स्थान हुन् । यी क्षेत्रमा कुनै बेला दैनिकरुपमा १० वटासम्म दुर्घटना हुन्थे । अहिले दुर्घटना घटेर गएको ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरी प्रमुख हिरेन्द्र रोकाय नेपालगन्जको ट्राफिक ब्यवस्थापन पहिलेको तुलनामा सन्तोषजनक ठान्छन् ।

‘अहिले फाटफुट मात्र दुर्घटना हुन्छन् । सुर्खेत रोडमा बनाइएका डिभाइडरकै कारण दुर्घटनामा कमि आएको छ । यात्रीे जेब्राक्रसबाट बाटो काट्न बानी पर्दैछन् । ट्राफिक नियमबारे सुरुमा जानकारी नहुँदा सुरुमा समस्या देखिए पनि समस्या कम हँुदै गएको छ,’ उनले अनुभव सुनाए, ‘दुर्घटना न्युनिकरण गर्न सबैले थोरै कष्ठ झेल्नुपर्छ । सडक निर्माण गर्दा राखिएका क्रसिङ र डिभाइडर ट्राफिक नियम विपरित थिए । जसलाई अहिले सुधार गरिएको छ ।’
क्रसिङ क्षेत्र धेरै भएका कारण यात्रुले जथाभावी बाटो काटेर थप असुरक्षा बढाउनुका साथै ट्राफिकिङमा समस्या निम्त्याउन थालेपछि क्रसिङ मोडमा डिभाइडर राखिएको नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगर बताउँछिन् । उनी भन्छिन्, ‘ट्राफिक व्यवस्थापन र जनचेतनाका लागि ट्राफिक चिन्ह र सूचनामूलक बोर्ड राखिएका छन् । दुर्घटना न्यूनिकरणका लागि जे जे आवश्यक पर्छ उपमहानगर गर्न तयार छ ।’
नगरका सडक त चौडा भएका छन् । ठाउँठाउँमा व्यवस्थित पार्किङ स्थलको खाँचो भने छ । सडकलाई पार्किङस्थल बनाउँदा अस्तव्यस्त भएको छ । ट्राफिक प्रमुख रोकाय ट्राफिक प्रहरीले नदेखेसम्म सडकमा नियम उल्लंघन गर्ने चालक र पैदल यात्रीको मनोवृत्तिलाई अटेरी र लापरबाहीको हद मान्छन् । उनको दाबी छ, ‘चालक सचेत हुनासाथ सडक दुर्घटनामा ८० प्रतिशत कमि आउँछ ।’
महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका समाजशास्त्र विषयकी प्रध्यापक सावित्रा बस्नेत भने चेतनामै जोड दिँदै भन्छिन्, ‘विद्यालय स्तरबाटै ट्राफिक सचेतना दिन आवश्यक छ । कारबाहीमा परेर होइन, आफ्नै सुरक्षाको लागि सडक नियम पालना गर्ने संस्कारको विकास गर्नुपर्छ ।’

 

 

 

 

#सहर फिचर सेवा नेपालगन्ज उपमहानगर

प्रकाशित मिति : २१ कार्तिक २०७५, बुधबार ०३:२९