सूचनाको शक्ति - The Power Of Information

        

बलात्कारपछि बालिकाको मृत्यु, प्रहरीको कडा सुरक्षाबीच अन्त्यष्टी

बाँके । बाबुबाट यौन दुर्व्यवहार गरिएकी १० वर्षीया बालिकाको उपचार क्रममा मृत्यु भएको छ । कात्तिक १२ गते बेहोस अवस्थामा भेटिएकी बालिकालाई नेपालगन्ज मेडिकल कलेजको आईसीयूमा भर्ना गरिएको थियो । उपचारकै क्रममा नेपालगन्ज उपमहानगर–२१ पुरैनाकी उनको निधन भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । कडा सुरक्षा घेराबीच शुक्रबार मुस्लिम परम्पराअनुसार उनको अन्त्यष्टी गरिएको थियो ।
अस्पतालमा उपचार गर्न आउँदा बालिका बेहोस अवस्थामा रहेको नेपालगन्ज मेडिकल कलेजका डा.सकिल अहमदले बताए । बालिकाको मृत्युपछि उनकी आमाले जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी छन् । जाहेरीमा कातिक ३, ४ र ५ गते बालिकामाथि बाबुले यौन दुर्व्यवहार गरेको उल्लेख छ । जाहेरीमा ‘तेल लगाउने बहानामा स्तन समाउने, योनिमा औंला पसाएर यौन दुर्व्यवहार गरेको’ उल्लेख छ । पोलियो रोगले अपांगता भएकी बालिकालाई तेल लगाउने गरिएको थियो ।
तेल लगाउने बहानामा यौन अंग चलाउने गरेको किटानीसहित जाहेरी परेकाले अनुसन्धान भइरहेको बाँके प्रहरी प्रमुख एसपी अरुण पौडेलले जानकारी दिए । जाहेरीमा बाल यौन दुराचार तथा हाडनाता करणी उल्लेख छ । अनुसन्धानकै क्रममा बालिकाको मृत्यु भएपछि घटनाले नयाँ मोड लिएको छ । ‘पोस्टमार्टम रिपोर्ट कस्तो आउँछ, त्यहीअनुसार मुद्दा प्रक्रिया अगाडि बढ्छ’, एसपी पौडेलले भने ।
आरोपी बाबुलार्ई जाहेरी परेकै दिन प्रहरीले नियन्त्रणमा लिएको छ । उनी जिप्रकाको हिरासतमा छन् । जिल्ला अदालत बाँकेबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ । प्रहरीमा जाहेरी दिएपछि बाबु पक्षकाले मृतककी आमालाई दुर्व्यवहार गर्न थालेपछि सुरक्षा दिन साथी संस्थाको सेल्टरमा राखिएकी छन् ।

 

 

#अन्नपूर्ण पोष्ट

प्रकाशित मिति : १८ कार्तिक २०७५, आइतवार १५:३६