सूचनाको शक्ति - The Power Of Information

        

राप्तीपारि अत्याधुनिक कृषि उपज संकलन केन्द्र स्थापना हुन्छ: प्रदेश सांसद नमुना

बाँके । प्रदेश नम्बर ५ की सांसद कृष्णा केसी (नमुना)ले राप्तीसोनारी गाउँपालिकाको फत्तेपुरमा र नरैनापुरमा अत्याधुनिक कृषि उपज संकलन केन्द्र निर्माण हुने बताएकी छन् । बिहीबार राप्तीसोनारीको विनौनामा भएको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन् ।
बिनौनामा साकार कृषि सहकारी संस्थाको सातौं बार्षिक साधारणसभाको उद्घाटन गर्दै प्रदेश सांसद नमुनाले राप्तीपारिलाई कृषिजन्य बस्तु उत्पादनको हब बनाइने प्रतिबद्वता जनाइन् । बिशेषगरी यस क्षेत्रका किसानलाई नै लक्षित गरेर प्रदेश सरकारले विभिन्न कार्यक्रम ल्याएको जानकारी दिदै उनले त्यसको सदुपयोग यहाँका कृषकहरुले गर्नुपर्ने दाबी गरे ।
कृषकहरुलाई नै लक्षित गरेर अत्याधुनिक कृषि उपज संकलन केन्द्र निर्माणको प्रक्रिया अगाडि बढिसकेको प्रदेश सांसद नमुनाले जानकारी समेत दिइन् । केही बर्षभित्र कृषि उपज संकलन केन्द्र स्थापना भएसक्ने बताउदै उनले त्यसपछि किसानहरुले उत्पादन गरेका कृषिजन्य साम्रगीले स्थानीय ठाउँमा नै राम्रो बजार पाउने आशा गरे ।
राप्तीसोनारी गाउँपालिका वडा नं. ७ को कमैया डाँडा र नरैनापुरमा कृषि उपज संकलन केन्द्र निर्माणको लागि प्रदेश सरकारले बजेट छुट्याइसकेको बताउदै उनले छिट्टै नै प्रक्रिया पु¥याएर निर्माण कार्य थालिने बताइन् ।
आफुले निकै पहल गरेर अत्याधुनिक कृषि उपज संकलन केन्द्रको लागि प्रदेशबाट यसै आर्थिक बर्षमा बजेट पार्न सफल भएको भन्दै प्रदेश सांसद नमुनाले निर्माण कार्यमा सहयोग गर्न सबैलाई आग्रह गरिन् ।
‘अहिले यस क्षेत्रका कृषकहरुले उत्पादन गरेका साम्रगीलाई बजारसम्म पु¥याउन गाह्रो छ,’ उनले भने, ‘संकलन केन्द्र स्थापना भएपछि कृषिजन्य बस्तुहरुले बजार पाउनुका साथै आयआर्जनमा समेत सघाउ पुग्नेछ ।’
संकलन केन्द्र नहुँदा जिल्लाको विकट क्षेत्र मानिएको राप्तीपारी क्षेत्रका किसानहरुले उत्पादन गरेका कृषिजन्य बस्तुले राम्रो बजार पाउने गरेका छैनन् । फत्तेपुरको कमैयाडाँडा र नरैनापुरमा अत्याधुनिक संकलन केन्द्र स्थापना भएपछि कृषिजन्य बस्तुले बजार पाउने आशा कृषकहरुले गरेका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७५, बिहीबार १३:५०