सूचनाको शक्ति - The Power Of Information

        

खर्च भएन विकास बजेट, कर्णाली–रारा पर्यटन वर्ष उद्घाटनमै ७८ लाख स्वाहा !

सुर्खेत । कर्णाली प्रदेश सरकारले वैशाख १ गते उद्घाटन गरेको कर्णाली पर्यटन वर्षको उद्घाटनमा ७८ लाख रुपैयाँ खर्चिएको छ । केन्द्र सरकारले अनुदान दिएको बजेट प्रदेश सरकारले खर्चिएको हो ।
मुगुको रारा ताल परिषरमा पर्यटन वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । कर्णालीमा पाँच लाख पर्यटक भित्र्याउन लक्ष्य लिएको सरकारले विषयगत मन्त्रालयमार्फत उक्त बजेट खर्चिएको विवरण लेखा समितिमा बुझाएको छ ।
समितिमा उद्योग, पर्यटन, वन तथा वातारण मन्त्री नन्दसिंह बुढाले पेश गरेको खर्च विवरण अनुसार पर्यटन वर्ष उद्घाटनमा ७८ लाख १६ हजार रुपैयाँ खर्च भएको छ । कार्यक्रमको आवश्यक व्यवस्थापनका लागि विषयगत मन्त्रालयलाई जिम्मेवारी दिइएको थियो ।
कार्यक्रम उद्घाटनस्थलसम्म अतिथिहरु पुर्याउनका लागि भौतिकमन्त्रीको अध्यक्षतामा समिति बनेको थियो । उक्त समितिले १० लाख रुपैयाँ खर्च गरेको छ। हवाई यातायातमा नौ लाख र गाडी बुकिङमा एक लाख रुपैयाँ खर्च भएको छ ।
यस्तै, सामाजिक विकास मन्त्रालयले १० लाख ११ हजार रुपैयाँ खर्च गरेको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले २८ लाख ८५ हजार रुपैयाँ खर्चिएको छ । मन्त्री बिमला केसीको संयोजकत्वमा गठित समितिले अतिथिहरुका लागि आवास र खाना खर्च व्यवस्थापनमा उक्त बजेट खर्चिएको हो ।
कार्यक्रमको उद्घाटनमा मुगु जिल्ला समन्वय समितिलाई ७ लाख रुपैयाँ खर्च गरेको छ । कानून मन्त्रालयले ४ लाख ६२ हजार र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले १६ लाख ५८ हजार रुपैयाँ खर्चिएको विवरण मन्त्री बुढाले लेखा समितिमा विवरण पेश गरेका छन् ।
विषयगत समितिबाट आएको खर्च विवरण र वीलका आधारमा मन्त्रालयको खातामा पैसा निकासा भइसकेको उनले बताए । यसअघि प्रदेश सरकारले संसदमा पर्यटन वर्ष उद्घाटनको खर्च विवरण ६६ लाख रुपैयाँ पेश गरेको थियो । तर, सरकारले सदनमा गलत विवरण पेश गरेको प्रमाणित भएको छ ।
सरकारको तर्फबाट मन्त्री बुढाले समितिमा पर्यटन वर्षको उद्घाटनमा यथार्थ खर्च विवरण बुधबार पेश गरेका छन् । उनले गत आर्थिक वर्षमा पनि विकास बजेट खर्चिन नसकेको बताए । चालू आर्थिक वर्षमा मन्त्रालयले एक करोड एक लाख ७२ हजार बराबरको विकास योजना निर्माण गरेको बताए ।
तर कार्यान्वयनमा निकै चुनौती देखिएको जानकारी दिए । उनले मन्त्रालयबाट तत्कालै सार्वजनिक खरीद ऐन निर्माण गरी बजेट कार्यान्वयनको प्रक्रियामा जाने बताए । प्रदेश सरकारको बजेट दुरुपयोग रोक्न र विकास निर्माणमा सदुपयोग गर्न समितिले खबरदारी गर्ने अध्यक्ष दिनबन्धु श्रेष्ठले बताए ।

प्रकाशित मिति : १५ कार्तिक २०७५, बिहीबार ०२:४४