सूचनाको शक्ति - The Power Of Information

        

हेलिकोप्टर बिग्रिँदा ओलीमा देखिएको त्यो आत्मबल

दीपक खरेल । काठमाडौं । केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री निर्वा्चित भएका थिए । २५ असोज २०७२ मा सपथ लिएर कार्यभार सम्हालेका उनको पहिलो निर्णय देशलाई तुइन मुक्त बनाउने थियो । प्रधानमन्त्रीका हैसियतमा उनले गरेको यो पहिलो निर्णय थियो । त्यही बेला ललितपुर र मकवानपुरका दुई गाबिस गिम्दी र मन्थली जोड्ने बागमती नदीमाथिको सोभाने बेसीमा झोलुंगे पुलको निर्माण सकियो ।
प्रधानमन्त्री बनेको करिब दुई महिनापछि पूरा भएको सो झोलुङ्गे पुल ओलीका लागि आफ्नो अभियान कार्यान्वयनको सन्देश दिने एउटा मौका थियो । तत्कालीन मुख्य सचिव सोमलाल सुवेदीले आफू स्थानीय विकास मन्त्रालयमा रहँदा सोभानेबेसी झोलुंगे पुलको ‘अपडेट’ राखेका रहेछन् । उनकै सल्लाहमा मन्त्रिपरिषद्ले तुईन मुक्त नेपालको घोषणा गरेको थियो । प्रधानमन्त्री ओलीको मन्त्रिमण्डलले गरेको पहिलो निर्णयको कार्यान्वयन आभास दिन तामझामका साथ खोला किनारको खुला चौरमा कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रमका मुख्य अतिथि थिए, प्रधानमन्त्री ओली । निर्धारित समयभन्दा केही ढिलो श्रीमती राधिका शाक्यसहित उनी नेपाली सेनाको ९ एन राज कलसाइन भएको सुपरपुमा हेलिकप्टर चढेर गिम्दी आइपुगे । ललितपुरको गिम्दी र मकवानपुरको मन्थली जोड्ने सोभानेबेसी झोलुंगे पुल उद्घाटनका लागि पर्दा उघारेर ताम्रपत्र देखाउनु पर्ने थियो । त्यो पुलको मुखैमा राखिएको थियो । जुन हेलिकोप्टर अवतरण गरेको ठाउँभन्दा केही पर थियो । बाटो उकालो र ओरालो थियो ।
तर गिम्दी पुगे पनि प्रधानमन्त्री ओली प्रत्यक्ष गएर पुलमा राखिएको ताम्रपत्रको पर्दा हटाउन गएनन् । ओली तल ओर्लन सकेपनि माथि उक्लिन स्वास्थ्यले नदिने भन्दै तत्कालीन संघिय मामिला तथा स्थानिय विकास सहायक मन्त्री बिराजबहादुर बिस्टले प्रधानमन्त्री ओलीको नाम कुँदिएको ताम्रपत्रको पर्दा हटाए । प्रधानमन्त्री ओलीले करिब ४० मिनेट भाषण गरे । ललितपुर र मकवानपुरबाट गएका स्थानीय र सरकारी अधिकारीले भरिभराउ मैदानमा ओलीले भनेका थिए ‘केही बोले भोली पत्रपत्रिकाले हावादारी कुरा गर्याे भन्छन् तर भनेको कुरा पूरा हुन्छ ।’
कार्यक्रम सकियो । फर्किने तयारी सुरु भयो । ओली सबैलाई बिदाईको हात हल्लाउँदै सेनाको सुपरपुमा हेलिकोप्टरमा चढे । तर १० मिनेटसम्म प्रयास गर्दा समेत हेलिकोप्टर उड्न सकेन । प्रधानमन्त्रीको टोली हेलिकोप्टरबाट तल ओर्लियो । सेनाको टोलीले हेलिकोप्टरको खराबी जाँच्न थाले । ओलीलाई स्थानीयको आँगनमा कुर्सीमा बसाइयो । उनी त्यहीँ बसेर गफिन थाले । करिब आधा घण्टापछि सेनाको टोली आएर हेलिकोप्टर तयार भएको सूचना दियो । प्रधानमन्त्री ओली दोस्रो पटक बिदाईको हात हल्लाउँदै हेलिकोप्टर चढे । यसपटक पनि हेलिकोप्टर उडेन । सेनाले धेरै प्रयास गर्यो । सूपरपुमा उड्न सकेन ।

तनाबमा सरकारी टोली
फेरि ओर्लिए ओली । अब उपस्थित सरकारी अधिकारी, सुरक्षाकर्मी र जनप्रतिनिधि तनाबमा परे । प्रधानमन्त्रीलाई काठमाडौं फर्काउन स्थलमार्गबाट सम्भव थिएन । उनी चढेको हेलिकोप्टर उड्ने अवस्था रहेन । तत्कालै अर्को हेलिकोप्टर मगाउन पनि ठूला ठूला पहाड भएको सो क्षेत्रमा हेलिप्याड थिएन । प्रधानमन्त्री ओलीलाई फेरि स्थानीयकै आँगनमा पुर्याइयो । ललितपुरबाट प्रधानमन्त्री ओलीलाई मनवानपुर लैजाने र त्यहाँबाट अर्को हेलिकोप्टर मगाएर फर्काउने उपाय केहीले सुझाए । यो व्यवहारिक उपाय पनि थियो । तर यसका लागि करिब डेढ किलोमिटर ओरालो र थोरै उकालो हिँड्नु पर्ने हुन्थ्यो ।
बिरामी अवस्थाका प्रधानमन्त्रीलाई यो उकाली–ओरालीबारे कसरी जानकारी दिने ? उनले के भन्लान् ? अनि उनको स्वास्थ्य तलमाथि भइ पो हाल्ने हो कि ? सबैलाई फसाद पर्यो । एक जना अधिकारी नजिक गए । प्रधानमन्त्रीलाई सुनाए, ‘यहाँबाट करिब डेढ किलोमिटर उकालो–ओरालो गरेपछि हेलिकोप्टर आउने ठाउँमा पुगिन्छ ।’ सूचना दिने अधिकारी त्रसित मुद्रामा थिए । तर ओली उत्साही देखिए । ‘म त पहाडमा हिँडेको मान्छे, बरु उनलाई गाह्रो होला’, श्रीमती राधिकातर्फ संकेत गर्दै उनले भने ।
प्रधानमन्त्री ओलीलाई प्रहरीका डिएसपी सन्तोष तामाङ र सेनाको टोलीले सहारा दिएर हिँडाउन थाल्यो । राधिकालाई डिएसपी सुदिप राज पाठकले सहारा दिए । ओली बेलाबेला केही जिज्ञासा राख्थे, रोकिन्थे अनि फेरि हिँड्थे । डेढ किलोमिटरको यात्रा पार गर्न करिब एक घण्टा लाग्यो । यस क्रममा बाटोमा भेटिएका स्थानीय युवाले प्रधानमन्त्रीसँग सेल्फी खिचाए । थकित भए पनि उनी फोटो खिच्ने बेला अनुहारमा गजबको चमक ल्याउँथे ।
त्यतिबेला लाग्थ्यो मानौं उनलाई केही भएकै छैन । क्लिक पार्नुअघि उनी मुसुक्क हाँस्थे । यसो गर्दै उनको टोली मकवानपुर पुग्यो । त्यहाँ बस्ने कुनै ठाउँ थिएन । खोला किनारको चिसो ढुंगामा टुसुक्क शरीर बिसाए । उनीसँगै रहेका सहायक मन्त्री बिष्ट सहित वरिष्ठ सरकारी अधिकारी उभिए । ‘तिमीलाई भोक लाग्यो होला झोलामा बिस्कुट छ खाऊ,’ प्रधानमन्त्रीले स्नेहपूर्वक श्रीमती राधिकालाई सम्झाए । ‘म त ठिक छु बरु हजुर खानुहोस,’ राधिकाले भनिन् । ओलीले पनि खान मानेनन् । यतिबेला सेनाको टोली खोला किनारमा हेलिप्याड बनाइरहेको थियो ।

बिरामी अवस्थाका ओली चिसो ढुंगामा बसेका थिए । बेला–बेला उनको अनुहारमा शरीरको सकस देखिन्थ्यो । फेरि उनी मुस्कुराउँथे । यो बीचमा उनको गाह्रो, छटपटी प्रस्ट अनुभूत गर्न सकिन्थ्यो । तर यी सब उतार चढावबीच उनको आत्मबल सधैँ उच्च रहिरह्यो । सायद त्यो नै उनको आफ्नो स्वास्थ्यसँग लड्ने सबैभन्दा ठूलो हतियार थियो । केही छिनमै सेनाको एनए ०५७ कलसाइनको एमआई १६ हेलिकप्टर खोला किनारको हेलिप्याडमा अवतरण गर्यो । उनी मुस्काए । ‘अब भने पक्का उडिन्छ’, उनले सधैँजस्तै ठट्टा शैलीमा हात हल्लाएर विदा लिए ।
प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत छन् । उनको अति सघन उपचार कक्षमा उपचार भइरहेको छ । अस्पतालले मंगलबार बिहानको नियमति बुलेटिन सार्वजनिक गर्नुअघि नै ओलीले खाजा खाएको र आफ्नो दाह्री पनि काटेको खबर बाहिरियो । ओलीका यी बिहानी गतिविधीले उनको स्वास्थ्य सुधारउन्मुख रहेको संकेत गर्छ ।
चिकित्सक टोली उनको शरीरमा बढेको चिनीको मात्रा र नियमित फ्लुको संक्रमण पूर्ण निदान नभएसम्म उनी अस्पतालकै सघन कक्षमा बसिदिए हुन्थ्यो भन्ने चाहनामा छ । तर छटपटे र उच्च मनोबलका ओलीलाई अस्पतालको बन्द कक्षमा राखिरहन कति सहज छ ? चिकित्सकहरूसँग शुक्रबारसम्म आफुलाई ‘सिंहदरबार पठाउनु पर्छ’ भनेर उनले फेरि पनि आत्मबल कसेका छन् ।

नेपालखबर

प्रकाशित मिति : १४ कार्तिक २०७५, बुधबार १५:४६

सिफारिस