सूचनाको शक्ति - The Power Of Information

        

बुटवलमा नेकपाले सन्देश सभा गर्दै, तयारी तीव्र

रेनुका गिरी । बुटवल । नेकपाले आउँदो शनिवार बुटवलमा गर्ने सन्देश सभा तथा शुभकामना कार्यक्रमको तयारी तिब्र पारिएको छ । नेकपाले रुपन्देहीका १६ वटै स्थानीय तहमा समिति गठन गरी प्रचार प्रसार र कार्यकर्ता परिचालन गरेको छ । सबै स्थानीय तहले कम्तीमा ५ हजारदेखि २० हजारसम्म कार्यकर्ता उतार्ने तयारी गरेको छ ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल तथा महासचिव एवं रुपन्देही क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य बिष्णु पौडेलले बिजयादशमी, दीपावली, छठ तथा नेपाल सम्वतका अवसरमा आयोजना हुने सभा तथा शुभकामना कार्यक्रमलाई कार्तिक १७ गते बुटवलमण्डपमा सम्बोधन गर्नेछन् ।
सभा तथा शुभकामनाका सम्वन्धमा जानकारी दिन नेकपा रुपन्देहीले आज बिहान बुटवलमा पत्रकार सम्मेलनमा कार्यदलका सदस्य तथा बुटवल उपमहानगर पालिकाका प्रमुख शिवराज सुवेदीले रुपन्देही जिल्लाका स्थानीय तहबाट ६० हजार र आसपासका जिल्लाहरुबाट करिव ४० हजार गरी करिव १ लाखको सहभागिता रहने बताए ।
उनले कार्यक्रममा अध्यक्षद्वय र महासचिवले मुलकको समसामयिक राजनीतिक र पार्टी नेतृत्वले गरिरहेका काम र मुलुकलाई अघि बढाउने सम्वन्धमा अघि सारिएका योजनाका सम्वन्धमा जानकारी दिने बताए । नेकपाका नेता तथा प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले सभालाई ऐतिहासिक बनाउन सबैलाई सहयोगका लागि आग्रह गरे ।

प्रकाशित मिति : १४ कार्तिक २०७५, बुधबार ०८:१८