सूचनाको शक्ति - The Power Of Information

        

खाद्यान्नमा आत्मनिर्भर, ८० प्रतिशत जमिनमा खेती

टोपराज शर्मा । बुटवल । कृषिलाई प्रदेशको विकास र समृद्धिको पहिलो आधार मानेको प्रदेश ५ खाद्यान्नमा आत्मनिर्भर देखिएको छ । १९ लाख ६९ हजार ७७६ हेक्टर कूल क्षेत्रफल रहेको प्रदेश नं. ५ मा ६ लाख हेक्टर ९७ हजार ३३१ कुल खेतियोग्य जमिन छ । नेपालको कुल क्षेत्रफल मध्ये खेतियोग्य क्षेत्रफल जम्मा २१ प्रतिशत रहेको छ । कुल खेतियोग्य क्षेत्रफल मध्ये प्रदेश ५ मा ८०.१७ प्रतिशत जमिनमा खेति गरिएको छ ।
नेपालको कुल खेतियोग्य जमिन मध्य ६६.६७ प्रतिशतमा मात्र खेति गरिएको छ । नेपालको कुल खेतियोग्य जमिनमा ४५ प्रतिशत सिंचित क्षेत्र रहेकामा प्रदेश नम्बर ५ मा भने ३९.६९ प्रतिशत सिंचित रहेको छ । मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा धेरै खेतियोग्य जमिन रुपन्देही जिल्लामा रहेको छ । जुन जिल्लाको कुल क्षेत्रफलको ५८.४४ प्रतिशत हो । सबैभन्दा धेरै सिंचित क्षेत्रफल दाङ जिल्लामा रहेको छ ।
मन्त्रालयका अनुसार यो प्रदेशमा वार्षिक २२ लाख ७४ हजार ६४२ मेट्रिक टन खाद्यान्न उत्पादन हुने गरेको छ । योजनाविद् पिताम्बर शर्माका अनुसार प्रदेश ५ लाई वर्षमा ८ लाख ९३ हजार १६१ मेट्रिक टन खाद्यान्न आवश्यक पर्नेमा १३ लाख ८१ हजार ४८१ मेट्रिक टन खाद्यान्न वचत हुन आउँछ । शर्मामा अनुसार प्रदेश ५ को खाद्यान्न स्वःनिर्भरता १४४ प्रतिशत रहेको छ ।
६ पहाडी र तराईका ६ जिल्ला गरी १२ वटै जिल्लामा कृषि उत्पादन हुने यो प्रदेशमा खाद्यान्नसँगै तरकारी, सुन्तला जातका फलफूल, कफि, च्याउ र मौरीपालन प्रमुख कृषि पेशा हुन् । प्रदेश ५ मा वर्षमा एक देखि दुई खेती हुने अब्बल जमिनको क्षेत्रफल ३२ प्रतिशत रहेको छ भने मध्यम, भिरालो र गह्रा बनाउनुपर्ने खेतीयोग्य जमिन १४ प्रतिशत र घाँसपातका निम्ति उपयुक्त पाखा पखेरो जमिन २८ प्रतिशत रहेको छ ।
प्रदेशका मुख्य खाद्यान्न बाली धान, गहु, मकै, कोदो, जौ र फापर हुन् । प्रदेशको मुख्य खाद्यान्न बाली धान हो । ३ लाख ५५ हजार ९५८ हेक्टरमा खेती हुँदा १३ लाख ८३ हजार ९५१ मेट्रिक टन धान उत्पादन हुन्छ । यस्तै चैते धान ३ हजार ९६५ हेक्टरमा खेती हुँदा १४ हजार ८२२ मेट्रिक टन उत्पादन हुन्छ । वर्षे धान ३ लाख ५१ हजार ९८८ हेक्टरमा खेती हुँदा १३ लाख ९९ हजार १३४ मेट्रिक टन उत्पादन हुन्छ । घैया धान ५ हेक्टरमा खेती र १५ मेट्रिक टन उत्पादन हुने गरेको छ ।
गहुँ एकलाख ७५ हजार ७१० हेक्टरमा खेती हुन्छ । गहुंको उत्पादन ४ लाख ९० हजार ५४ मेट्रिकटन, मकै एक लाख ५५ हजार २१२ हेक्टरमा खेती भई १३ लाख २ हजार ९०७ मेट्रिकटन उत्पादन हुन्छ । हिउँदे मकै ४ हजार ६२० हेक्टरमा खेती र १६ हजार ८७९ मेट्रिक टन उत्पादन हुन्छ । बसन्ते मकै १३ हजार ५४५ हेक्टरमा खेती र ४८ हजार ४५२ मेट्रिक टन तथा वर्षे मकै एक लाख ३७ हजार ४७ हेक्टरमा खेती र ३ लाख १७ हजार ५७६ मेट्रिक टन उत्पादन हुन्छ ।
यस्तै कोदो ८ हजार ८६१ हेक्टरमा खेती र १० हजार ४६६ मेट्रिकटन, जौ ४ हजार ५१७ हेक्टरमा खेती र ५ हजार ६४१ मेट्रिकटन तथा फापर एक हजार २ सय एक हेक्टरमा खेती र एक हजार १७२ मेट्रिक टन उत्पादन हुने मन्त्रालयको तथ्यांकमा उल्लेख छ । प्रदेशमा मसुरो, चना, मास, भटमास, केराउ, रहर, केराउ, चना, राजमा, मुंग, सिल्टुंग, बोडी, सिमी जस्ता दलहन बाली एक लाख ३ हजार २५ हेक्टरमा खेती भई एक लाख ७ हजार २९३ मेट्रिक टन उत्पादन हुने गरेको छ ।
यस्तै तोरी, सरस्यु, तिल, आलस, बदाम, झुसे तिल, सुर्यमुखी जस्ता तेलहन बाली ६२ हजार ४५८ हेक्टरमा खेती भई ६२ हजार ३३६ मेट्रिक टन उत्पादन हुने गरेको छ । प्रदेश नम्बर ५ ले नेपालको कुल क्षेत्रफलको १७.९१ प्रतिशत धान उत्पादनको क्षेत्रफल ओगटेको छ । धान उत्पादनमा प्रदेश नम्बर ५ ले १८.२६ प्रतिशत उत्पादन गर्छ । यस्तै नेपालको कुल मकै उत्पादन क्षेत्रफलको १६.६१ प्रतिशत क्षेत्रफल प्रदेश नम्बर ५ मा रहेको छ । जसले नेपालको कुल उत्पादनमा १४.९६ प्रतिशत योगदान गर्दछ ।
नेपालको कुल गहुँ उत्पादन क्षेत्रफलको २३.५८ प्रदेश नम्बर ५ मा छ । यो प्रदेशले नेपालको कुल गहुँ उत्पादनको २४.८० प्रतिशत योगदान गर्दछ । प्रदेश नम्बर ५ ले नेपालको कुल कोदो उत्पादनको ४.७८ प्रतिशत क्षेत्रफल ओगटेको छ भने कुल क्षेत्रफलको ४.७ प्रतिशत उत्पादन हुने गरेको छ । कुल फापर उत्पादनको १२.३१ प्रतिशत भुभाग प्रदेश नम्बर ५ मा छ जसले नेपालको कुल फापर उत्पादनको १२.१९ प्रतिशत हिस्सा ओगटेको छ ।
जौ उत्पादनको ११.१९ प्रतिशत भूभाग प्रदेश नम्बर ५ मा रहेको छ जसले नेपालको कुल जौ उत्पादनको ११.५१ प्रतिशत योगदान गर्छ । तुलनात्मक रुपमा प्रदेश नम्बर ५ मा दलहन बालीको क्षेत्रफल र उत्पादन निकै राम्रो छ । क्षेत्रफल अनुपातका आधारमा चनाको ५५ प्रतिशत, रहरको ३८ प्रतिशत र मसुरोको ३५ प्रतिशत भुभाग प्रदेश नम्बर ५ ले ओगटेको छ । उत्पादनको आधारमा पनि चना, मसुरो र रहरको उत्पादन क्रमस ५३, ४४ र ३१ प्रतिशत उत्पादन प्रदेश नम्बर ५ मा हुन्छ ।
उत्पादकत्वको हिसाव गर्दा मसुरो, मास र गहतको उत्पादकत्व प्रदेश नम्बर ५ मा धेरै छ भने अन्य दलहन बालीको उत्पादकत्व भने प्रदेश ५ मा न्युन छ । क्षेत्रफल आधारमा तेलहन वालीले नेपालको २९.६४ प्रतिशत ओगटेको छ भने उत्पादनमा यस प्रदेशले ३०.८४ प्रतिशत योग्दान गर्छ । नेपालको कुल मसलावाली उत्पादनको क्षेत्रफलमा प्रदेश नम्बर ५ मा १८.९९ प्रतिशत रहेको छ । उत्पादनमा १५.१२ प्रतिशत योगदन गर्छ ।
प्रदेश ५का खेतीयोग्य जमिनमा बाणगंगा, तिनाउ, कालीगण्डी, राप्ती, बबई, कर्णाली र बडीघाट नदीबाट सिंचाई हुने गरेको छ । यसवाहेक भूमिगत जल सिंचाई प्रविधि पनि प्रयोगमा छ । प्रदेश सरकारले कृषि उत्पादन अझ बढाई निर्यात गर्ने लक्ष्यसहित प्रदेशका सबै ५२ प्रदेश सभा निर्वाचन क्षेत्रमा ५२ वटा स्मार्ट कृषि गाउँ तथा भूमिहीनलाई जग्गा र भाडा दिएर करार खेती जस्ता नौला कार्यक्रम अघि सारेको छ ।

 

 

 

#अनलाइनखबर

प्रकाशित मिति : १४ कार्तिक २०७५, बुधबार ०२:२०