सूचनाको शक्ति - The Power Of Information

        

नियन्त्रणमा प्रहरी उदासिन, युवा सक्रिय

बाँके । नेपालगन्जबाट लमही पुग्न करिब आधा दर्जन सुरक्षा चेकपोष्ट पार गर्नुपर्छ । हरेक सवारी साधनलाई राजमार्गमा रहेका चेकपोष्टका सुरक्षाकर्मीले उत्तिकै निगरानी गरिरहेका हुन्छन् । तर, गत आइतबार राती नेपालगन्जबाट दाङको लमहीमा विभिन्न स्थानबाट नौ ट्रक अवैध गोरू पुर्याइएको छ । तस्करले प्रहरीसँगको मिलेमतोमा ती गोरू सहजै लमही पुर्याएका हुन् ।
बाँके जिल्लामा प्रहरीसँग मिलेमतो बढाएका तस्करले सहजै गोरू निर्यात गरे पनि ती गोरूलाई लमही क्षेत्रका केही युवाहरूले नियन्त्रणमा लिएका हुन् । नेपालगन्जबाट दाङको गढवा हुँदै भराततर्फ लैजाने क्रममा दाङको देउखुरीबाट गोरु ओसारपसार गरिरहेका नौ ट्रक आइतबार मध्यराती लमही क्षेत्रबाट नियन्त्रणमा लिइएको स्थानीय सुरज परियारले जानकारी दिए । उनका अनुसार २६ गोरुसहित ती ट्रकलाई नियन्त्रणमा लिएको हो ।
अवैधरुपमा गोरु ओसारपसार गरेको भन्दै गढवा गाउँपालिका–९ अमिलियाबाट ट्रकलाई नियन्त्रणमा लिइएको परियारले बताए । तस्करीका गोरू ओसारपोसारमा संलग्न ट्रकका लाइसेन्स, ब्लू बुक र साँचो नियन्त्रणमा लिइएको छ । सो सडकखण्ड भएर नियमित रुपमा गोरु ओसारपसार हुँदा पनि प्रहरी प्रशासन मूकदर्शक बनेको परियारको आरोप छ । लामो समयदेखि गोरूको तस्करी भइरहँदासमेत प्रहरी प्रशासनले चासो देखाएको छैन ।

यसअघि पनि ढकेरी क्षेत्रमा युवा संघका कार्यकर्ताले तस्करीका गोरूसहितका ट्रक नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए । तर, उक्त तस्करीमा संलग्नमाथी कानूनी कारबाही र अनुसन्धानका बारे अहिले पनि बाँके प्रहरी मौन रहेको छ ।

नेपालगन्ज रम्भापुरको पशुबजारबाट सस्तो दरमा खरीद गरेर रातारात दोश्रो मात्रै हैन तेश्रो मुलुकमा समेत गोरू पुग्ने गरेको तथ्य खुलासा भएको छ । प्रत्येक शनिबार लाग्ने पशुहाट बजारबाट खरीद गरिएका गोरूहरू पशु क्वारेन्टाइन लगायत कुनै पनि कानुनी प्रक्रिया नगरी एकाएक ट्रकमा लोड गरेर रातारात नाका क्रस गर्ने गरिएको छ । यहाँवाट चोरीनिकासी हुने गोरू नेपालकै पुर्वी क्षेत्र भारत हुँदै बंगालादेश पाकिस्तान लगायतका देशहरूमा पुग्ने गरेको ओसारपोसरामा संलग्नहरू नै बताउँछन् ।
तर, ठाउँठाउँमा रहेका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका चेक पोष्टमा गोरु तस्करी बारे कुनै सोधपुछ हुँदैन । केहीसमय पहिले गोरुको तस्करी राजमार्गबाट रातीको समयमा हुने गरेको थियो । तर, अहिले भने किसानको नाममा दिन दहाडै गोरुको तस्करी भइरहँदा नियमन गर्ने निकायलाई पत्तो छैन । भारतबाट गोरु ल्याउन स्थानीय प्रशासनले रोक लगाए पनि खेती किसानीका लागि एक हल गोरु ल्याउन छुट दिएको छ । त्यही मौका छोपेर किसानका नाममा ल्याइएका भारतीय गोरु तस्करी गरी राजमार्ग हुँदै पूर्वी नेपालसम्म लैजाने गरिएको भेटिएको हो ।
यसअघि पनि ढकेरी क्षेत्रमा युवा संघका कार्यकर्ताले तस्करीका गोरूसहितका ट्रक नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए । तर, उक्त तस्करीमा संलग्नमाथी कानूनी कारबाही र अनुसन्धानका बारे अहिले पनि बाँके प्रहरी मौन रहेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक रणबहादुर विष्टले विगतमा अवैध गोरू तस्करी बढेको देखिए पनि अहिले यस बिषयमा आफूलाई केही थाहा नभएको बताए । दाङको लमही प्रहरीका अनुसार बिल भरपाइका साथ आएका गोरुलाई छाड्ने गरिएको छ ।
कागज हेर्दा शंका लागेमा नियन्त्रणमा लिने गरिएको छ । तर, अहिलेसम्म कुनै पनि गोरु तस्करलाई प्रहरीले पक्राउ गरेको भने छैन । यता इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रमेशबहादुर सिंहले नेपालगन्जबाट बिल भरपाई मिलाएर अबैद्य गोरू तस्करी भएको बारे आफू अनबिज्ञ रहेको बताएका छन् । यसअघि पनि बाँकेका केही युवाले अबैध गोरू समाउँदा पनि कोहलपुर प्रहरीले यस्तै रेडिमेट जवाफ दिएको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०७५, मंगलवार १४:२३