सूचनाको शक्ति - The Power Of Information

        

बाँकेबाट नौ हजार सिलिण्डर अक्सिजन खपत

बाँके । नेपालगन्ज उपमहानगरपालिका–११ परसपुरमा सञ्चालित अत्याधुनिक प्रविधियुक्त अक्सिजन ग्याँस प्लान्टले अक्सिजन उत्पादन थालेसँगै मासिक नौ हजारबढी अक्सिजन सिलिण्डर खपत गर्दै आएको छ । नेपालकै सबैभन्दा ठूलो भनिएको यो प्लान्टबाट लिक्विड नाइट्रोजन र जिरो एयर ग्याँस उत्पादन हुँदै आएको छ ।
एच.ओ.अक्सिजन ईन्डस्ट्रिज प्रालिले अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएसँगै पश्चिम नेपालमा माग बढ्दै गइरहेको छ । यो प्लान्ट सञ्चालनमा आएसँगै नारायणघाटदेखि पश्चिमी क्षेत्रमा सहज र सुलभ ढंगले अक्सिजन तथा नाइट्रोजन ग्याँस तथा लिक्वीड उपलब्ध गराइरहेको कम्पनीले जनाएको छ । प्लान्टबाट दैनिक ४७ लिटर क्षमताको एक हजार सिलिण्डर अक्सिजन ग्यास उत्पादन हुने गरेको कम्पनीले जनाएको छ ।
दैनिक १२ सय लिटर लिक्विड नाइट्रोजन र अक्सिजन उत्पादन क्षमता रहेको यस प्लान्टबाट जिरो एयर ग्यास पनि उत्पादन भइरहेको छ । करिब १५ करोड रुपैयाँ लगानी भइसकेको उक्त प्लान्टमा यस क्षेत्रका अस्पतालबाट मात्रै प्रतिअस्पताल मासिक चार हजारका दरले सिलिण्डर माग हुने गरेको कम्पनीका म्यानेजर दीपक केसीले जानकारी दिए । उनका अनुसार पश्चिम नेपालका अस्पतालका साथै सगरमाथा, सोना, नेपालगन्जको अम्बेस्टील, बुटवलको अम्बेस्टील, धनगढीको चिनी उद्योग लगायतका कम्पनीहरू नियमित उपभोक्ता रहेका छन् ।
सुरूमा सिलिण्डर खरिदका लागि प्रतिवटा सिलिण्डर रु.१३ हजारसम्म धरौटी लाग्ने गरेको छ । सिलिण्डरबिना अक्सिजन खरिदका लागि मात्रै रु.९ सय लाग्ने गरेको छ । अहिले उक्त कम्पनीमा १८ जनाले रोजगार पाइरहेका छन् । नेपालमा अहिले सञ्चालनमा रहेका करिब २६ उद्योगमध्ये ललितपुरको लुभुस्थित अक्सिजन ग्यास प्लान्टपछि अत्याधुनिक प्रविधिबाट अक्सिजन र नाइट्रोजन उत्पादन गर्ने उद्योगको रुपमा एचओ अक्सिजन ईन्डस्ट्रिज रहेको छ ।
बाँकेका युवा व्यवसायीहरु सम्मिलित कम्पनीले नेपालमै सबैभन्दा धेरै उत्पादन क्षमता भएको प्लान्ट दावी गरेको छ । बढ्दो जनसंख्या, विरामी, उद्योग कलकारखानाको विस्तार, अस्पतालहरु र बजार आवश्यकताको अध्ययन गरेर काठमाडौं बाहिर सर्वसुलभ तरिकाले अक्सिजन र नाइट्रोजन उपलब्ध गराउन सफल भएको कम्पनी म्यानेजर दीपक केसीले दावी गरे । ‘पश्चिम नेपालमा अक्सिजन र नाइट्रोजन ग्यास सिलिन्डरको बजारलाई पूर्णतया आत्मनिर्भर बनाउने हाम्रो सोंच हो । हामी यही लक्ष्यका साथ अघि बढिरहेका छौं,’ उनले भने ।
यो प्लान्टबाट भएको उत्पादनको परीक्षणमा ९९ दशमलब ७ प्रतिशत शुद्धता प्रमाणित भएको कम्पनीले जनाएको छ । ‘आम नागरिकको स्वास्थ्यलाई ख्याल गर्दै मध्य तथा सूदूरपश्चिमको स्वास्थ्य सेवालाई थप टेवा पु¥याउन उच्च गुणस्तर र परिणाममुखी अक्सिजन उत्पादन गरिरहेका छौं,’ उनले भने । अक्सिजन, नाइट्रोजन ग्याँस र नाइट्रोजन लिक्विडजस्ता पदार्थहरु खासगरी औद्योगिक तथा स्वास्थ्य सेवा क्षेत्रमा प्रयोजन गरिन्छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७५, मंगलवार ०९:५८