सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा १०१२ जना एचआईभी संक्रमित

बाँके । बाँकेमा एचआईभी एड्सका बिरामी बर्सेनी बढ्दै गएका छन् । अहिलेको नयाँ तथ्यांक अनुसार जिल्लामा एक हजार १२ जना व्यक्ति एचआईभी एड्सबाट संक्रमित छन् । आर्थिक वर्ष २०७३/०७४ को असार मसान्तसम्म बाँकेमा ९६२ जना एचआईभी संक्रमित रहेका थिए ।
एचआईभी एड्सकै कारण अहिलेसम्म बाँकेमा १२८ जनाको मृत्यु भएको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका हरी तिवारीले जानकारी दिए । कार्यालयका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा ५६५ पुरुष, ४३४ महिला र १३ जना तेस्रो लिङ्गी गरि जम्मा एक हजार १२ जना एचआईभी संक्रमित रहेका छन् ।
एआरटी खानेको संख्या ४६० जना रहेको उनले बताए । गतबर्ष जिल्लामा १३ जना तेस्रो लिंगी, ५३५ पुरुष र ४१४ जना महिलालाई एचआईभी संक्रमण भएको थियो । बाँकेमा २६ जना बालबालिकामा समेत एचआईभी संक्रमण भएको तथ्यांकले देखाएको छ । असुरक्षित यौनसम्पर्क र सुई, सिरिन्जबाट लागूऔषध प्रयोगकर्ता एचआईभीको उच्च जोखिममा रहेका छन् ।
कामका लागि विदेश गएकाबाट पनि एचआईभी सरेको भेटिएको छ । समाजबाट अपहेलित हुने डरका कारण खुल्न नसकेका कितपय संक्रमितहरू एआरटी सेवाबाट बञ्चित भइरहेका छन् । एक पटक एआरटी सेवा लिएपछि जीवनभर लिइरहनुपर्ने भएकाले केही संक्रमितले सेवा लिन नमानेको तिवारीको भनाइ छ ।
एआरटी र पीएमटीसीटी सेवा लिन छुटेका एचआईभी संक्रमितलाई समेट्न सरकारले विशेष नीति अवलम्बन गरेको बताउँदै सरकारले ९०–९०–९० नीतिलाई अगाडि बढाएको छ । सन् २०२० सम्म उपचारबाट वञ्चित ९० प्रतिशतलाई सेवा प्रदान गर्ने, ९० प्रतिशत सर्वसाधारणको एचआईभी जाँच गर्ने र ९० प्रतिशतलाई संक्रमणको बारेमा जानकारी दिने नीति सरकारले अघि सारेको छ ।
भेरी अञ्चल अस्पतालले एचआईभी संक्रमितलाई निःशुल्क उपचार सेवा दिएको छ । विशेषगरी भारतबाट काम गरेर फर्किने नेपालीहरूमा धेरै एचआईभी एड्सको संक्रमण देखिएकोले सीमानामा सचेतना फैलाउने अभियान सञ्चालन गरिएको र विभिन्न गैरसरकारी संस्थामार्फत लागुऔषध प्रयोगकर्तालाई पनि सचेत पार्ने र औषधी नियमित सेवन गराउने अभियान चलाइएको साबिकको जनस्वास्थ्य कार्यालय बाँकेले बताएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७५, मंगलवार ०८:५६