सूचनाको शक्ति - The Power Of Information

        

चिनीको मात्रा बढ्यो, मृगौलामा पनि समस्या

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा चिनीको मात्रा अर्थात सुगर लेवल बढी देखिएको उपचारमा संलग्न डाक्टरले बताएका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा उपचारमा संलग्न डाक्टरले सुगर लेवल अर्थात मधुमेहको स्तर बढी देखिएको बताएका हुन् ।
उनलाई सिसियूमा राखेर उपचार गरिएको छ । केही दिनदेखि अस्वस्थ रहेका ओलीलाई सोमबार बिहान साढे ४ बजे अस्पताल भर्ना गरिएको प्राध्यापक डा.उत्तम कृष्ण श्रेष्ठले जानकारी दिए । ओलीलाई लोयर रेस्पेक्ट्री ट्रयाप इन्फेक्सन अर्थात छातीको संक्रमण भएको डाक्टरको भनाई छ ।
सार्वजनिक रुपमा डाक्टरले ओलीको मृगौलामा केही समस्या नरहेको बताए पनि उपचारमा संलग्न एक डाक्टरले क्रेटिनिन लेवल उच्च भएको बताएका छन् । यसको अर्थ ओलीको प्रत्यारोपण गरिएको मृगौलामा समस्या देखिएको हो ।
दसैँको बेलादेखि नै मौसमी फ्लूको संक्रमण देखिएकोमा त्यसलाई नै नियन्त्रण गर्न नसक्दा त्यसले छातीको संक्रमणको रुप लिएको बताइएको छ । ओलीलाई स्वास फेर्न गाह्रो हुने र छाती घ्यारघ्यार हुने समस्या पनि देखिएको छ । यस्तो अवस्थामा सामान्यतया बिरामीलाई तीनदिनसम्म अस्पताल राख्नुपर्छ ।
तर ओलीको अवस्थाबारे अवलोकन भइरहेको र विदेश लैजाने बारे अहिले नै निर्णय नभएको डा. श्रेष्ठले जानकारी दिए । अहिले ओलीलाई डा. दिव्या सिंह शाह, डा. अरुण सायमी र डा. सन्तकुमार दाससहितको टोलीले उपचार गरिरहेका छन् ।

कसरी भयो यस्तो ?
प्रधानमन्त्री ओलीलाई दसैँको टीका सर्वसाधारणलाई लगाउँदा नै मौसमी फ्लूको संक्रमण भएको थियो । उनका निजी चिकित्सकहरु डा. दिव्या सिंह शाह र डा. सन्तकुमार दासले उपचार गरिहेका थिए । आराम गर्नुपर्नेमा त्यस्तो नभएपछि ओलीको छातीमा समस्या देखिएको थियो ।
शुक्रबार नै त्रिवि अस्पतालमा गएर उनको छातीको एक्स रे पनि भएको थियो । त्यसमा ठीकै देखिएपछि अस्पताल भर्ना नगरिएकोमा लगातारको खोकी नरोकिएपछि सोमबार बिहानै अस्पताल लगिएको हो । ओलीलाई ज्वरो पनि आएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७५, सोमबार ०६:०९