सूचनाको शक्ति - The Power Of Information

        

बाली अनुसन्धान गर्न नार्कमा ‘नयाँ प्रविधि’

बाँके । नेपालमा अहिलेसम्म विभिन्न बालीहरुको अनुसन्धान सतप्रतिशत सफल भएन । बालीहरुको अनुसन्धानलाई आकाशे पानीले प्रभावित गरिरह्यो । जुन दिन अनुसन्धान सुरु गर्यो त्यहिदिन आकाशबाट पानी बर्सियो । पानीले अनुसन्धान प्रभावित बनायो । सतप्रतिशत नतिजा आउन सकेन । बर्षालाई रोक्न सक्ने प्रविधि नेपालमा थिएन । प्रविधि नभएकै कारण अनुसन्धानले दिने नतिजा पनि सोचेझैं आएन ।
नार्कमा अब भने यो समस्या समाधान हुने भएको छ । नेपाल कृषि अनुसन्धान परिषद (नार्क)ले बाँके, धनुषा र चितवन गरी तीन जिल्लामा बर्षा रोक्न सक्ने प्रविधिको जडान गरी काम सुरु गरिसकेको छ । नार्कले उक्त प्रविधिलाई ‘रेन आउट सेल्टर’ नाम दिएको छ । ‘रेन आउट सेल्टर’ जडान गरेसँगै कृषि विज्ञहरुले पहिलेजस्तो समस्या ब्यहोर्नु नपर्ने जनाएका छन् ।
नेपाल कृषि अनुसन्धान परिषद (नार्क) क्षेत्रीय कार्यालय खजुराका क्षेत्रीय निर्देशक एवं बरिष्ठ बैज्ञानिक गोविन्द केसीले ‘रेन आउट सेल्टर’ जडान गरी काम सुरु गरेको जानकारी दिए । उनले भने, ‘यसले सुुक्खा समयमा गरिने बाली अनुसन्धानमा महत्वपूर्ण भूमिका खेल्ने छ । सुक्खा बालीको अनुसन्धान गर्ने स्थानमा यो प्रविधि जडान गरी काम सुरु गरेका छौं । अब बाली अनुसन्धानका क्रममा बर्षात् भए पनि समस्या पर्दैन ।’
प्लास्टिक टनेलजस्तै अकारमा जडान गरिएको ‘रेन आउट सेल्टर’ले पानी पर्नसाथ अनुसन्धानका लागि तयार गरिएको स्थानलाई स्वचालितरुपमा ढाक्नेछ । बरिष्ठ बैज्ञानिक गोविन्द केसीले भने, ‘प्रभावित क्षेत्र ढाक्न यसलाई एकदेखि डेढ मिनेटको समय लाग्छ । यो पानी पर्नासाथ आफै चल्ने स्वचालित प्रविधि हो ।’ यसले सुक्खा वा कम पानीमा उत्पादन हुने बालीको अनुसन्धानमा सहयोग पुर्याउने उनले बताए ।
पानीका कारण सुक्खा जमिनमा गर्नुपर्ने अधिकांश अनुसन्धानहरू प्रभावित हुँदै गएपछि नार्कले यो समस्या समाधानका लागि उच्च प्रविधिबाट अनुसन्धान गर्ने योजना अनुसार यो प्रविधि भित्र्याएको हो । ‘अनुसन्धानका क्रममा एक्कासी हुने बर्षाले वीउवीजन नष्ट गरिदिने भएकाले खुला आकाशमूनिको जमिनमा अनुसन्धान गर्दा सोचेजस्तो नतिजा पाउन नसकेपछि नार्कले त्यसको विकल्प खोजिरहेको थियो, सोही अनुसार यो प्रविधि भित्र्याएका हौं,’ केसीले भने ।
अबदेखि सही र तथ्यपूर्ण नतिजा निकाल्ने गरी उच्च प्रविधिको प्रयोग गर्न लागेको नार्कको दावी गर्दै यो प्रविधिको प्रयोगसँगै अनुसन्धानमा सहजता आउने जनाएको छ । ‘यसअघि सुक्खा क्षेत्रमा उत्पादन गर्न सकिने बालीको अनुसन्धान गर्नका लागि जहाँ कम पानी पर्छ, त्यहाँ अनुसन्धान गथ्र्यौं,’ उनले भने, ‘तर प्रकृति हो । पानी नचाहिएको समयमा पनि परिदिँदा हामीले सोचेजस्तो नतिजा पाउन सकेका थिएनौं ।’
परिक्षण गरिरहेको वीउवीजनमा कति समयमा पानी हाल्नुपर्ने, कुन समयमा गोडमेल गर्ने भन्ने मापदण्ड रहे पनि खुला जमिनमा मापदण्ड अनुसार काम गर्न समस्या भएपछि ‘रेन आउट सेल्टर’ जडान गरेको नार्कले प्रविधि अभावमा यसअघि अनुसन्धान नै प्रभावित हुने र सतप्रतिशत नतिजा आउन नसकेको जनाएको छ । ‘उन्नत वीउवीजनको अनुसन्धानमा बर्षा नै अनुसन्धानको बाधक थियो, अब त्यो समस्या रहेन,’ क्षेत्रीय निर्देशक केसीले भने ।
प्रविधि जडानले अब अनुसन्धान प्रभावकारी हुने नार्कको दाबी छ । ‘बालीले फल दिने समयमा सुख्खा भए के हुन्छ भनेर अनुसन्धान गथ्र्यौ,’ उनले भने, ‘जब अनुसन्धान सुरु हुन्थ्यो, त्यही समयमा बर्षा भएर प्रभावित हुने समस्या थियो । अब भने त्यो समस्या हटेको छ । नार्कले रु.६६ लाखको लागतमा एउटा सेल्टर जडान गरेको छ । प्रविधि जडानसँगै नार्कलाई कार्यतालिका अनुसार अनुसन्धान गर्न सहज हुने विश्वास गरिएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७५, सोमबार ०१:५९