बाँके । एउटै पूर्वाधार र उस्तै जनशक्ति भए पनि प्रमुखको जथाभावी हेरफेरले सरकारी अस्पतालको व्यवस्थापनमा कस्तो प्रभाव पर्छ भन्ने उदाहरण नेपालगन्जस्थित भेरी अञ्चल अस्पताललाई हेर्न सकिन्छ । स्थापनाकालदेखि हालसम्म उक्त अस्पताल लगभग निमित्त मेडिकल सुपरिटेन्डेण्टका भरमा चलिरहेको छ ।
राजनीतिक हस्तक्षेपले सरकार परिवर्तनसँगै सरकारी अस्पतालमा प्रमुख फेरिने गरेका छन् । बितेको १० वर्षमा भेरी अञ्चल अस्पतालमा एघार पटक प्रमुख फेरिएका छन् । तीमध्ये आठ जना त निमित्त भएका छन् । स्थापनाकालदेखि अहिलेसम्म भएकामध्ये केही निमित्त मेसु स्वास्थ्य नियमावली विपरित पनि नियुक्त भएको खुलेको छ ।
स्वास्थ्य नियमावली अनुसार जनरल हेल्थ समूहबाट मात्र प्रमुख मेडिकल सुपरिटेन्ड नियुक्ति गर्न पाउने व्यवस्था छ । तर, निमित्तका रूपमा रेडियोलोजिस्ट पनि यस अस्पतालका प्रमुख भएका छन् । विगतमा सरकारले विनोद ढकाललाई प्रमुख मेडिकल सुपेरिटेण्डनमा नियुक्त गरेको थियो । अस्पतालले दिएको तथ्यांक अनुसार अहिलेसम्म तीन जना मात्रै प्रमुखका रूपमा नियुक्त भएका छन् भने अन्य सबै निमित्त नियुक्त भएका हुन् ।
यसअघि सरकारले गतबर्ष प्रकाश थापालाई निमित्त मेसुमा नियुक्त गरेको थियो । तर, राजनीतिक हस्तक्षेपका कारण उनी छोटो समयमै उक्त पदबाट निकालिएका छन् । अहिले उक्त स्थानमा डाक्टर रूपानन्द अधिकारीलाई निमित्त मेसु तोकिएको छ । अहिले पनि एक वर्षदेखि भेरी अञ्चल अस्पताल निमित्त प्रमुखकै भरमा चलिरहेको छ । तीनतीन महिनामा निमित्त प्रमुख फेरिने गरेकाले विकासे काम मात्र होइन उपचारका लागि आउने बिरामीसमेत समस्यामा पर्न थालेका छन् ।
तत्कालिन मेडिकल सुपरिन्टेन्डेन्ट डा. विमल ढकालको काठमाडौं सरुवा भएदेखि अञ्चल अस्पताल निमित्तको भरमा चल्दै आएको हो । उनीपछि निमित्त प्रमुखको जिम्मेवारी डा.नरेन्द्रकुमार रायलाई दिइएको थियो तर, कर्मचारीहरू आन्दोलनमा उत्रिएपछि डा.रायको कार्यावधिसम्म अस्पताल प्रशासनको कोठामा तालाबन्दी भएको थियो । समस्या समाधान गर्न डा. विनोदकुमार खेतानलाई निमित्तको जिम्मेवारी दिइएको थियो ।
तर, उनको सरुवा सुर्खेत भएपछि गत फागुनदेखि निमित्तको जिम्मेवारी बालरोग विशेषज्ञ डा. पिताम्बर सुवेदीले पाएका थिए । अस्पतालको कामकारबाही र विकासका योजनाबारे जानकारी लिन नपाउँदै निमित्त प्रमुख फेरिने गरेकाले समस्या हुने गरेको चिकित्सकले बताएका छन् । यसअघि स्वास्थ्य मन्त्रालयले ०७३ कात्तिकमा प्रमुख मेडिकल सुपरिटेन्ड डाक्टर श्यामसुन्दर यादवलाई हटाएर जुनियर रेडियोलोजिस्ट वीरेन्द्रबहादुर चन्दलाई निमित्त प्रमुख बनाएको थियो ।
कात्तिक १ गते यादवलाई हटाएर नारायणी उपक्षेत्रीय अस्पतालका प्रमुख डा रामपरीक्षण यादवलाई भेरी अस्पतालमा सरुवा गरिएको थियो । विशेषज्ञ चिकित्सकको अभावमा अस्पतालमा बिरामीले सामान्य उपचार पाउने गरेका छन् । बिरामी महँगो पैसा तिरेर निजी अस्पतालमा उपचार गराउन बाध्य छन् । राजनीतिक खिचातानीका कारण छिटोछिटो प्रमुख फेरिने गरेको अस्पतालका कर्मचारीहरुले बताएका छन् ।
।