सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा मकै जोन कार्यक्रम प्रभावकारी बन्दै

बाँके । बाँकेमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै जोन कार्यक्रम प्रभावकारी बन्दै गएको छ । तीन वर्षदेखि सञ्चालन हुँदै आएको परियोजनाको शुरुआती चरणमा जिल्लाका १० समूह र सहकारीमा आबद्ध कृषकबाट ३५० हेक्टर जमीनमा मकै खेती हुँदै आएकामा अहिले ३५ कृषक समूहबाट ६२१ हेक्टर जमीनमा मकै खेती हुँदै आएको हो ।
जिल्लास्थित परियोजना प्रमुख देवेशकुमार मिश्रका अनुसार दुई वर्षको अवधिमा परियोजनाको कार्यक्रममा कृषक सहकारी, कृषक उद्यमी, जल उपभोक्ता र कृषक समूहका एक हजार ३४३ कृषक आबद्ध भइसकेका छन् । परियोजनाअन्तर्गत कृषकलाई आधुनिक उपकरणलगायत प्राविधिक सहयोग दिइँदै आएको बताइएको छ ।
‘पहिले गरिँदै आएको मकै खेती र अहिले परियोजनाले भनेजस्तो मकै खेतीमा धेरै भिन्नता छ, थोरै लगानीमा धेरै फाइदा लिन सकिएको छ,’ डुडुवा गाउँपलिकाका कृषक रामप्रसाद यादवको भनाइ छ । नेपालगन्ज उपमहानगरपालिकाको पाँच वडा तथा डुडुवा गाउँपालिकाको बेतहनी, बनकट्टी र हिरमिनिया गाउँलाई परियोजनाभित्र समेटिएको छ ।
परियोजना कार्यक्रमअन्तर्गत यस जिल्लाका कृषकले हिउँदे र बर्षे मकै खेती गर्दै आएकोमा आगामी आर्थिक वर्षदेखि बर्षे मकै खेतीका लागि ४० कृषक समूह छनोट गरिएको छ । ‘परापूर्वदेखि मकै खेती हुँदै आएको बाली, जलवायु र माटोको अनुकूलता तथा कृषकको मागका आधारमा परियोजनाले बाँके जिल्लालाई मकै जोनका रुपमा छनोट गरिएको हो,’ परियोजना प्रमुख मिश्रको भनाइ छ ।
उक्त कार्यक्रमअन्तर्गत कृषकलाई कीटनाशक औषधि, बीउबिजन र विभिन्न कृषि उपकरण ५० देखि ८५ प्रतिशतसम्म अनुदान सहयोगमा उपलब्ध गराइएको छ भने मकै खेतीसम्बन्धी प्राविधिक ज्ञानको तालीम पनि दिँदै आइएको छ । अनुदान सहयोगअन्तर्गत पछिल्लो पटक नेपालगन्ज उपमहानगरपालिका–१५ को विजय नर्सरी फार्म, वडा नं. २२ पुरैनीमा रहेको मौसमी कृषक समूह र डुडुवा गाउँपालिका–६ बल्दीपुरवाको कृषि सहकारी संस्थालाई अनुदान उपलब्ध गराइएको छ ।
ती समुहलाई करीब रु ७५ लाख बराबरको तीन थान ट्रयाक्टर, ट्रली, थ्रेसर, रोटाबेटर लगायत उपकरण ५० देखि ८५ प्रतिशत अनुदानमा उपलब्ध गराइएको हो । जिल्लाको भूगोल, जलवायु, माटोको अवस्था, कृषकका मागलगायत प्राविधिक पक्षको आँकलन गरी कुन जिल्लामा कुन बाली परियोजनाअन्तर्गत सिफारिश गर्ने भनेर तय हुने गरेको परियोजना प्रमुख मिश्र बताउँछन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७५, आइतवार ०७:३९