सूचनाको शक्ति - The Power Of Information

        

कहिले बन्छ नेपालगन्जमा ‘बहुउदेश्यीय सभागृह’ ?

बाँके । ‘बहुउद्देश्यीय सभागृह र प्रदर्शनीस्थल’ निर्माणको मुद्दा अघि सारेर नेपालगन्ज उद्योग वाणिज्य संघले हरेक बर्ष महोत्सवन आयोजना गर्छ । संघका पूर्वअध्यक्ष दामोदर आचार्यको कार्यकालमा सभागृह र प्रदर्शनीस्थल बनाउन सरकारबाट १० विघा जमिन नेपालगन्ज उद्योग वाणिज्य संघले प्राप्त गरेको थियो ।
जग्गा प्राप्त भएसँगै सभागृह र प्रदर्शनीस्थल सहयोगार्थ भन्दै संघले महोत्सव आयोजना गर्दै आएको छ । तर सभागृह र प्रदर्शनीस्थल निर्माणको टुंगो भने हालसम्म लागेको छैन । तत्कालिन समयमा करिब रु.३५ करोडमा सभागृह र प्रदर्शनीस्थल निर्माण हुने अनुमान गरिएको थियो ।
हालसम्म संघले सभागृह र प्रदर्शनीस्थल सहयोगार्थ भन्दै यसअघि तीन वटा महोत्सव सम्पन्न गरिसकेको छ । जसबाट करिब डेढ करोड रुपैयाँ संकलन पनि भएको छ । तर अहिले पूर्ववत योजना अनुसार नै सभागृह र प्रदर्शनीस्थल बनाउने हो भने पनि रु.५० करोडसम्म खर्च हुने देखिन्छ ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले यहाँका राजनीतिक दलहरुको असयोगका कारण निर्माणमा समस्या भइरहेको बताए । उनले भने, ‘उद्योगी व्यवसायीले मात्रै आवश्यकता महसुस गरेर हुँदोरहेनछ, राजनीतिक सहयोग पनि आवश्यक छ । तर यहाँका राजनीतिक दलहरुले आवश्यकता महसुस नगरिदिँदा समस्या भएको छ ।’
बहुउद्देश्यीय सभागृह निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र नक्सा तयार भइसकेको उनले बताए । ‘केही रकम हामीले जम्मा गरिसकेका छौं । अझै आवश्यक रकम पनि खोजिरहेका छौं । बाह्य दाताहरुले पनि यसमा सहयोग नगर्ने भएकाले सरकारले नै केही रकम विनियोजन गर्नुपर्ने भए पछि हामीलाई राजनीतिक दलहरुको सहयोग चाहिएको छ,’ केन्द्रीय सदस्य श्रेष्ठले भने ।
उनका अनुसार उद्योग वाणिज्य संघलाई प्रदान गरिएको जग्गा सडक विभाग मातहतको भएकाले विभागले जग्गा दिन नमानेका कारण पनि निर्माणमा कठीनाई भइरहेको छ । उनले भने, ‘जग्गा भोगचलन गर्नसडक विभागलाई आठ कोठे भवन बनाईदिनुपर्ने सम्झौतामा उल्लेख छ । हामी त्यो भवन बनाइदिन तयार भए पनि विभागले नमानेकै कारण समस्या भएको छ ।’
राजधानीबाहिर देशकै सबैभन्दा ठूलो सभागृह निर्माण गर्ने महत्वकांक्षा बोकेको नेपालगन्ज उद्योग वणिज्य संघले केही वर्षयता दाताको खोजी गरिए पनि नपाइएपछि औद्योगिक महोत्सव आयोजना गरेर त्यसबाट केही रकम बचत गरिरहेको छ । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले पनि बजेट अभावकै कारण समस्या भएको बताए ।
उनले भने, ‘सरकारले जग्गा दिएको छ । पर्याप्त बजेट हामीसँग छैन । हामीले पनि सरकारसँगै बजेट माग्ने र अपुग रकम जुटाउने हो । हामीले अर्थमन्त्रालयमा यस विषयमा छलफल पनि गरिसकेका छौं । मन्त्रालय तहबाट पनि सकारात्मक प्रतिक्रिया आएको छ ।’ उनका अनुसार सठक विभागलाई जग्गा उपलब्ध गराइदिन पनि पत्राचार गरिसकिएको छ ।
‘मन्त्रीस्तरीय निर्णयबाट हामीले जग्गा पाइसकेका छौं । जग्गाको लालपुर्जा पनि हामीसँगै छ । सडक विभागको प्रयोजनका लागि आठ कोठे भवन निर्माण गरिदिने सर्त अनुसार हामीले जग्गा उपलब्ध गराइदिन भनेका छौं । विभागले जग्गाको टुंगो नलगाए पनि अब हामी प्रदर्शनीस्थल निर्माण सुरुवात गर्दछौं,’ अध्यक्ष वैश्यले भने, ‘अबको केही महिनाभित्र हामीले निर्माणको काम सुरु गर्दछौं ।’
सरकारसँग भएको सम्झौता अनुरुप सभागृह र प्रर्दशनीस्थल निर्माण कार्य व्यवसायीक प्रयोजनका लागि नहुने उल्लेख भएकाले पनि यो परियोजना सुरुवातका क्रममा केही समस्या भएको व्यवसायीहरुको भनाई छ । अध्यक्ष वैश्यका अनुसार अब निर्माणका लागि आवश्यक बजेट बाहेक अन्य कुनै समस्या छैन । नेपालगन्ज उपमहानगरपालिकाले पनि भवन निर्माणका लागि स्वीकति दिइसकेको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७५, शनिबार ०१:१४