काठमाडौं । कुशल लिम्बु अर्थात् बेलायती सेनाको सेकेण्ड गोरखा राइफल्सका २११७०६६७ । तर, उनले अहिले यो परिचय फेरेका छन् । अफगानिस्तानमा एम्बुसमा परेर दुबै खुट्टा गुमाएका उनी मैदानमा दौडेर बेलायतका लागि उपाधि जितिरहेका छन् ।
अहिले अस्ट्रेलियाको सिड्नीमा भइरहेको इन्भिक्टियस खेलकुदमा कुशल लिम्बुले १०० र २०० मिटर दौडमा स्वर्णपदक जितेका छन् । साथै उनले बसेर खेलिने भलिबल र १०० मिटर रिले दौडमा रजत पदक जितेका छन् ।
नेपालको तेह्रथुम जिल्लामा ३६ वर्षअघि जन्मिएका कुशलले खेल्ने इच्छा भए पनि खेलाडी बन्छु भन्ने कहिल्यै सोचेका थिएनन् । बुबा भारतीय सेनामा भएकाले उनमा खेलाडी भन्दा बढी सेनाको रहर थियो । त्यही रहरले उनी सन् २००२ मा बेलायती सेनामा भर्ना भए ।
सेनामा भर्ना भएलगत्तै उनी अफगानिस्तानमा खटिए । उनको अफगानिस्तानको पहिलो ड्युटी २००३ मा सकियो । ‘सेनाको जीवनमा मलाई राम्रो लाग्ने कुरा तालिममा हुँदा, कतै ड्युटीमा जाँदा साथीभाइ सँगै भइन्छ । एउटै परिवार जस्तो हुन्छ’ कुशलले भनेका छन् ।
सेनामा रमाइरहेका कुशललाई तब बज्रपात पर्यो, जब २००८ मा अफगानिस्तानमा नै दोस्रोपटक खटिँदा एम्बुसमा परे । २००८ को नोभेम्बर १५ तारिखमा गस्तीबाट फर्किएका बेला उनको गाडी हेलमन्ड प्रान्तमा तालिवानको एम्बुसमा परेको थियो । जहाँ बेलायती सेनामै कार्यरत लमजुङका कृष्णबहादुर दुराले ज्यान नै गुमाए ।
कुशल बाँच्न त सफल भए, तर दुबै खुट्टा गुमाएर । ‘मैले बिस्फोट हुँदाको त्यो आवाज नै सुनिनँ । केही दुःखाई पनि महसुश भएन । आँखाअघि अँध्यारो छायो । एउटा गहिरो सुरुङभित्र पसेजस्तो भयो,’ उनी सम्झन्छन्, ‘मेरा दुबै खुट्टा चुँडिएर रगत बगिरहेको थियो । मोजा निकालेपछि मलाई असाध्यै दुःख्न थाल्यो । त्यसपछि कसैले हेलिकोप्टरमा राखेर अस्पताल लगेको मात्र याद छ ।’
डाक्टरले उनका खुट्टा जोगाउनभन्दा ज्यान जोगाउनु नै उत्तम सम्झिए । अस्पतालको चार हप्ताको बसाइमा अब के गर्ने भन्ने कुशलको कल्पनामा थिएन । कुनै भविष्य देखेका थिएनन् । तर, पाराओलम्पिक्समा कृत्रिम खुट्टाको सहायताले कुदिरहेका खेलाडी उनका आँखामा नाचिरहेका थिए ।
यसैले उपचार सकिएपछि डाक्टरले तिमीलाई केही सोध्नु छ ? भनेर सोध्दा कुशलले भने, ‘मैले दौडन मिल्ने कृत्रिम खुट्टा कहिले पाउँछु ?’ कुशलले सानो बेला विद्यालयमा हुँदा खेलकुदका गतिविधिमा भाग लिएका थिए । ‘मलाई दौडने मन सानैदेखि हो । कलेज पढ्ने समयमा छिटै कुद्थें पनि । तर, दुवै खुट्टा हुँदा ठूला प्रतियोगितामा कहिल्यै भाग लिएको थिइनँ,’ उनी भन्छन् ।
खुट्टा गुमाएपछि दौडने अवसर
ओलम्पिक्सका खेलहरु टेलिभिजनमै हेर्न भए पनि उनमा रुचि थियो । उनले निश्चय गरेका थिए, ‘अब मैले दौडनुपर्छ ।’ घाइते भएको एक वर्षमा लौरो टेकेर हिँड्न सक्ने भएपछि कृत्रिम खुट्टा राखेर कुशलले दौडने अभ्यास गर्न थाले । अमेरिकामा घाइते सैनिकका लागि २०१० मा ‘वारियर गेम्स’ नाम दिएर विभिन्न खेलकुद प्रतियोगिता सुरु भएको थियो ।
सोही प्रतियोगिताका लागि २०१३ मा बेलायती राजकुमार हृयारीले बेलायती सेनाका घाइते सैनिकलाई लिएर अमेरिकाको कोलोराडो पुगे । कुशल पनि हृयारीले लगेको खेलाडी टोलीमा परेका थिए । पहिलो प्रतियोगितामा नै कुशलले १०० मिटर र २०० मिटर दौडमा स्वर्ण पदक साथै बसेर खेलिने भलिबलमा कांस्य पदक जिते ।
पहिलो प्रतियोगिताबाट प्रभावित हृयारीले विश्वभरका घाइते सैनिकका लागि भनेर २०१४ मा इन्भिक्टियस खेलकुद आयोजना गरे । जहाँ कुशलले २०० मिटर दौड र भलिबलमा स्वर्ण पदक साथै १०० मिटर दौडमा रजत र १०० मिटर रिले दौडमा कांस्य पदक जिते । अहिलेसम्म कुशलले बेलायतका लागि अन्तर्राष्ट्रिय स्तरमा ६ वटा स्वर्ण, तीन रजत र दुई कांस्य पदक जितिसकेका छन् । उनी सहभागी कुनै पनि प्रतियोगितामा खालि हात फर्कनुपरेको छैन ।
‘अहिले मैले जे गरिरहेको छु त्यो मेरा लागि ठूलो कुरा हो । यो अवस्थामा पनि आफूले केही गर्न पाउँदा गर्व लाग्छ,’ उनी भन्छन्, ‘मेरी चार वर्षकी छोरी छन् । उनले मलाई घाइते सैनिकका रुपमा मात्रै होइन, एक खेलाडीका रुपमा चिनुन् भन्ने लाग्छ ।’ २५ वर्षको उमेरमा घुँडाभन्दा तल दुबै खुट्टा गुमाएका कुशल घाइते सैनिकका लागि मात्रै होइन, सबैको प्रेरणा स्रोत बनेका छन् । इच्छाशक्ति हुँदा पछि पर्नुपर्दैन भन्ने उदाहरण दिएका छन् ।
(यो सामग्री गोरखा ब्रिगेड एशोसियसन, बीबीसी, डेलि स्टार सनडे र इन्भिक्टियस गेम्सको सहयोगमा तयार पारिएको हो ।)
#अनलाइनखबर
।