काठमाडौं । इङ्ग्ल्याण्ड र वेल्समा सन् २०१९ को मे ३० देखि १४ जुलाइसम्म आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी अपराह्न नेपाल ल्याइएको छ ।
आइसिसीका नेपाल प्रतिनिधि एवं क्यानका पूर्वप्रमुख कार्यकारी अधिकृत भावना घिमिरेका अनुसार विश्वकप ट्रफी आज युएइबाट अपराह्न ३ः४० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइ पुगेको हो । ट्रफी लिएर आइसिसीको एक प्रतिनिधिमण्डल काठमाडौँ आइपुगेको छ । सो ट्रफी नेपालमा सोमबारसम्म रहनेछ ।
नेपालमा रहँदा ट्रफीलाई स्वयम्भू, पोखरा र चन्द्रागिरि हुँदै वसन्तपुर पुर्याउने कार्यक्रम छ । घिमिरेका अनुसार, शुक्रबार अपराह्न ट्रफी नेपाल ल्याइए लगत्तै स्वयम्भू लगिएको छ । स्वयम्भूमा केही घण्टा प्रदर्शनीमा राख्ने र शनिबार बिहानै पोखरा क्रिकेट रङ्गशाला लगिनेछ । पोखरा प्रिमियर लिग (पिपिएल)का लागि सबै खेलाडी र क्रिकेट सम्बद्ध व्यक्ति पोखरामा रहेकाले ट्रफी पोखरा लैजान लागिएको हो ।
‘ट्रफी टुरको मुख्य उद्देश्य क्रिकेटको क्रेज बढाउनु र पर्यटन प्रवर्धन गर्नु हो,’ घिमिरेले भनिन्, ‘पोखरा रङ्गशालाका साथै फेवाताल र सराङकोटसम्म पुर्याउने तालिका छ, समयले भ्याएसम्म रुपा ताल र बेगनासतालसम्म ट्रफी लगिनेछ ।’ सो ट्रफी शनिबार बेलुकी पोखराबाट पुनःकाठमाडौँ ल्याइनेछ । त्यस्तै २८ कार्तिकमा ट्रफीलाई काठमाडौँको ऐतिहासिक स्थान चन्द्रागिरि लगिनेछ ।
चन्द्रागिरिमा लगेर केही घण्टा त्यहाँ प्रदर्शनीमा राखिने र सो प्रदर्शनी कार्यक्रममा सञ्चारकर्मीलाई तस्बीर खिच्न दिइने घिमिरेले जानकारी दिइन् । सोही दिन चन्द्रागिरिबाट ट्रफी काठमाडौँको वसन्तपुर दरबार क्षेत्रमा लगेर राखिनेछ । त्यहाँ क्रिकेट समर्थक र सर्वसाधारणलाई ट्रफीसँग तस्बीर खिच्न दिने कार्यक्रम छ ।
आइसिसीले विश्व भ्रमणको दौरान विश्वकप ट्रफी नेपालमा समेत प्रदर्शन गर्न लागेको हो । नेपालले एक दिवसीय मान्यता पाएको अवसरमा ट्रफीलाई नेपाल ल्याउन लागिएको घिमिरेले बताइन् । विश्वकपको ट्रफी निशान कम्पनीको सहयोगमा विश्वभर प्रदर्शन गरिएको हो ।
क्रिकेटको विश्वकप ट्रफी नेपालमा पहिलो पटक ल्याइएको हो । फुटबलको ट्रफी भने नेपालमा ल्याइसकिएको छ । एक सय दिने विश्व भ्रमणमा रहेको विश्वकप ट्रफी ओमान, अमेरिका, वेष्टइण्डिज, श्रीलङ्का, पाकिस्तान र संयुक्त अरब इमिरेट्स (युएइ) हुँदै नेपाल ल्याइएको हो ।
ट्रफी नेपालबाट भारत, न्यूजील्याण्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड्स र जर्मनी हुँदै इङ्ग्ल्याण्ड लगिनेछ । विश्वकप ट्रफी नेपालसहित २१ देशका ६० शहरमा प्रदर्शन गरिने आइसिसीले जनाएको छ ।
।