सूचनाको शक्ति - The Power Of Information

        

निर्वाचन आयोगद्वारा कट्टेलको निवेदन खारेज, सत्तापक्षलाई मान्यता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नामको विवादका विषयमा ऋषि कट्टेल समूहले निर्वाचन आयोगमा दिएको निवेदन खारेज भएको छ । निर्वाचन आयोगको संवैधानिक इजलासले कट्टेल समूहको निवेदन खारेज गर्दै पुरानै नामलाई यथावत राख्ने निर्णय गरेको आयोगका प्रवक्ता दीपक सुवेदीले बताए ।

आयोगको हिजो र आज बसेको संवैधानिक इजलासको बैठकपछि निवेदन खारेज गर्ने निर्णय आज गरिएको हो । तत्कालीन दुई वाम दल नेकपा एमाले र नेकपा माओवादी (केन्द्र) एकीकृत भई गठन भएको नेपाल कम्युनिस्ट पार्टी (ने क पा) र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको नामका विषयमा विवाद भएको थियो ।

सुरुमा नेकपा अन्डरलाइन प्रस्ताव गरिए पनि पछि कोष्ठकभित्र छुट्टिने गरी ने क पा राखी पार्टी दर्ता गरिएको थियो । आयोगले दुवै दलका प्रतिनिधि तथा कानुन व्यवसायीको राय बुधबार सुनेको थियो भने बिहीबार र शुक्रबार छलफल गरेको थियो । नेकपाको नाममा दुवै दलका आ–आफ्ना दाबी रहेका छन् ।
सत्तारुढ दलले मिल्दोजुल्दो गरी नाम राखेपछि कट्टेल समूह असन्तुष्ट थियो । निर्वाचन आयोगमा पहिलेदेखि नै कट्टेलको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दर्ता थियो । पछि दुई वाम दल मिलेर नेपाल कम्युनिष्ट पार्टी (ने क पा) दर्ता भएको थियो । कट्टेलले आयोगले आफ्नो पक्षमा निर्णय नगरे सर्वोच्च अदालत जाने बताउँदै आएका छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०७५, शुक्रबार १०:१७