यौन अखडामा प्रहरीको छापा, एक जोडीसँगै एक कार्टुन कण्डम बरामद
।
बाँके । बाँकेमा यौन अखडाहरु सञ्चालनमा आइरहेका छन् । नेपालगन्जका केही होटलहरुमा अवैधरुपमा यौनधन्दा सञ्चालन भइरहेका समाचारहरु सत्यपाटीले निरन्तर लेखिरह्यो । होटलहरुमा विरलै छापा मार्ने प्रहरीले निरन्तररुपमा सत्यपाटीमा समाचार प्रकाशित भएपछि नेपालगन्जको एक होटलमा पहिलो पटक छापा मारेर यौनकार्यमा संलग्न एक जोडीलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले छापा मार्ने सुइँको पाएर अरु चार जोडी होटलबाट बाहिरिएका थिए । यौन कारोबार भइरहेको सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरीले यादव थरका एक केटा र सिंह थरकी एक केटीलाई पक्राउ गर्न सफल भयो । सञ्चारमाध्यममा लगातार समाचार प्रकाशित भइरहे पनि नेपालगन्जमा वडा प्रहरी कार्यालयले पहिलो पटक यसरी छापा मारेको हो ।
नेपालगन्ज–४ बाइपास रोडमा रहेको एक होलमा छापा मार्ने क्रममा प्रहरीले अर्को अचम्म फेला पारेको छ । एक जोडी र होटल सञ्चालिकालाई नियन्त्रणमा लिएको प्रहरीले एक कार्टुन कण्डमसमेत बरामद गरेको छ । कण्डम नयाँ भने होइनन् । खानतलासीका क्रममा प्रहरीले बरामद गरिएका कण्डमहरु यौन सम्पर्कका क्रममा प्रयोग गरी कार्टुनमा फालिएको अवस्थामा फेला पारेको थियो ।
वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक नारायण डाँगीले यौन अखडामा छापा मारेको पुष्टि गरेका छन् । कमजोर सरकारी संयन्त्रको फाइदा उठाउँदै पछिल्लो समय अवैध यौन अखडाहरु सञ्चालन भएपछि प्रहरीले सक्रियता देखाउन थालेको हो । प्रहरीकै संरक्षणमा यौनधन्दा मौलाउन थालेको गुनासो आइरहेका बेला यौन अखडामा छापा मार्नुलाई स्थानीयले सकारात्मक कार्य भनेका छन् ।
।