सूचनाको शक्ति - The Power Of Information

        

राँझाको ‘किमु होमस्टे’मा खुलेआम यौनधन्दा !

बाँके । प्रहरी समाजमा शान्ति सुरक्षा कायम गर्ने र सामाजिक विकृतिविरुद्ध सक्रिय रहने सरकारी जनशक्ति हो । प्रहरीको काम अनैतिक काम गर्नेलाई पक्राउ गरी कानूनी कार्वाहीको भागीदार बनाउने पनि हो । तर, सामाजिक शान्ति सुरक्षा र सभ्य समाज निर्माणमा खट्नुपर्ने प्रहरी नै गलत बाटोमा हिँडिरहेकाहरुको सहयोग बन्यो भने त्यसलाई के भन्ने ?
गलत काम गर्नेहरुका लागि यो काम मनमनै जायज लागे पनि सभ्य र सामाजिक हितका लागि सोच्ने मान्छेका लागि भन्ने यो कुरा पाच्य हुँदैन । तर, यहि नपच्ने कुरा नै बाँकेका केही ठाउँहरुमा देख्न, सुन्न र भोग्न पाइन्छ । अहिले बाँकेका केही स्थानमा प्रहरीकै संरक्षणमा यौनधन्दा चलिरहेको गुनासो सर्वसाधारणहरुले गरिरहेका छन् ।
नेपालगन्जका केही होटलहरुमा अवैधरुपमा यौनधन्दा सञ्चालन भइरहेकै छन् । प्रहरीले मौसमीरुपमा ती होटलहरुमा छापा मार्ने र पक्राउ गर्ने अभियान चलाउँछ । जब मौसम सकिन्छ, यौनधन्दा फेरी उसैगरी मौलाउँछ । नेपालगन्जको बदनाम यौनधन्दा पनि एउटा कारण हो । गलत कार्य रोक्न तात्तिने प्रहरी केहीछिनमै सेलाउँछ र यौनधन्दा उसैगरी चलिरहन्छ ।
प्रहरीको मौसमी छापा मार्ने अभियानमा तर्सिनेहरु नयाँ विकल्पको खोजी गर्छन् । नेपालगन्ज बाहिरका सुरक्षित स्थान खोज्न थाल्छन् । कहिलेकाँही पुगेकाहरु सहजै पुग्छन् भने पहिलो पटक पुग्न चाहनेहरु सोधीखोजी गर्छन् । जहाँ नेपाली र भारतीय ग्राहकको भीड पनि उत्तिकै हुन्छ । त्यसो त त्यहाँको खानपान पनि उत्तिकै राम्रो हुने विश्वास गरिन्छ ।
गाउँको बीचमा एउटा कटेज छ, जुन ‘किमु होमस्टे’को नामले परिचित छ । बँदेल, हाँस, राप्ती नदीको लोकल माछा, मकै तथा फापरको ढिडोदेखि लोकल कुखुराका परिकारहरुले त्यहाँ पुग्ने जो कोहीको मनलाई सन्तुष्ट बनाउँछ । त्यसो त बँदेल मार्न र मासु बेचबिखन गर्न पाइँदैन । तर, ‘किमु होमस्टे’मा भने घरपालुवा बँदेल भन्दै मासु खुलेआम विक्री गरिन्छ ।
नेपालगन्ज उपमहानगरपालिका–२०, मा रहेको ‘किमु होमस्टे’मा हुने सबै गतिविधिप्रति स्थानीय प्रशासन बेखबर भने छैन । ‘किमु होमस्टे’मा हुने हरेक गतिविधिमा प्रहरी प्रशासन पूर्ण जानकार छ । तर अहिलेसम्म प्रहरीले चासो नदेखाउनुलाई स्थानीयहरुले गम्भीररुपमा लिएका छन् । एक स्थानीय भन्छन्, ‘प्रहरीलाई सबै थाहा छ, तर थाहा नपाएजस्तो गरिदिन्छ ।’
‘भारतीय ग्राहकहरु पुग्ने ‘किमु होमस्टे’मा सञ्चालकले नै यौनकर्मी महिलाहरुसँग सम्पर्क गराइदिन्छन्,’ एक स्थानीयले भने, ‘यो होमस्टे यौनधन्दा सञ्चालनको अखडा बन्दै जाँदा पनि स्थानीय प्रशासन मौन छ ।’ नेपालगन्जका होटलहरुमा आक्कलझुक्कल रुपमा छापा मार्दा सुरक्षित स्थानको खोजीमा भारतीय ग्राहक तथा अन्य यौनकर्मीहरु ‘किमु होमस्टे’ पुग्ने गरेको स्थानीयहरुको बुझाई छ ।

गलत धन्दा गर्नेले प्रहरीलाई सूचना देला र प्रहरीले कारबाही गर्ला भनेर कसरी विश्वस्त हुन सकिन्छ ?

‘किमु होमस्टे’मा प्रतिकोठा १ हजार रुपैयाँदेखि २५ सय रुपैयाँसम्म भाडा लिइन्छ भने यौनकर्मीहरुले एक आपसमा मूल्य तय गरेर यौनधन्दामा लिप्त हुन्छन् । यौनकर्मीहरुको अड्डा बन्दै गएको ‘किमु होमस्टे’ सञ्चालकले फोनमार्फत होटलमा ग्राहक बोलाउँदा अलग्गै कमिसन पाउने भएपछि राम्रै आम्दानी गर्दै आएका छन् ।
कमजोर सरकारी निकायको फाइदा उठाउँदै पछिल्लो समय यसले झनै व्यापकता पाउन थालेपछि सम्बन्धित निकायले चासो नदिएको स्थानीयहरुको गुनासो छ । प्रहरीकै संरक्षणमा यौनधन्दा मौलाउन थालेको स्थानीयहरुको दावी छ । दिनदहाडै यौनधन्दा मौलाउँदा पनि प्रहरी प्रशासनले चासो नदिनुले प्रहरीको संरक्षण रहेको पुष्टि हुन्छ ।प्रहरी चौकी गनापुर र केही घुमुवा प्रहरीको संरक्षणमा यौनधन्दा सञ्चालन भइरहेको प्रहरी स्रोतले जनाएको छ । प्रहरी स्रोतका अनुसार यौनधन्दा सञ्चालनका लागि केही घुमुवा प्रहरीले पनि सहयोग गरिरहेका छन् । ‘त्यहाँ भनेजस्तो खानपान र केही खर्च पाउने सर्तमा घुमुवा र स्थानीय प्रहरीले संरक्षण गरिरहेको छ,’ प्रहरी स्रोतले भन्यो ।
‘किमु होमस्टे’ कुनै कोठीभन्दा फरक नरहेको स्थानीयहरुको आरोप छ । ‘प्रहरी र घुमुवालाई मिलाएको छ,’ एक स्थानीयबासीले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘यहाँ कलगर्लहरु राखेर यौनधन्दा सञ्चालन हुँदै आएको छ ।’ बाँके प्रहरीका केही उच्च अधिकारीहरुले आफू निकटका घुमुवामार्फत रकम असुल्ने गरेको स्रोतको दावी छ ।
‘वरिपरि गाउँ छ, गाउँको बीचमा ‘किमु होमस्टे’ छ, सोही होमस्टेका कोठाभित्र यौनधन्दा हुन्छ,’ एक जना स्थानीयले दावी गर्दै भने, ‘यहाँ यौनधन्दा हुने गरेको भनेर पटक पटक प्रहरीलाई जानकारी गराए पनि प्रहरीले अहिलेसम्म छापा मारेको छैन । त्यसले पनि होमस्टे सञ्चालकको हौला बढेको छ । यसले यौनधन्दा मौलाउँदै गएको छ ।
यसको जानकारी प्रहरीलाई भए पनि कहिले छापा मार्ने र कार्वाही नगर्ने गरेको स्थानीयहरुको भनाइ छ । उक्त होमस्टेले मासिकरूपमा रकम बुझाउने गरेकै कारण प्रहरीले छापा नमारेको स्थानीयबासीको दावी छ । आफ्नै कार्यक्षेत्र वरिपरी र आँखै अगाडि यस्ता विकृतिपूर्ण कामहरु भइरहेको भए पनि बाँके प्रहरीले यसबारेमा आफूलाई कुनै जानकारी नभएको बताउँदै आएको छ ।
‘किमु होमस्टे’ प्रहरी चौकी गनापुरको कार्य क्षेत्रभित्र पर्छ । तर गनापुर प्रहरीले हालसम्म कुनै कारबाही गर्न सकेको छैन । गनापुर प्रहरी चौकीका सई नदीराम खड्काले अनविज्ञता व्यक्त गर्दै आफूहरुलाई त्यस विषयमा जानकारी नभएको बताए । ‘बस्ने, खाने व्यवस्था त छ, तर त्यहाँ गलत कार्य हुन्छ भन्ने हामीलाई सूचना छैन,’ उनले भने ।
उनले राझा चौक आसपासका केही होटलहरुमा त्यस्ता गतल कार्य भएको र त्यसलाई पूर्णरुपमा बन्द गरिएको दावी गर्दै ‘किमु होमस्टे’मा भइरहेको अवैध यौनधन्दाका विषयमा अनविज्ञता प्रकट गर्दै उनले भने, ‘हामीलाई अहिलेसम्म सूचना आएको छैन । सूचना आएपछि छापा मार्छौ ।’
बाँकेका प्रहरी प्रमूख एसपी अरुण पौडेलले आफूलाई यस विषयमा जानकारी नभएको बताए । उनले भने, ‘मलाई यस विषयमा अहिलेसम्म कहिँकतैबाट जानकारी आएको छैन । यस विषयमा बुझ्नेछु । मर्यादित पेसाप्रति कसैको अवरोध हुँदैन । अवैध यौनधन्दाको निगरानी हामीले गरिरहेका छौं ।’ कानुनले बर्जित गरेको यौनजन्य क्रियाकलाप बन्द गर्ने उनले बताए ।
यद्यपी गलत धन्दा सञ्चालन गर्ने र गराउनेले प्रहरीलाई सूचना देला र कारबाही गरौंला भन्नु कत्ति जायज होला ? गलत धन्दा गर्नेले प्रहरीलाई सूचना देला र प्रहरीले कारबाही गर्ला भनेर कसरी विश्वस्त हुन सकिन्छ ? प्रहरीले सोचेंजस्तो गलत कार्यमा संलग्न भएका व्यक्तिले दिने सूचनामा भरपर्ने हो भने सुरक्षा अवस्था कस्तो होला ?

प्रकाशित मिति : ७ कार्तिक २०७५, बुधबार ०८:२६