ज्ञानु गौतम । रुकुम । रुकुम पश्चिमको चौरजहारी विमानस्थल सञ्चालनमा आएको छ । डेढ वर्षदेखि रोकिएको विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले आजबाट उडान सुरु गरेको हो । हप्ताको दुईदिन बुधवार र बिहिवार उडान हुने गरी चौरजहारी बिमानस्थल पुनः सञ्चालनमा आएको निमित्त स्टेशन प्रमुख सुरेन्द्र नेपालीले बताए ।
उडान सुरु भएको आज पहिलो दिन चौरजहारीबाट आठ जनाले नेपालगन्जसम्मको हवाई यात्रा गरेका छन् । झण्डै डेढ बर्षपछि यहाँको हवाई सेवा सञ्चालनमा आएपछि स्थानीय र सर्वसाधारण खुशी भएका छन् । यसअघि नेपाल वायुसेवा निगमसँग पर्याप्त जहाज र पाइलट नभएको भन्दै गतवर्षको जेठ अन्तिम साताबाट चौरजहारी विमानस्थलको उडान बन्द गरिएको थियो ।
बन्द हवाई सेवा सञ्चालनका लागि जिल्लाका सरोकारवाला निकाय, स्थानीय सरकार तथा निर्वाचित जनप्रतिनिधिले सम्बन्धित पक्षसँग पहल चाल्दै आएका थिए । २०२८ सालबाट सञ्चालमा आएको चौरजहारी विमानस्थलको थप स्तरोन्नतीका लागि पाँच वर्षअघि विमानस्थलको धावनमार्गमा कालोपत्रे गरिएको थियो ।
।