बाँके । सरकारले तोकेबमोजिमको दैनिक ज्याला नपाएको भन्दै कृषि मजदुरहरु आन्दोलित भएका छन् । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र खजुरामा कार्यरत मजदुरहरु आन्दोलित भएका हुन् । सरकारले तोकेअनुसारको ज्याला नपाएपछि आन्दोलनमा उत्रिएको मजदुर सन्तोष सुनारले बताए ।
नार्कमा कार्यरत मजदुरले दैनिक ज्याला गरेबापत रु.३७५ पाउने गरेका छन् । नेपाल सरकारले राजपत्रमा प्रकाशित गरेबमोजिमको ज्याला पाउनुपर्ने भन्दै आन्दोलनमा उत्रिएको मजदुरहरुले बताएका छन् । मजदुर सुनारले भने, ‘अझै पनि नेपाल सरकारले तोकेको दैनिक ज्याला पाएका छैनौं ।’
अर्का मजदुर भरत नेपालीले सबै क्षेत्रमा नेपाल सरकारले तोकेको ज्याला लागु भइसक्दा पनि आफुहरु पुरानै ज्यालामा काम गर्न बाध्य भएको गुनासो गरे । केन्द्रका डा.दिनेश यादवले सरकारले आफुहरुलाई बजेट पहिले नै पठाएको र मजदुरहरुको ज्यालाको बिषयमा पछिमात्र क्याबिनेटबाट निर्णय भएको हुँदा कम बजेट भएकाले समस्या भएको बताए ।
सरकारले दैनिक ज्याला रु.५१७ तोकेको छ । केन्द्रमा हाल १५० बढी मजदुरहरु ज्यालादारी काम गरिरहेका छन् । मौसमअनुसार मजदुरको संख्यामा बृद्धि हुने गरेको छ । डा.यादवले भने, ‘कम बजेटकै कारण मजदुरहरुको दैनिक ज्यालामा समस्या भएको छ ।’
केन्द्रको केन्द्रीय कार्यालयमै बजेटको अभाव रहेकोले तत्काल समस्या समाधान गर्न कठिनाई भए पनि यसलाई बिस्तारै समाधान गर्दै लैजाने र सबै मजदुरहरुलाई सरकारले तोकेकै ज्याला उपलब्ध गराउन आफुहरुले आन्तरिक रुपमा गृहकार्य गरिरहेको उनले बताए ।
।