सूचनाको शक्ति - The Power Of Information

        

राप्तीपारि २१४ वटा रुख काटिँदै

बाँके । बाँकेको राप्तीपारिका स्थानीयहरुको बत्ती बाल्ने सपना पुरा हुने सम्भावना बढेको छ । ग्रामीण विद्युतीकरण कार्यक्रम अन्तरगत विद्युत प्रशारण लाइन विस्तारको काम अघि बढेसँगै त्यस क्षेत्रका स्थानीयहरु उत्साहित भएका छन् । कोहलपुर–धामपुर ग्रामीण विद्युतीकरण अभियान अन्तरगत सोमबारदेखि रुख कटान सुरु भएको छ ।
बन मन्त्रालयले विद्युत लाइन बिस्तारका लागि २.२ हेक्टर बनक्षेत्र भोगाधिकार दिएसँगै त्यस क्षेत्रका २१४ रुख कटान कार्य सुरु गरिएको हो । सोमबार बाँके निर्वाचन क्षेत्र नं. १ का संघीयसभा सदस्य महेश्वर गहतराज ‘अथक’ र प्रदेशसभा सांसद कृष्णा केसी ‘नमुना’ले संयुक्त रुपमा रुख कटान कार्यको शुभारम्भ गरेका हुन् ।
राप्तीसोनारी गाँउपालिकाको ५ नं. वडामा पर्ने उक्त बन क्षेत्रमा विद्युत लाइन विस्तारका लागि २१४ रुखहरु कटान गर्ने अनुमति प्राप्त भएको डिभिजन बन कार्यालय बाँकेका निमित्त प्रमुख गणेशबहादुर खड्काले जानकारी दिए । रुख कटान भएको संख्या अनुसार आगामी २ वषभित्र बन कार्यालयले तोकेको स्थानमा १ रुख बराबर २५ वटा बिरुवा रोप्ने सहमति भएको र त्यसकै आधारमा रुख कटान कार्य सुरु गरिएको खड्काले बताए ।
३३ केभिए विद्युत प्रशारण लाइन विस्तारका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गरिएको विद्युत प्राधिकरण कार्यालय नेपालगन्जका निमित्त प्रमुख गणेशदत्त भट्टले जानकारी दिए । वद्युतिकरणका लागि आवश्यक पोल तथा तार लगायतका अन्य सामग्रीहरु ल्याइसकिएकोले प्रशारण लाइन विस्तारमा कुनै समस्या नरहेको निमित्त प्रमुख भट्टले दावी गरे ।
कात्तिक महिनाभित्रै रुख कटान सकिने र चैत्रभित्रै मुख्य प्रशारण लाइनमा विद्युत प्रवाह गर्ने योजना रहेको भट्टले बताए । रुख कटानको उद्घाटन गर्दै संघिय सांसद अथकले चैत्र महिनाभित्रै राप्तीपारिका क्षेत्रमा विद्युत विस्तार गरिने बताए । उनले वर्षौैदेखि अँध्यारोको पीडा खेप्दै आएका राप्तीपारिका स्थानीयबासीले विद्युतीकरणमार्फत विकासको मुलधारमा प्रवेश गर्न गइरहेको दाबी गरे ।
प्रदेश नं. ५ की सांसद नमुनाले राप्तीपारिका जनताले बत्ती नबाल्दासम्म विद्युतिकरणको अभियान जारी रहने बताइन् । उनले धेरै लामो संघर्षपछि विद्युत विस्तारको काम अघि बढे पनि त्यसले पूर्णता नपाउँदासम्म सबै पक्षलाई जिम्मेवार भएर लाग्न आग्रह गरिन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७५, मंगलवार ०२:२२