सूचनाको शक्ति - The Power Of Information

        

दशैंमा सुनसान नेपालगन्ज, चोरको विगविगी बढ्यो

बाँके । बाँकेको नेपालगन्ज शहर यतिबेला सुनसान जस्तै बनेको छ । कर्णाली तथा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला विभिन्न पेशा व्यवसायमा संलग्न रही नेपालगन्जमा घर भएका नागरिकहरु यतिबेला दशैं मनाउन पुख्र्यौली थलो गएका छन् । अधिकांश मानिसहरु पुख्र्यौली थलो गएपछि नेपालगन्ज शहर यतिबेला सुनसान बनेको छ ।
शहर सुनसान भएकै मौका छोपेर नेपालगन्जमा चोरीको विगविगी देखिएको छ । बुधबार राती मात्रै नेपालगन्ज वडा नं.–१ को जुम्लीटोल, वडा नं. ४ को गणेशपुर, वडा नं. १८ कारकाँदो क्षेत्रका आधा दर्जन घरहरुमा चोरी भएको छ ।
जुम्लीटोलमा भाडामा बस्दै आएका बस्नेत दशैँ मान्न पुख्र्यौली थलो जुम्ला गएको मौका छोपेर उनको कोठामा चोरी भएको छ भने गणेशपुरका विपिन गिरी, कारकाँदोका महेन्द्र रानाको घरमा चोरी भएको छ । त्यसैगरी वडा नं. १८ कै भुजईगाउँमा पनि चोरी भएको छ । भाडामा बस्ने अन्य मानिससमेत दशैँ मान्न घर गएपछि घर खाली भएको थियो ।
अधिकांश मानिसहरु दशैं मनाउन गाउँ गएको मौका छोपेर चोरीका घटनामा वृद्धि भएका छन् । घरबेटी र भाडामा बस्नेसमेत नभएकाले कति चोरी भयो भन्ने खुल्न सकेको छैन । प्रहरीले चाडवाड लक्षित सुरक्षा योजना बनाएर चोरी, लुटपाटविरुद्ध लागेको जनाए पनि दशैँमा घरहरु खाली हुने हुँदा चोरले मौकाको फाइदा उठाउने गरेका छन् ।
बाँके प्रहरीले चाडबाडका बेला जिल्लाको सुरक्षा अवस्था मजबुद पारेको दाबी गरे पनि जिल्लाका विभिन्न गाउँहरुमा दैनिकजसो चोरी, गुण्डागर्दी लगायतका घटनाहरु वृद्धि भइरहँदा स्थानीयहरुले असुरक्षित महसुस गरिरहेका छन् । तर प्रहरीले पनि भरपुर सुरक्षा दिइरहेको दावी गरिरहेको छ ।
बाँके प्रहरीले जिल्लाको सुरक्षा बाबजुद बनाएको दाबी गरे पनि राधापुर, बेलभार, जयसपुर, नरैनापुर, पुरैनी, लक्ष्मणपुर, कालफाँटा, वनकट्टी, चिसापानी, अगैया, कुसुम, शम्सेरगन्ज, खजुरा, सीतापुर, बैजापुर, विनौना, ढकेरीकासाथै नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाका केही क्षेत्र चाडवाडको समयमा सुरक्षाका हिसाबले उच्च जोखिममा छन् ।
जिल्लाका यी गाउँमा मात्रै नभई नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा चोरीको बिगबिगी बढेपछि प्रहरीले थप सुरक्षा सतर्कता अपनाएको बाँकेका प्रहरी प्रमूख एवं प्रहरी उपरीक्षक अरुण पौडेलले बताए । प्रहरीले भने हालसम्म चोरी डकैतीमा संलग्न रहेका कसैलाई पनि पक्राउ गर्न सकेको छैन ।
सबैभन्दा धेरै गणेशपुर र कारकाँदो क्षेत्रमा भइरहेको भए पनि वडा प्रहरी कार्यालयले कसैलाई पक्राउ गर्न नसकेको स्थानीयबासी विजय गिरीको आरोप छ । उनले भने, ‘गणेशपुर र कारकाँदो क्षेत्रमा दिनहुँजसो चोरीका घटनाहरु भइरहेका छन् । नागरिकका घरहरु चोरी हुँदा प्रहरीले रात्री गस्तीसमेत गर्न सकेको छैन ।’
‘दशैं लक्षित सुरक्षा योजनाअनुसार हामी निरन्तर अनुसन्धानमा खटिएका छौं,’ जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख पौडेलले भने, ‘चोरी डकैतीमा संलग्नहरुमाथि अनुसन्धान थालेका छौं । हामी उनीहरुलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउँछौं ।’
उनले जिल्ला भरमा सबै नागरिकले शान्त वातावरणमा चाडबाड मनाउन सकुन भनेर शहरदेखि गाउँसम्म रहेका प्रहरी चौकीमा कडा निर्देशनसहित सुरक्षाकर्मी खटाइरहेको दावी गरे । उनले भने, ‘ढुक्क भएर चाडबाड मनाउनुस्, सुरक्षाका लागि हामीले आफ्नो सबै संयन्त्रहरु खटाएका छौं । एकाध घटना घटेका छन्, संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउँछौं ।’

प्रकाशित मिति : १ कार्तिक २०७५, बिहीबार ०७:४६