सूचनाको शक्ति - The Power Of Information

        

सांसद बन्ने वामदेवको योजना ध्वस्त !

काठमाडौं । पार्टीभित्रैबाट असहयोग भएपछि वामदेव गौतमले काठमाडौं ७ बाट उपनिर्वाचनमार्फत सांसद बन्ने योजनाबाट पछाडि हटेका छन् । सामाजिक सञ्जाल र पार्टीभित्रै गौतमको आालोचना भएको थियो । गौतमका लागि काठमाडौं ७ का सांसद रामवीर मानन्धरले पदबाट राजीनामा दिने भनेर पत्रकार सम्मेलन नै गरेका थिए ।
मानन्धरले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गौतमका लागि पदबाट राजीनामा दिन तयार रहेको पत्र बुझाएका थिए । गौतमका लागि उपचुनावमार्फत संसदमा छिर्ने योजनाबाट पछि हटेका छन् । तीब्र आलोचना भएपछि आफू निकटका केही नेतासँगको परामर्शपछि गौतमले सांसद् बन्ने योजना तत्कालका लागि त्याग गरेका हुन् ।
पार्टी एकताको सुत्रधार आफू प्रतिनिधिसभामा नुहँदा संसद् र सरकारको काम प्रभावकारी बन्न नसकेको भन्दै गौतमले सांसद् प्रवेशलाई महत्व दिएका थिए । संसद् प्रवेश गर्ने गौतमको चाहनालाई पार्टीभित्रै धेरै नेताले शंकाको दृष्टिले हेरेका छन् । प्रतिनिधिसभा पुग्नका लागि गौतमले पार्टी सांसदलाई राजीनामा गराउने प्रयत्नमा धेरै अघिदेखि लागे पनि सफल भएका थिएनन् ।
काठमाडौं ७ का सांसद रामवीर मानन्धरले ठाउँ छाड्न तयार भएपछि गौतम निक्कै उत्साहित देखिएका थिए । बुधबारबाट भने उनी काठमाडौं ७ मा चुनाव लडने योजनाबाट हच्किएका छन् । गौतमले आफूविरुद्ध पार्टीभित्रै घेराबन्दी गर्ने खेल भएको भन्दै उपनिर्वाचनबाट सांसद बन्ने योजना त्याग गरेको स्रोतले जनाएको छ ।
गौतमले नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, नेता घनश्याम भुषाल लगायतसँगको परामर्शपछि चुनावबाट पछि हटने मनस्थिति बनाएका छन् । गौतमकी पत्नी तुलसा थापा गौतम भने काठमाडौं ७ का विषयमा पार्टी निर्णय कुरेर बसेको बताएकी छिन् ।
गौतम सुरक्षित स्थानको खोजी गर्दै बर्दिया २ का सन्तकुमार थारु, पूर्वी रुकुमकी कमला रोक्का, नवलपुर २ का तिलक महत, दैलेख १ का रवीन्द्रराज शर्मा, मुगुका गोपाल बम, दैलेखका राजबहादुर बुढा, सुर्खेतका नवराज राउत, डोल्पाका धनबहादुर बुढासँग कुरा गरेका थिए । उनीहरू कसैले पनि गौतमलाई विश्वास गरेनन् ।
गौतमका लागि अनुकुल निर्वाचन क्षेत्र खोज्न महासचिव विष्णु पौडेलले पनि सघाउने प्रयत्न गरेका थिए । महासचिव पौडेलले धनकुटाका राजेन्द्र राई र बाँके ३ का नन्दलाल रोकायासँग छलफल पनि गरेका थिए । बैतडीका दामोदर भण्डारी, कञ्चनपुर ३ का दीपकप्रकाश भट्ट, प्यूठानकी राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलसम्मलाई राजीनाको प्रयास भएको थियो । तर गौतमका लागि कुनै पनि सांसदले सहयोग गर्न तयार भएका थिएनन् ।

प्रकाशित मिति : २८ आश्विन २०७५, आइतवार ०१:०५