सूचनाको शक्ति - The Power Of Information

        

बाँकेका १७ गाउँ सुरक्षाको उच्च जोखिममा

बाँके । दशैं नजिकिएसँगै बाँकेका १७ गाउँ सुरक्षाका दृष्टिले उच्च जोखिममा देखिएका छन् । बाँके प्रहरीले चाडबाडका बेला जिल्लाको सुरक्षा अवस्था मजबुद पारेको दाबी गरे पनि यी गाउँ असुरक्षित रहेको स्थानीय बताउँछन् ।
जिल्लाको सुरक्षा मजबुद रहेको प्रहरीले दाबी गरे पनि राधापुर, बेलभार, जयसपुर, नरैनापुर, पुरैनी, लक्ष्मणपुर, कालफाँटा, वनकट्टी, चिसापानी, अगैया, कुसुम, शम्सेरगन्ज, खजुरा, सीतापुर, बैजापुर, विनौना, ढकेरीका साथै नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाका केही क्षेत्र चाडवाडको समयमा सुरक्षाका हिसाबले उच्च जोखिममा रहेका छन् ।
यी गाउँमा मात्रै नभई नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा चोरी डकैतीको बिगबिगीसमेत बढेको छ । चाडवाड नजिकिएको बेला यसरी बढेको चोरीडकैतीका कारण उपमहानगर क्षेत्रका नागरिकले पनि असुरक्षित महसुस गर्दै आइरहेका छन् । तर, नेपालगन्ज प्रहरीले अहिलेसम्म यस्ता काममा सक्रियहरूलाई नियन्त्रणमा लिई चोरी डकैती न्यूनीकरण गर्नेतर्फ वडा प्रहरीले ध्यान नदिएको नगरबासीहरुको भनाई रहेको छ ।
‘गणेशपुर र कारकाँदो क्षेत्रमा दिनहुँजसो चोरीका घटनाहरु भइरहेका छन्,’ गणेशपुरका स्थानीयबासी विजय गिरी भन्छन्, ‘प्रहरीको ध्यान भने घरेलु रक्सी पोख्ने कुरामै केन्द्रीत भएको छ ।’ नागरिकका घरहरु चोरी हुँदा रात्री गस्तीसमेत गर्न नसकेको गिरीको भनाई छ । केही महिनायता गणेशपुर र कारकाँदो क्षेत्रमा श्रृखलाबद्धरुपमा चोरीका घटनाहरु बढिरहँदा प्रहरी भने घरेलु मदिरा पोख्ने काममै व्यस्त छन् ।
अपराधिक क्रियाकलाप नियन्त्रणमा प्रहरी प्रशासन कमजोर देखिएको छ । चाडवाडको समयमा सुरक्षा व्यवस्था थप चुस्त बनाएको बताउने प्रहरी प्रशासनले अपराधिक क्रियाकलाप नियन्त्रण गरेर आम नागरिकलाई विश्वास दिलाउन नसकेको राधापुरका स्थानीय बताउँछन् । गएका दुई महिनामा बाँकेमा नौ वटा बलात्कारका घटना भए भने दुई वटा हत्याका घटना भएका छन् ।

नौ थान बलात्कारका उजुरीमा प्रहरीले अधिकांशलाई पक्राउ गरे पनि केही घटनाको अनुसन्धान जारी रहेको ‘रेडिमेड जवाफ’ प्रहरीले दिँदै आएको छ ।

नौ थान बलात्कारका उजुरीमा प्रहरीले अधिकांशलाई पक्राउ गरे पनि केही घटनाको अनुसन्धान जारी रहेको ‘रेडिमेड जवाफ’ प्रहरीले दिँदै आएको छ । कतिपय घटनामा प्रहरीले अहिलेसम्म अपराधीको नजिक पुग्न सकेको छैन । ‘हामी निरन्तर अनुसन्धानमा खटिएका छौं,’ जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख अरूण पौडेलले भने ‘बिगतमा पनि यस्ता घटना भएको भन्दै उनले सूक्ष्मरुपले अनुसन्धान गरिएको छ ।’
प्रहरीको चाडवाड लक्षित सुरक्षा योजना अध्ययन र अनुसन्धानमा मात्रै सिमित रहेको देखिएपछि उपमहानगरपालिकासहितका १७ गाउँका नागरिकले असुरक्षाको महसुस गर्दै आफ्नो सुरक्षामा आफैले तदारूकता देखाउनुपर्ने अवस्था आएको बताएका छन् । शुक्रबार राती मात्रै नेपालगन्जका थुप्रै घरमा चोरी भएको छ भने वडा प्रहरी कार्यालयले सुर्खेतरोडबाट दुई जनालाई हतियारसहित नियन्त्रणमा लिएको बताएको छ ।
यसले पनि चाडबाडसँगै आपराधिक गतिविधी बढिरहेको प्रष्ट पारेको स्थानीय बताउँछन् । बाँके प्रहरी प्रमुख अरूण पौडेलले जिल्ला भरमा सबै नागरिकले शान्त वातावरणमा चाडबाड मनाउन सकुन भनेर शहरदेखि गाउँसम्म रहेका प्रहरी चौकीमा कडा निर्देशनसहित सुरक्षाकर्मी खटाइसकेको बताएका छन् । उनले ढुक्क भएर चाडबाड मनाउन आम बाँकेबासीलाई आग्रह पनि गरेका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०७५, शनिबार १३:४५