सूचनाको शक्ति - The Power Of Information

        

तीनतारे होटल कल्पतरुको दादागिरी, ३३ जना कर्मचारीले दिए सामुहिक राजीनामा

बाँके । नेपालगन्जमा सञ्चालित तीनतारे होटल कल्पतरुमा कार्यरत ३३ जना कर्मचारीले सेवा सुविधा नपाएको भन्दै आन्दोलन थालेका छन् । श्रम ऐन अनुसार कर्मचारीहरुले पाउने सेवा सुविधा नपाएको भन्दै आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले दशैं तिहारमा छुट्टी नपाएको, दशैं बोनस, कर्मचारीलाई पोशाक तथा एप्रोन नभएको, नियुक्ति नदिएको भन्दै सामुहिक राजीनामा समेत दिएका छन् । राजिनामा दिएका केही कर्मचारीले गत महिनादेखि तलबसमेत नपाएको बताएका छन् । ‘सेवा सुविधा माग्दा होटल प्रशासनले धकेलेर बाहिर निकालिदिन्छ,’ चाइनिज सेफ ओम ढकालले भने, ‘काम गर्ने वातावरण नै छैन । कसरी काम गर्नु ?’ तीन तारे होटलका रुपमा दर्ता भएको कल्पतरुले कुनै पनि मापदण्ड पुरा गरेको देखिँदैन । ‘अहिलेसम्म हामीलाई नियुक्तिसमेत दिएको छैन,’ नियुक्ति माग्दा घर गइहाल भन्ने जवाफ आउँछ । यस्तो अवस्थामा हाम्रो रोजगारीको ग्यारेन्टी नै नभएपछि काम गर्ने वातावरण नै छैन,’ सिनियर क्याप्टेन माया विकले भनिन् । होटलले कार्यरत कर्मचारीहरुलाई एक बर्षसम्म पनि नियुक्ति दिएको छैन । ‘भान्सामा काम गर्ने कमचारीहरुका लागि एप्रोन अनिवार्य भए पनि अहिलेसम्म होटलले दिएको छैन,’ इन्डियन सेफ पदम जोशीले भने, ‘हामीले सेवा सुविधा माग गर्दा होटल प्रशासनले निकालिदिने धम्की दिन्छ ।’ सरकारले तोकेको न्यूनतम ज्याला दिनुको साटो व्यवस्थापनले एक जना कर्मचारीलाई निकालिदिएको छ । सेवा सुविधाको माग गरेकै कारण कर्मचारी धिरेन्द्र ढकाललाई निकालेपछि अन्य कर्मचारीहरुले निकालिएका ढकाललाई पुनःबहाली गर्नुपर्ने मागसमेत गरेका छन् । सरकारले तोकेको न्यूनतम ज्यालाभन्दा निकै कम पारिश्रमिकमा काम गरिरहेको उनीहरुको भनाइ छ । बेकरी सेफ ढकालले भने, ‘हामीले धेरै सुविधा मागेकै छैनौं । नेपाल सरकारले दिएको न्यूनतम पारिश्रमिक र तीन तारे होटलले कर्मचारीलाई दिनपर्ने सुविधा पाउनुपर्छ भनेका छौं ।’ होटलका प्रबन्ध निर्देशक दिपु गुप्तासँग कर्मचारीहरुले राजीनामा बुझाएका छन् । आफ्ना मागहरु पुरा गर्न नसकेको भन्दै राजीनामा बुझाएको तन्दुरी सेफ प्रेम दमाईले जानकारी दिए । प्रबन्ध निर्देशक गुप्ताले भने यस विषयमा छलफल भइरहेको भन्दै कुनै प्रतिक्रिया दिएनन् । होटलका मार्केटिङ्ग म्यानेजर पुस्कर हमालले भने, ‘मजदुरसँगै छलफल गरेर समाधान खोज्ने प्रयास गरिरहेका छौं । उहाँहरुका माग जायज भए पनि पुरा गर्न सक्ने अवस्था भने छैन ।’ बोनस पाउनका लागि कम्तीमा ६ महिना काम गरेको हुनुपर्ने भन्दै हमालले नयाँ कर्मचारीलाई बोनस दिनै नमिल्ने बताए ।

प्रकाशित मिति : २७ आश्विन २०७५, शनिबार ०९:२३