सूचनाको शक्ति - The Power Of Information

        

दशैंको मौका छोपेर नेपालगन्जका बधशालामा बाख्रीको मासु विक्री

बाँके । तपाई दशैंमा मासु खाँदै हुनुहुन्छ ? होशियार हुनुहोस् । नेपालगन्जमा खसीको मासु भनेर बाख्रीको मासुको कारोबार बढ्दै गइरहेको छ । मासु व्यवसायीले दशैंको मौका छोपेर खसी देखाउने र बाख्री बध गरी मासु बिक्री गर्दै आइरहेको खुलासा भएको छ ।
नेपालगन्ज उपमहानगरको नेतृत्वमा शुक्रबार दिउँसो गरिएको मासु तथा मिठाई पसलमा अनुगमनका क्रममा उपभोक्ताको स्वाथ्यमाथी खेलवाड हुने गरी खसीको मासुको सट्टा बाख्रीको मासु बेचेको भेटिएको हो ।
उपभोक्ता हित संरक्षण समिति संयोजक एवं कार्यवाहक नगर प्रमुख उमा थापामगर नेतृत्वको टोलीले मासु र मिठाई गरि एक दर्जन पसलमा अनुगमन गर्दाको क्रममा खसीको मासु भनेर वाख्राको मासु बेचेको पाइएको छ ।
रामलीला मैदान नजिकको मासुमण्डीको अनुगमनमा खुला रुपमै खसीको भनेर बाख्राको मासु बचेको फेला परेको हो । पसल स्वीकृतको कागज समेत नराखेका आसिम कुरेसीको पसलबाट ६ केजी बाख्राको मासु जफत गरि नष्ट गरिएको छ ।
अन्य मासु पसलमा समेत फोहर देखिएको, फ्रिजमा जथाभावी मासु कोचिएको, मासु काटने ठाउँमै दर्जनौंको संख्यामा खसी बोका हुलेर राखिएको पाइएको उपमहानगरपालिकाका निरिक्षण शाखाका प्रमुख पवन कनोजियाले जानकारी दिए ।
धम्वोझीस्थित केही मिठाई पसलमा गरिएको अनुगमनमा मिठाई बनाउने स्थानमा फोहर देखिएको, अनावश्यमक रंंग प्रयोग गरिएको र आवश्यक कागजात नराखेको पाइएको छ । सबै किसिमका मापदण्ड पूरा गरेर उपभोक्ताको अधिकारलाई ध्यान राखेर मात्र व्यवसाय गर्ने निर्देशन गरिएको उपप्रमुख एवं अनुगमन टोली संयोजक थापामगरले बताइन् ।
अनुगमनको पहिलो चरणमा सचेतनासहित अभियान थालिए पनि अब नियमित अनुगमनमा कमजोरी भेटिए कानूनी कारबाही गरिने उनको भनाइ थियो । अनुगमनमा उपमहानगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत शरद पौडेल, खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, वाणिज्य कार्यालय, गुणस्तरीय तथा नापतौल कार्यालयका एकराज बुढाथोकी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २७ आश्विन २०७५, शनिबार ०६:३४