सूचनाको शक्ति - The Power Of Information

        

बामदेवलाई सांसद बनाउन पाँच करोडको चलखेल, खुमलाटारमा तयार भयो रामवीरको राजीनामा

बाँके । नेकपाका नेता बामदेव गोतमलाई सांसद बनाउनका लागि पाँच करोडको चलखेल भएको खुलेको छ । गौतमका निकट मानिएका दीपक भट्टका अनुसार काठमाडौ क्षेत्र नं ७ का सांसद रामवीर मानन्धरलाई ५ करोड दिएपछि यहाँ बामदेवकालागि ठाउँ खालि गरिएको हो । गौतम निकट व्यक्तिहरूले मानन्धरलाई नगद ५ करोड दिएपछि मानन्धरले आफनो ठाउँमा गौतमलाई सांसद बनाउन सहयोग गरेको भट्टले बताएका छन् ।
स्रोतका अनुसार उक्त रकम मानन्धरले बुझिसकेका छन् र मानन्धर गौतमका लागि चुनावमा सहयोगीका रुपमा देखिँदैछन् । स्रोतले भन्यो, ‘ठूलै रकम आउने भएपछि पार्टीले पनि ठाउँ खाली गरिदिन दबाब दिएपछि मानन्धरले उक्त ठाउँ खाली गरेका हुन् ।’ यसका साथै नेकपा सांसद रामवीरको राजीनामा पत्र प्रचण्ड निवास खुमलटारमा तयार भएको खुलेको छ ।
असोज २२ गते विहान नेकपा सचिवालयको बैठक बस्नु केहीबेर अघिसम्म अध्यक्ष तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओली र महासचिव विष्णु पौडेललाई समेत आफ्नै सांसदको राजीनामाबारे कुनै जानकारी थिएन । जब प्रचण्डको हातबाट ओलीले रामवीरको पत्र पाए, त्यसबाट नेकपाका शीर्ष नेताहरुबीच नै अविश्वासको शुरुवात समेत भयो । २१ राति आफ्नो निवासमा रामवीरले सही गरेको पत्र प्रचण्डले २२ गते विहान बालुवाटारमा अर्का अध्यक्ष ओली र महासचिव पौडेललाई देखाएका थिए ।
आफू निकट सांसद रामवीरको राजीनामापत्र प्रचण्डबाट पाउँदा ओली आश्चर्यमा परेको स्रोतले जनाएको छ । वामदेवको सांसद बन्ने चाहना बुझेका र अनुकुल अवस्था पर्खिनुस् भनिरहेका महासचिव विष्णु पौडेलका लागि पनि रामवीरको राजीनामा सरप्राइज नै थियो । प्रचण्ड र वामदेवबाहेक पार्टीका अन्य नेताहरुलाई जानकारी नदिई र परामर्श समेत नगरी रामवीरलाई राजीनामा गराउने कुराले पार्टीमा अविश्वास सिर्जना भएको एक सचिवालय सदस्यले बताए ।
प्रचण्डमार्फत आएको रामवीरको राजीनामाको जानकारी सचिवालयमा जानकारी गराउनुबाहेक अन्य कुनै छलफल नभएको नेताहरुले बताए । नेकपा स्रोतका अनुसार वामदेवका लागि रामवीरको राजीनामा गर्न तयार रहेको सम्बन्धी पत्रको व्यहोरा २१ गते राति अवेर प्रचण्ड निवास खुमलाटारमा तयार भएको थियो । पत्र रामवीरले लेखेका होइनन् । त्यसपछि पार्टी एकताको बेला उनले आफ्नै निर्वाचन क्षेत्रबाट प्रदेशसभा सदस्य जितेका बसन्त मानन्धरलाई केन्द्रीय सदस्य नबनाउन पार्टीमा लबिङ गरेका थिए ।
रामवीर आफैं केन्द्रीय सदस्यका दाबेदार थिए । तर, बसन्त केन्द्रीय सदस्य बन्दा रामवीर परेनन् । ओलीसँग मोहभंग हुनुमा दोस्रो कारण थियो यो । मन्त्री र केन्द्रीय सदस्य बन्न नपाए पनि ओलीले संसदीय समितिको सभापतिसम्म बनाउँछन् भन्ने रामवीरको आशा थियो । अघिल्लो पटक संसदीय समितिमा हुँदा आयल निगमको जग्गा काण्ड छानविनमा भूमिका खेलेका रामवीरले सभापति पनि नपाएपछि सार्वजनिकरुपमै ‘अब ओलीको काम छैन’ भन्न थाले ।
उनले आफू निकट केही नेता कार्यकर्तासँग ‘अब ओलीबाट केही हुँदैन, प्रचण्डतिर लाग्नुपर्छ’ भनेका थिए । उनले सांसदबाट राजीनामा दिने घोषणा गरिरहँदा अब ओलीलाई प्रधानमन्त्रीबाट हटाएर वामदेवलाई बनाउनुपर्छ भनेपछि नेकपामा रामवीर कार्ड कसरी प्रयोग हुँदैछ भन्ने आशंकाले आकार लियो । तर, रामवीरकै कारण वामदेवको सांसद बन्ने बाटो नै बन्द हुने अवस्थामा पुगेको टिप्पणी पनि नेकपा नेताहरुले गरेका छन् ।
‘जननिर्वाचित सांसदको राजीनामाजस्तो कुरामा पार्टीका सबै नेताहरुसँग परामर्श नगरिनु र स्वयं प्रधानमन्त्रीलाई जानकारीसमेत नदिनु आफैंमा अपारदर्शी मात्र होइन, अविश्वासको कारक पनि हो । यो स्वयं रामवीरको अनुशासनको विषय पनि हो,’ नेकपाका एक वरिष्ठ नेताले भने, ‘उनले राजीनामाको जानकारी प्रचण्डलाई होइन ओलीलाई पहिले दिनुपर्ने हो ।’ वामदेवका लागि रामवीरले छाड्ने भनेर पत्रकार सम्मेलन गरेपछि काठमाडौं–७ मा उपचुनाव हुने सम्भावना बढेको छ ।
बुधबारका मिडियामा आएका समाचार, विचार र सामाजिक सञ्जालमा वामदेव विरुद्धको जनमतले नेकपा नेतृत्व संकटमा परेको छ । ओली र प्रचण्डले वामदेव हार्ने अवस्थामा चुनावमा जान नहुने पक्षमा देखिएका छन् । बुधबार विहानै काठमाडौं ७ को क र ख निर्वाचन क्षेत्रबाट निर्वाचित नेकपाका प्रदेशसभा सदस्यद्वय बसन्त मानन्धर र प्रकाश श्रेष्ठले प्रधानमन्त्री ओली लगायतका नेतालाई भेटेका थिए ।
स्रोतका अनुसार उनीहरुले यो माहौलमा बामदेवलाई चुनाव जिताउन नसकिने र रामवीरको बार्गेनिङले पार्टी कार्यकर्ता आक्रोशित भएको भन्दै कारवाहीको माग गरेका छन् । उनीहरुले बामदेवलाई अनुकुल अवस्था नरहेको बताएका छन् । नेकपा केन्द्रीय सदस्य सूर्य थापाले अनुशासन उल्लंघन गरेर जथाभावी बोल्दै हिडेको र दलको नेतालाई जानकारी नदिई राजीनामा दिएकाले उनीमाथि कारबाही हुनुपर्ने बताएका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०७५, बिहीबार ०७:४१