बाँके । बाँकेको राप्तीसोनारी–१ कुसुममा विजुली बलेपछि स्थानीयमा खुशीयाली छाएको छ । ३२ बर्षदेखिको विजुली बाल्ने सपना पुरा भएपछि स्थानीयहरु खुशी भएका छन् । २०४३ सालदेखि घरको आँगन हुँदै राष्ट्रिय प्रशारण लाइन जोडिएपछि बत्ती बाल्ने आशा गरेका स्थानीयहरुको सपना पुरा भएसँगै खुशी भएका हुन् ।
सुगम जिल्लाको बिकट क्षेत्रका रुपमा रहेको कुसुममा ग्रामीण विद्युतीकरण अन्तरगत विद्युत विस्तारसँगै विजुली बलेपछि स्थानीयहरु उत्साहित भएका छन् । सामुदायिक ग्रामीण विद्युतीकरण अन्तरगत राप्तीसोनारी गाउँपालिकाको खासकुश्मा कुसुममा स्थापना गरिएको सवस्टेशनबाट प्रशारण लाइन तानेर बत्ती बालिएको संस्थाका अध्यक्ष तेजबहादुर सुवेदी बताए ।
सो प्रशारण लाइनको मंगलबार केन्द्रीय सरकारका सिंचाई, जलस्रोत तथा उर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ले उद्घाटन गरेसँगै यस क्षेत्रका स्थानीयले विजुली बत्ती बाल्न पाएका छन् । राप्तीसोनारी गाउँपालिका–१, कुसुमका यमबहादुर खड्काले विजुली बलेपछि खुशी व्यक्त गर्दै भने, ‘विजुली आएपछि अब अरु सम्भावनाका ढोकाहरु खुलेका छन् । यहाँ उद्योगहरु आउने आशा गरेका छौं ।’
कुसुमसँगै राप्तीसोनारी गाउँपालिकाका सबै वडामा दुई महिनाभित्र बिजुली बल्ने सम्भावना पनि बढेको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले कुसुमबासीहरुसँग दुई महिनाभित्र सबै वडामा विजुली बल्ने प्रतिवद्धता गरेसँगै स्थानीयहरु विद्युत विस्तारका काममा हौसिएका छन् । स्थानीय पदमराज वलीले भने, ‘कार्यकारी निर्देशकले नै प्रतिवद्धता जनाउनु भएको छ । यसमा हाम्रो पनि साथ र सहयोग रहनेछ ।’
राप्तीपारीका सबै क्षेत्रलाई विद्युतीकरणसँग जोड्ने अभियान अन्तरगत पहिलो चरणमा खासकुश्माको कुसुममा सवस्टेशन स्थापना गरेर बत्ती बालिएको छ । कुसुममा पहिलो पटक बत्ती बलेपछि स्थानीय चुर्णबहादुर कुमालले खुशी व्यक्त गर्दै भने, ‘अब रातको अन्धकार हटेसँगै अरु विकास पनि आउने आशा गरेका छौं । सिँचाई नभएको जमीनलाई पनि अब बोरिङ्ग गाडेर सिँचाई गर्न सहज हुनेछ ।’
दशैं नजिकिँएसँगै लामो समयदेखिको पर्खाइपछि घरघरमा विजुली बाल्न पाएकोमा कुसुमबासी हर्षित छन् । यसअघि यस क्षेत्रका साासदहरूले राप्तीसोनारी गाउँपालिकामा दशैंअघि नै विजुली बाल्ने प्रतिबद्धता जनाएका थिए । प्राविधिक कारणले सबै वडामा बाल्न नसकिए पनि केही स्थानमा बत्ती बाल्न सफल भएको संघीय सांसद महेश्वरजंग गहतराज अथकले बताए । उनले भने, ‘अब छिट्टै सबै वडामा विजुली बाल्न हामी लागिपरेका छौं ।’
२०७० कार्तिक २५ मा नेपाल विद्युत प्राधिकरण र सामुदायिक विद्युत वितरण केन्द्रबीच सम्झौता भई २०७१ साल असारमा काम सुरु भएको भए पनि ठेकेदारको लापरबाहीका कारण झण्डै ४ बर्ष ढिला भएको नेपाल विद्युत प्राधिकरण क्षेत्रीय प्रमुख मनोजकुमार सिंहले जानकारी दिए । उक्त योजनामा प्राधिकरणको ९० प्रतिशत र स्थानीयको १० प्रतिशत लगानी रहेको छ । रु.६ करोड ३० लाख ४७ हजार २८२ लागत रहेको यो योजनाबाट कुसुमका २ हजार ८२५ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् ।
कुसुम क्षेत्रका सबै गाउँ र घरमा विद्युत विस्तारको काम चलिरहेको नेपाल विद्युत प्राधिकरण कोहलपुर बितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले बताए । उनले भन्नुभयो, ‘अहिले कुसुमका ३० प्रतिशत स्थानीयको घरमा बिजुलीको पहुँच पुगेको । केही समयमै सबै घरधुरीमा विजुली बल्छ ।’ राप्तीपारिका वडाहरूमा तत्काल विद्युत सञ्चालनका लागि मातहतका सबै निकायलाई मन्त्री पुनले निर्देशनसमेत दिइसकेका छन् ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि ग्रामीण क्षेत्रमा विद्युत वितरणको समस्या समाधानका लागि आफू लागिपरेको बताउँदै सबै क्षेत्रमा विद्युत विस्तार गरिने आश्वासन दिए । राप्तीसोनारी गाउँपालिका एक कुसुम क्षेत्रमा १३ वटा ट्रान्सफर्मर जडान गरिएकोमा नौ वटालाई चार्ज गरी सकिएको छ । निरन्तरको पहलपछि सफल नतिजा निस्किएको भन्दै यस क्षेत्रका सांसद तथा नागरिकहरु खुशी भएका छन् ।
।