सूचनाको शक्ति - The Power Of Information

        

रेलको गति प्रतिघण्टा १० किलोमिटर !

धनुषा । भारतको झारखण्डबाट ब्लास्ट (रेल्वे लिकमा प्रयोग हुने गिट्टी)सहित रेल आज जनकपुर आइपुगेको छ । आज अपराह्न ब्लास्ट बोकेको ५३ र्याकसहित रेल जनकपुर आइपुगेको हो । रेल तथा मेट्रो विकास आयोजना साइट कार्यालय जनकपुरका प्रमुख इञ्जिनियर विनोदकुमार ओझाले तयारी अवस्थामा रहेको लिकभित्र राख्न ब्लास्ट भारत पाखौर झारखण्डबाट मालवाहक रेलमा ल्याइएको बताए ।
प्रतिघण्टा १० किलोमिटरको गतिमा आएको मालवाहक रेलको र्याकमा लोड गरिएको ब्लास्ट मजदुरले लिकमा झार्दै आएका हुन् । भारत सरकारको सहयोगमा निर्माणाधीन कर्था–जनकपुर–जयनगर रेल्वेअन्तर्गत जयनगरबाट जनकपुरसम्म मालवाहक रेल आएको हो । यसअघि लिक परीक्षणका लागि टोम्पिङ चलाइएको थियो । निर्माणाधीन अवस्थामा रहेको लिकबाट पहिलो पटक ५३र्याकसहितको रेल्वे जनकपुर आएको हो ।
कुर्थासम्म रेल्वे सञ्चालनका लागि तीन हल्ट र पाँच स्टेशन निर्माणको अन्तिम चरणमा छ । स्टेशन भवन, आवास निर्माण अन्तिम अवस्थामा छ । यात्रुवाहक रेल गुडाउन जयनगर (भारत) बर्दिवास ब्रोडगेज (६९ किलोमिटर) सञ्चालनका लागि काम भइरहँदा जयनगर–जनकपुर रेल लिकलाई बुधबार दिउँसो मालवाहक रेल गुडाएर ‘फाइनल टच’का लागि तयारी शुरु गरिएको प्राविधिक बताउँछन् ।
भारतीय निर्माण कम्पनी इरकोन इन्टरनेशनलले ब्रोडगेज रेल सञ्चालनका लागि लिक बनाएको हो । यसअघि जयनगर–जनकपुर–बिजुलपुरा (५२ किलोमिटर) मा सञ्चालित न्यारोगेज रेलमा २० देखि २५ किलोमिटर प्रतिघण्टाको गति थियो । ब्रोडगेज रेल सञ्चालनमा आएपछि जयनगरदेखि कुर्थासम्मको ३५ किलोमिटरको दूरी आधा घण्टामा पूरा हुनेछ ।

प्रकाशित मिति : २४ आश्विन २०७५, बुधबार १५:३५