सूचनाको शक्ति - The Power Of Information

        

उपयोगहीन जग्गा सदुपयोग, सामुदायिक सभाहल निर्माण गरिँदै

बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ ले मुक्तिपुरमा रहेको उपयोगविहीन ऐलानी जग्गाको सदुपयोग गर्ने भएको छ । उक्त उपयोगविहीन जग्गामा वडाले सामुदायिक सभाहलको निर्माण गर्ने भएको छ । दशैंलगत्तै निर्माण शुरु गरिने उक्त सभाहलको बुधबार शिलान्यास गरिएको छ ।
उपमहानगरपालिका वडा न १२ मुक्तिपुर वीपीमार्गस्थित उपयोगविहीन ऐलानी जग्गालाई संरक्षण गर्दै सभा हल बनाउन लागिएको वडाअध्यक्ष बुद्धिसागर सुवेदीले जानकारी दिए । अध्यक्ष सुवेदीको नेतृत्व तथा स्थानीय व्यक्तिहरुको सक्रियतामा कान्छीताल भन्ने गरिएको ३ कठ्ठा खाल्डोलाई पुरेर सभा हल निर्माण प्रक्रिया शुरु गरिएको हो ।
उपमहानगरपालिका कार्यालय संरक्षक रहने भुई तलामा सामुदायिक सभाहल, दोस्रो तला वडा कार्यालय समेत रहने गरि ३ तले भुकुम्प प्रतिरोधी भवन बनाइन लागिएको उनले बताए । वडा कार्यालयको ३५ लाख लगानीमा उपभोक्ता समितीमार्फत निर्माण कार्य बढाइन लागिएको छ । उपभोक्ता समितीका अध्यक्ष जनकराम भण्डारीका अनुसार दशैं लगत्तै निर्माण कार्य शुरु गरेर चैत्र मसान्तसम्म सभाहल निर्माण गरिनेछ ।

प्रकाशित मिति : २४ आश्विन २०७५, बुधबार १२:२२