सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज क्षेत्रमा विद्युत् आपूर्तिको समस्या सुल्झिँदै

फाइल तस्वीर


बाँके ।
नेपाल विद्युत् प्राधिकरणले पश्चिम नेपालको व्यापारिक केन्द्र नेपालगन्ज क्षेत्रमा भइरहेको विद्युत् आपूर्तिको समस्या समाधान गर्न पहल शुरु गरेको छ । प्राधिकरणले विद्युत् आपूर्तिमा सुधार गरी विश्वसनीय बनाउन बाँकेको कोहलपुर सवस्टेसनको स्तरोन्नतिको काम शुरु गरेको जनाएको छ ।
प्राधिकरणले त्यसका लागि सवस्टेसनमा ६३ एमभिएको नयाँ ट्रान्सफर्मर जडान गर्ने भएको छ । हाल सो सवस्टशेनमा ३०/३० एमभिएका दुईवटा ट्रान्सफर्मर सञ्चालनमा छन् । त्यहाँ ६३ एमभिएको नयाँ ट्रान्सफर्मर आएपछि एउटा निकालिने छ । नयाँ ट्रान्सफर्मर जडानपछि सवस्टेसनको क्षमता ९३ एमभिए पुग्ने र त्यसबाट विद्युत् आपूर्ति सहज तथा सो क्षेत्रमा देखिएको भोल्टेजको समस्या समाधान हुनेछ ।
ट्रान्सफर्मर खरिदका लागि टेण्डर आह्वान गरी उत्पादक तथा आपूर्तिकर्ता कम्पनी छनोट भइसकेको छ । कम्पनीले ट्रान्सफर्मरलाई नेपाल ल्याएर जडान गर्न बाँकी छ । नेपालगन्ज क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या रहेको गुनासो बढेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सो क्षेत्रमा रहेको विद्युत प्रसारण तथा वितरण प्रणालीलाई स्तरोन्नति गरी समस्या समाधान गर्न प्राधिकरणलाई निर्देशन दिए ।
‘नेपालगन्जमा अघोषित विद्युत्भार कटौती भइरहेको गुनासो आएको छ, छिनछिनमा बत्ती जाने समस्या रहेछ, समस्या समाधान गरी उपभोक्तालाई विश्वसनीय सेवा दिनुपर्छ,’ मन्त्री पुनले भने । नेपालगन्ज क्षेत्रमा भारत र नेपालतर्फका ग्रिडबाट विद्युत् आपूर्ति गर्नुपर्ने भएकाले स्विचिङको समस्या छ । नेपालगन्जमा मात्रै करीब २४ मेगाबाट विद्युत् माग छ । कोहलपुर क्षेत्रमा करीब १५ मेगावाट विद्युत माग छ ।
भारतबाट विद्युत् आयात गर्दा कमजोर प्रसारण लाइनका कारण समस्या उत्पन्न भएको हो । भारतबाट ३३ केभी क्षमतामा मात्रै विद्युत् आयात भइरहेको छ । सोही कारण कम भोल्टेजले गर्दा स्तरीय विद्युत आपूर्ति हुनसकेको छैन । कमजोर संरचनाका कारण विद्युत्को प्राविधिक चुहावटलाई पनि बढाएको छ । भारतको मानपाराबाट करीब ११ मेगावाट विद्युत् आयात गरी नेपालगन्ज क्षेत्रमा आपूर्ति गरिएको छ ।
नेपालगन्ज क्षेत्रमा भारतको मानपारा तथा टनकपुर र नेपालतर्फको अत्तरियाबाट चमेलिया, लमहीबाट कालीगण्डकी विद्युत् केन्द्रबाट विद्युत् आपूर्ति भइरहेको छ । सवस्टशेन लगायत अन्य संरचनाका कारण नियमित विद्युत् आपूर्तिमा समस्या भइरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कोहलपुर सवस्टेसनको स्तरोन्नतिपछि नेपालगन्ज आसपास क्षेत्रमा विद्युत् आपूर्तिमा भइरहेको समस्या समाधान हुने बताए ।
‘विद्युतभार कटौतीको अन्त्यपछि विद्युत् आपूर्तिमा केन्द्रित भएका छौँं, नेपालगन्ज क्षेत्रको विद्युत् आपूर्तिको समस्यालाई समाधान गर्न गम्भीर भएर लागिपरेका छौँं,’ उनले भने, ‘सवस्टेसनको स्तरोन्नति, वितरण प्रणाली सुधार गर्ने लगायतका काम समानान्तररुपमा अगाडि बढेकोले समस्या छिट्टै समाधान हुन्छ ।’ प्राधिकरणले मङ्गलबार नेपालगन्ज आसपासका क्षेत्रमा कार्यरत प्राधिकरणका सबै वितरण केन्द्रका प्रमुख तथा प्रतिनिधिलाई बोलाएर स्थानीय क्षेत्रमा रहेको समस्या समाधानका लागि आवश्यक परामर्श गरेको छ ।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुन, प्राधिकरण सञ्चालक समितिका अध्यक्ष एवं ऊर्जा सचिव अनुपकुमार उपाध्याय लगायतले सो क्षेत्रमा रहेका समस्या समाधानका लागि आवश्यक निर्देशन दिएका थिए । प्राधिकरणले मङ्गलबार मात्रै सो क्षेत्रमा कार्यरत कर्मचारीसँग कार्यसम्पादन करार सम्झौता गरेको थियो । उक्त क्षेत्रमा भोल्टेजका कारण समस्या बढेको र विद्युत् आपूर्तिमा जटिलता देखिएकाले स्थानीयवासीले समस्या समाधान गर्न आग्रह गर्दै आएका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०७५, बुधबार १०:४६