सूचनाको शक्ति - The Power Of Information

        

दुई महिनामा सबै वडामा विजुली बल्छ : मन्त्री पुन

बाँके । बाँकेको राप्तीसोनारीस्थित कुसुमका स्थानीयको ३२ बर्षअघिको विजुली बाल्ने सपना मंगलबार पुरा भएको छ । २०४२/०४३ सालदेखि घर अगाडिदेखि नै विद्युतको राष्ट्रिय प्रशारणको लाइन तानेको भए पनि उनीहरुको विजुली बाल्ने इच्छा अहिलेसम्म पुरा हुन सकेको थिएन । सुगम जिल्लाको बिकट क्षेत्रका रुपमा रहेको कुसुममा ग्रामीण विद्युतीकरण अन्तरगत विद्युत विस्तार गरिएको छ ।
सामुदायिक ग्रामीण विद्युतीकरण अन्तरगत राप्तीसोनारी गाउँपालिकाको खासकुश्मा कुसुममा स्थापना गरिएको सवस्टेशनको मंगलबार केन्द्रीय सरकारका सिंचाई तथा जलस्रोत मन्त्री वर्षमान पुन ‘अनन्त’ले उद्घाटन गरेसँगै यस क्षेत्रका स्थानीयले विजुली प्रयोग गर्न पाएका हुन् । उद्घाटन कार्यक्रममा मन्त्री पुनले कुसुम क्षेत्रमा मात्रै होइन राप्तीसोनारी गाउँपालिकाका सबै वडामा दुई महिनाभित्र बिजुली बल्ने बताएका छन् ।
राप्तीपारीका सबै क्षेत्रलाई विद्युतीकरणसँग जोड्ने अभियान अन्तर्गत पहिलो चरणमा खासकुश्माको कुसुममा सवस्टेशन स्थापना गरिएको थियो । यहाँ विजुली बाल्ने लामो प्रयासपछि मंगलबार खासकुश्मामा पहिलो पटक बत्ती बलेको हो । यसअघि विद्युतीकरण कार्यक्रमको पूर्वसन्ध्यामा गएको आइतबार कुसुम बजारमा बत्ती बालेर परिक्षण गरिएको थियो । राप्तीपारिका बिभिन्न क्षेत्रमा विद्युत विस्तारका लागि अहिले पनि प्रयास चलिरहेको छ । लामो समयदेखिको पर्खाईको पछि मंगलबारदेखि घरघरमा विजुली बाल्न पाएका यहाँका स्थानीय हर्षित भएका छन् । राप्तीसोनारी गाउँपालिकामा दशैंअघि नै सबै गाउँमा विजुली बाल्ने यसअघि यस क्षेत्रका साासदहरूले प्रतिबद्धता जनाएका थिए । सामुदायिक बिद्युतीकरण संस्थाको माध्यामबाट बितरणका लागि बिस २०६३ बाट पहल भएको कुसुममा बिद्युत बाल्न पाएपछि खुशीको सीमा नै नरहेको सामुदायिक विद्युतीकरण सहकारी संस्थाका अध्यक्ष तेजबहादुर सुवेदी बताउँछन् ।
२०७० कार्तिक २५ मा नेपाल बिद्युत प्राधिकरण र सामुदायिक बिद्युत बितरण केन्द्रबीच सम्झौता भई २०७१ साल असार २ मा काम सुरु भई २०७२ असारमा सम्पन्न हुनुपर्ने उक्त योजना ठेकेदारको लापरबाहीका कारण झण्डै ४ बर्ष ढिला भएको नेपाल विद्युत प्राधिकरण क्षेत्रीय प्रमुख मनोजकुमार सिंहले जानकारी दिए । उक्त योजनामा प्राधिकरणको ९० प्रतिशत र स्थानीयको १० प्रतिशत लगानी रहेको उनले बताए । यस योजनाको बजेट ६ करोड ३० लाख ४७ हजार २८२ रहेको उनले जानकारी दिए ।कुसुममा २ हजार ८२५ घरधुरी रहेको कुसुम क्षेत्रका सबै गाउँ र घरमा विद्युत विस्तारको काम पनि मंगलबारदेखि नै शुरू गरिएको प्राधिकरणको कोहलपुर बितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले बताए । राप्तीपारीका वडाहरूमा तत्काल विद्युत सञ्चालनका लागि मातहतका सबै निकायलाई मन्त्री पुनले निर्देशनसमेत दिए । मन्त्री पुनले राप्तीपारि विद्युत सञ्चालनका लागि देखिएको रूख काट्ने समस्यालाई पनि तत्काल समाधन गरिने आश्वासन दिएका छन् ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ग्रामीण क्षेत्रमा विद्युत वितरणको समस्या समाधानका लागि आफू लागिपरेको बताए । अहिले राप्ती सोनारी एक कुसुमका ३० प्रतिशत स्थानीयको घरमा बिजुलीको पहुँच पुगेको बताउँदै उनले केही समयमै सबै घरधुरीमा बत्ति विस्तार गरिने आश्वासन दिए । राप्तीसोनारी गाउँपालिका एक कुसुम क्षेत्रमा १३ वटा ट्रान्सफर्मर जडान गरिएकोमा नौ वटालाई चार्ज गरी सकिएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७५, मंगलवार १५:२३