सूचनाको शक्ति - The Power Of Information

        

घरेलु उत्पादनमा दर्शकको चासो, स्थानीय महमा आकर्षण


रेनुका गिरी । बुटवल । घरेलु उत्पादनलाई प्रवर्धन गर्न महोत्सव उत्कृष्ट माध्यम बनेको छ । बुटवलमा लागेको राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेलामा घरेलु उत्पादनमा दर्शकको चासो बढेको छ । महोत्सवमा देखिएका विभिन्न स्टलहरुमध्ये कैलाश पर्वत मौरीपालन स्टलले दर्शकको चासो बढाएको छ ।
मह भन्ने वित्तिकै धेरैको ध्यान डाबर, पतञ्जली जस्ता ब्राण्डमा जान्छ । तर महोत्सवमा नवलपरासी सुनवल १३ बडेराले उत्पादन गरेका कैलाश पर्वत मौरीपालनमा धेरैले चासो दिन थालेका छन् । महोत्सवको स्टलमा कैलाशले उत्पादन गरेका महलाई बिक्रीका लागि राखिएको छ । महका लागि नेपालको तराई, पहाडी क्षेत्र राम्रो मानिन्छ ।
स्वास्थ्यका लागि राम्रो मानिने मह पुजापाठमा पनि प्रयोग गरिने भएकाले महको माग बढ्दो छ । महोत्सवमा हेर्न आएका मानिसले घरमा उत्पादन गरेका मह धेरै मन पराउने गरेको कैलास पर्वत मौरीपालनकी मेनुका खरेलले बताइन् । महोत्सवमा बिभिन्न साईजमा मह प्याकिङ्ग गरी राखिएको छ । स्टलमा चिउरीबारी, तोरीबारी, सूर्यमुखी मह बिक्रीका लागि राखिएको छ । उनले मेला सुरु भएको तीन दिनसम्म राम्रै बिक्री भएको बताइन् ।
‘पहिला मह भन्ने बित्तिकै विदेशी उत्पादनका कम्पनीका उत्पादनलाई धेरैले मन पराउने गरेको अनुभव सुनाउँदै अहिले हामीलाई माग अनुसारको पुर्याउन गाह्रो भएको छ,’ उनले भनिन् । मेलामा औद्योगिक उत्पादन, कृषि उत्पादन, अटोमोवाइल्स, गार्मेट, खाद्यान्न, फूटवेयर लगायतका विभिन्न प्याभिलियन बनाइएको छ भने दशैं सस्तो बजारको लागि छुट्टै प्याभिलियन बनाइएको छ । असौज १९ गतेबाट सुरु भएको औद्योगिक प्रर्दशनी २८ गते सम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : २३ आश्विन २०७५, मंगलवार १२:४५