सूचनाको शक्ति - The Power Of Information

        

सात बर्षिय बालकले आमालाई दागबत्ती दिएपछि मलामीहरुका आँखा रसाए…

बाँके । सात बर्षका अवोध बालक विपिन बिसीले आमा आमाको पार्थिव शरीर राखिएको चित्तामा दागबत्ती दिए । विपिनसँगै मलामी गएका सबैले दागबत्ती दिए । दागबत्ती दिएपछि माथिल्लो डिलमा उक्लिए, अनि बल्दै गरेको चित्तातर्फ एकहोरो हेरिरहे ।
बाँकेको खजुरा गाउँपालिका–४ ईगाउँको किरणनाला घाटमा विपिनलाई देखेर सोमबार विहान मलामी गएका सबैका आँखा रसाए । विपिनले दागबत्ती दिँदा भावुक भएर हेरिरहेका मलामीलाई उनले आगो दन्किरहेको चित्तामा जब एकहोरो भएर हेरे, अनि झनै भावुक हुँदै मलामीहरुका आँखामा आँसुहरु भरिए ।
पत्नीको मृत्युले भावविह्वल बनेका लक्ष्मीका पति नरेन्द्र विसीले छोरालाई अंगालो हालेर रोएको दृश्यले मलामीहरुलाई समेत रुवायो । तर लक्ष्मीका पति नरेन्द्रले आफूलाई सम्हाल्दै छोरालाई सान्त्वना दिन पुगे । पत्नी वियोगले आफै सम्हालिन धौधौ भइरहेका बेला नावालक छोराको भावुकता देखेर उनी मनलाई कठोर बनाएर सम्हालिए ।
३७ बर्षिया लक्ष्मी विसीको आइतबार राती भेरी अञ्चल अस्पतालमा निधन भएसँगै सात बर्षिय विपिन मातृ वियोगको पीडालाई अन्जानमै व्यक्त गरिरहेका छन् । त्यसो त उनका एक दिदी र एक दाजु छन् । उनी लक्ष्मीका कान्छा छोरा हुन् । अवोध उनी आमाको मृत्युबारे त्यति जानकार छैनन् । तर आमा चितामा जलिरहँदा एकहोरो हेरिरहेका उनले के सोचे, त्यो उनलाई मात्र थाहा छ ।
पत्थरीको शल्यक्रिया गर्नका लागि अस्पताल भर्ना भएकी लक्ष्मीलाई पछि चिकित्सकहरुले क्यान्सरको आशंका गरे । भेरी अञ्चल अस्पताल हुँदै लखनउ तथा राजधानी र भरतपुरको क्यान्सर अस्पतालमा उपचारका लागि लगिएकोमा केही दिनअघि मात्रै घर ल्याइएको थियो ।
लक्ष्मीले स्थानीय मिलीजुली कृषक बहुउद्देश्यीय सहकारी संस्थाको संचालक सदस्य, महिला तथा बालबालिका संरक्षण केन्द्रको उपाध्यक्षको रुपमा सामाजिक क्षेत्रमा समेत सक्रिय रहेको स्थानीय मनकामना नेपाल राष्ट्रिय आधारभूत विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष देवराम विसीले बताए ।

प्रकाशित मिति : २२ आश्विन २०७५, सोमबार १३:२६