सूचनाको शक्ति - The Power Of Information

        

करबारे साझा धारणा बनाउँदै खजुरा गाउँपालिका

बाँके । खजुरा गाउँपालिका क्षेत्रभित्र करबारे साझा धारणा आउन थालेको छ । खजुरा गाउँपालिकाका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक अगुवा, विज्ञ समूहका सदस्यलगायत वीच नेपालगन्जमा भएको दुई दिने सम्पत्ती करसम्बन्धी अभिमुखीकरणपछि यस्तो धारणा बाहिर आएको हो ।
अभिमुखीकरणले गाउँपालिकाले लगाउने करबारे रहेको भ्रमहरु समेत चिरिएको र अब लगाउने सम्पत्ति करबारे पनि साझा धारणा बनेको सहभागीले बताएका छन् । दुई दिने प्रशिक्षणका क्रममा सहभागीले आफुहरुले खजुरा क्षेत्रका करदातालाई सम्पत्ती करबारे जानकारी दिने बताए ।
नागरिक अगुवा धनीराम वलीले अब कर तिर्नलाई विधि बनाएर जानु पर्ने बताए । उनले जनताको घरदैलोसम्म करका विविध पक्षबारे जानकारी दिन आफुहरु साझा धारणा बोकेर जाने बताए । अर्का सहभागी हजुरा बमले करबारे राखिएको प्रशिक्षण प्रभावकारी र महत्वपूर्ण रहेको बताइन् । राजनीतिकर्मी सज्जल थापाले करबारे धेरै भ्रम रहेको र खजुराले यस्ता भ्रमहरुलाई चिर्दै गएको बताए ।
कार्यक्रममा खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले कुनै पनि करदाताले विरोध नगर्ने गरी सम्पत्ती कर लागू गरिने बताए । उनले करबारे अहिले जनतामा ठूलो भ्रम फैलाइएको बताउँदै त्यो भ्रम चिरेर जनताकै सहमतिमा सम्पत्ती कर लागू गरिने उल्लेख गरे । भूमाफिया, दलाल तथा कर छली गर्नेहरुले करबारे बढी भ्रम फैलाए पनि जनता भने आफ्नो ठाउँको विकास र समृद्धिका लागि आवश्यक कर बुझाउन तयार रहेको बताइएको छ ।
खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले करबारे भएको प्रशिक्षणले जनतामा फैलाइएको भ्रम हट्ने विश्वास व्यक्त गरे । करबारे जानकार कोपिला पोख्रेल र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव केशव पार्धेले सहभागीलाई प्रशिक्षण दिएको कार्यक्रममा उपप्रमुख एकमाया विकलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २२ आश्विन २०७५, सोमबार ०१:५२