सूचनाको शक्ति - The Power Of Information

        

‘पुरुषका पीडा’ न देखिन्छन्, न सुनिन्छन् !

महिलालाई सम्मान गरौँ, आदर्श पुरुष बनौँ । हिंसामुक्त नारी, प्रत्येक पुरुषको जिम्मेवारी । घर शान्ति नै विश्व शान्तिको आधार : महिलाहिंसा विरुद्ध शून्य, सहिष्णुता कायम गरौँ, लगायतका नाराका साथ हरेक वर्ष लैङ्गिक हिंसा विरुद्धका अभियानहरु चलिरहन्छन् । महिला हिंसा अर्थात् महिलाका पीडाहरु समचारहरु बारम्बार सञ्चार माध्यमहरुमा आइरहेका छन् ।
प्रत्यक्षरुपमा हेर्ने हो भने लैँगिक हिंसा अर्थात् घरेलु हिंसामा महिलाहरु नै हिंसाको भागिदार भएको देखिन्छ । तर, अप्रत्यक्षरुपबाट पुरुषहरु पनि कम पीडित भने छैनन् । पुरुषहरु आफ्ना पीडाका कथा व्यथा कसैलाई हत्तपत्त देखाउन र सुनाउन चाहँदैनन् । पुरुषका घरेलु समस्याहरु समाजले पनि देखिरहेको हुँदैन ।

१. पारिवारिक भूमिकामा पुरुष
अधिकांश रुपमा हाम्रो समाजमा सासु र बुहारी मिलेको कमै मात्रामा देखिन्छ । त्यस्तो अवस्थामा एक पुरुषलाई आमा र श्रीमती दुवैको कुरा सुन्नुपर्ने हुन्छ । जब पुरुषले विवाह गर्छ दश महिना कोखमा राखी जन्म दिने आमाको भूमिका निभाउन र कसैको छोरीलाई जीवनभर साथ दिन्छु भनी अग्नी साक्षी राखेर विवाह गरेर ल्याइएकी जीवन साथीको भूमिका सँगै निभाउनुपर्ने हुन्छ । एक पुरुषका लागि दुवै नारीसँगको नाता अति संवेदनशील गहिराइमा जुटेको हुन्छ ।
त्यस्तो अवस्थामा एकै घरभित्र दुवै नारीहरु सासु बुहारीको सम्बन्धमा उतारचडाव किचलो हुनाले एक पुरुषलाई ठुलै समस्या पैदा हुन्छ । यता नौं महिना कोखमा राखी दश धारा दुध पिलाएर पढाएर लेखाएर दुख गरी हुर्काएकी र छोराबाट ठुलो सपना अर्थात् अपेक्षा राखेकी आमाको कुरा सुन्ने कि अर्कोतिर अर्काकी छोरीलाई जीवनभर दुखसुखमा साथ दिन्छु भनी अग्नी साक्षी राखेर विवाह गरेर ल्याएकी श्रीमतीको कुरा सुन्ने, घरमा सासु बुहारीबीच बेमेलले एउटा पुरुषलाई अति नै असहज वातावरण सिर्जना भइदिन्छ र त्यस असहज वातावरणको पीडाको भागीदार एक पुरुष बन्न पुगेको हुन्छ ।

जब पुरुषले विवाह गर्छ दश महिना कोखमा राखी जन्म दिने आमाको भूमिका निभाउन र कसैको छोरीलाई जीवनभर साथ दिन्छु भनी अग्नी साक्षी राखेर विवाह गरेर ल्याइएकी जीवन साथीको भूमिका सँगै निभाउनुपर्ने हुन्छ । एक पुरुषका लागि दुवै नारीसँगको नाता अति संवेदनशील गहिराइमा जुटेको हुन्छ ।

२. बहुविवाहमा पुरुष
कुनै समयमा मर्दको दसवटी भन्ने र व्यवहारमा पनि उतार्ने चलनचल्ती थियो र समाजले पनि सहज रुपमा स्वीकार थियो । अहिलेको समयमा बहुविवाह कानुनीरुपबाट नै अपराध मानिन्छ । भन्नुपर्दा बहुविवाह सरासर गलत हो । एक महिलामाथि गरिने कुठाराघात हो । भनिन्छ, प्रेमको कुनै रुप हुँदैन । प्रेम गर्ने मनलाई न त जातले छेक्छ, न त वैवाहिक सम्बन्धले छेक्छ । न त उमेरले छेक्छ, न त धनी गरिब पैसाको स्तरले नै छेक्छ । प्रेम कसैलाई गर्छु भनेर हुने पनि होइन, प्रेम आफैं हुन्छ । युद्धमा र प्रेममा केही पनि साँेचिदैन । त्यसैकारण भनिन्छ प्रेम अन्धो हुन्छ । हाम्रो समाजमा अहिलेको समयमा पनि कहीँ कतै बहुविवाह विद्यमान छ ।
प्रायजसो बहुविवाह गर्ने पुरुषहरु प्रेमजालमा फसेर जेजस्तो परिस्थिति सिर्जना भए पनि सामना गर्छु भनेर बहुविवाह गरेको देखिन्छ । जति प्रेमको सुरुवातमा एक पुरुषले प्रेमको मिठास चाखेको हुन्छ, तेती नै बहुविवाह पश्चात् उ पछुताउँछ । बहु श्रीमतीलाई एकै ठाउँमा एकै स्थान दिन एक पुरुषलाई पहाड नै बोकेसमान भारी हुन्छ । प्रायः बहुविवाह गर्ने पुरुषहरु सोच्छन् होला बहुश्रीमतीबाट धेरै माया पाइन्छ भनेर तर त्यस्तो हुँदैन । एक पुरुषले बहुविवाह गरेर बहु शरीर उपयोग गर्न पाउँछ तर बहुमाया कदापि पाउन सक्दैन । बहुविवाह गर्ने पुरुष बहुश्रीमतीको निजी हुन सक्दैन र जब उ साझेदारी हुन जान्छ बहुनारीले मनदेखि समर्पित भएर माया गर्न सम्भव हुँदैन ।
माया गर्नका लागि मेरो भन्ने भावना पैदा हुनुपर्दछ । त्यहाँ मेरो मात्र श्रीमान हो भन्ने भावना पैदा हुँदैन त्यसै कारण साझेदार श्रीमान्मा मनदेखि गरिने मायामा कमी आउँछ । सौता भन्ने शब्द नै नमिठो शब्द हो । यो संसारमा कुनै पनि नारीले सौता चाहदैनन् । सौतासौता बीचको द्वन्द्व पीडाको ठुलो भागीदारमा बहुविवाह गर्ने पुरुष नै पर्दछ । नेपालीमा उखान नै छ दुई श्रीमतीकी पोइ कुना पसी रोई । बहु श्रीमती र त्यसबाट जन्मिने बालबच्चाको जिम्मेवारी पालन पोषण शिक्षादिक्षा गर्न अहिलेको महंगीमा त झनै मुस्किल पर्दछ । बहुविवाह गर्ने पुरुषहरु परिवारिक किचलोको साथै अति नै पीडित हुन्छन् ।

३. वैदेशिक रोजगार र पारिवारिक समस्या
देशमा राजनीति अस्थिरता गरिबी बेरोजगारीको कारण अहिलेको तीस लाखभन्दा बढी युवक वैदेशिक रोजगारमा छन् । सुन्दर भविष्यको सपना बोकेर वैदेशिक रोजगारमा जाने पुरुषहरुको पनि कथाव्यथा दर्दनाक छ । बिरानु मुलुक अर्थात् खाडी मुलुकको मरुभूमिमा ५० डिग्रीको घाममा काममा लादिएर पठाएको पैसा केहीको घरपरिवारले राम्रोसँग सदुपयोग नगरिदिँदा दुःख र मिहेनत व्यर्थ भएको छ । एकै घरमा पाँच भाइ छन् भने एक भाइले विदेशमा अति कष्टकर जीवन बिताएर कमाएको धन पाँचै भाइलाइ अंशबन्डा गर्दा खासै दुख गरेअनुसार वैदेशिक रोजगारमा रहने पुरुषलाई उसको आफ्नै जीवनको लागि खासै उपलब्धि भएको देखिँदैन ।
वैदेशिक रोजगारमा रहने अधिकांश सबै पुरुष युवा अवस्थाका पुरुषहरु हुन्छन् । घरमा कलिली जवान अवस्थाको श्रीमती छोडेर बाहिर बस्न विवश भएका हुन्छन् । हाम्रो समाजमा केही त्यस्ता घटना पनि छन्, लामो समयसम्म श्रीमान वैदेशिक रोजगारमा रहँदा यौन चाहना अर्थात् जवानीको भोक, एक्लोपन खप्न नसकेर परपुरुषसँग सम्बन्ध राखेर वैदेशिक रोजगारमा रहने पुरुषहरुको पारिवारिक जीवन नै विखण्डित भएको छ । घर व्यवहार धान्नका लागि पैसाको आबश्यकतामा श्रीमती गुमाउनु परेको अवस्था छ । केही वैदेशिक रोजगारमा रहने पुरुषको एक खुसी परिवार तहसनहस हुँदा बालबच्चाको बिचल्ली भएको छ र वैदेशिक रोजगारमा जाने केही पुरुषहरुको कथाव्यथा दर्दनाक भएको देखिन्छ ।

४. विधुर पुरुष
प्रायजसो पुरुषहरु जवानी अवस्थामा श्रीमती निधन भयो भने तुरुन्तै सामाजिक मान्यताका साथ अर्की विवाह गरिहाल्छन् । तर अलि उमेर ढल्केर बुढेस कालमा श्रीमतीको निधन भयो भने त्यस अवस्थामा विधुर पुरुषलाई अर्की विवाह गर्न असहज हुन्छ । त्यस अवस्थामा छोराछोरीको विवाह भइसकेको हुन्छ । सबै छोराछोरी आ आफ्नै परिवार र कामधन्दामा व्यस्त हुन्छन् ।
त्यो अवस्थामा विधुर पुरुषलाई अति नै एक्लोपन हुन्छ । जति आमा अर्थात् हजुर आमासँग छोराछोरी नातिनातिना नजिक भई झ्यामिन रुचाउँछन्, बाबु अर्थात् हजुर बुवासँग त्यति झ्यामिँदैनन् । त्यसैकारण पनि विधुर पुरुषलाई अति नै एक्लोपन हुन्छ । बुढेस कालमा श्रीमती गुमाउँदा विधुर पुरुषको दुःखसुख पोख्ने कुनै ठाउँ नै हुँदैन । बुढेस कालका विधवा महिलालाई भन्दा पनि पुरुष विधुरको जीवन अति कष्टकर हुन्छ ।

प्रकाशित मिति : २१ आश्विन २०७५, आइतवार १३:५९