सूचनाको शक्ति - The Power Of Information

        

विद्यार्थी खोज्दै शिक्षक, दोहोरो भर्नाको समस्या

बाँके । ‘शैक्षिक सत्र सुरु भएसँगै विद्यार्थी भर्ना अभियान प्रभावकारी रुपमा सम्पन्न भयो,’ महेन्द्र मावि मटेहियाका प्रधानाध्यापक पेस्कार सिंहले भने, ‘सबै विद्यार्थीले निरन्तर कक्षा लिन्छन् भन्नेमा हामी विश्वस्त थियौं । तर अहिले केही समस्या देखिएको छ ।’
उमेर पुगेका सबै बालबालिकालाई विद्यालयमा भर्ना गराउने नीतिअनुसार भर्ना अभियान नै लिएर बैशाख महिनाभर गाउँ घुमेर ४५० जना विद्यार्थी विद्यालयमा भर्ना भए । प्रअ सिंहका अनुसार पहिलो त्रैमासिक परिक्षामा ७२ जना विद्यार्थी एकाएक अनुपस्थित भएपछि उनीहरुको खोजी सुरु गरिएको छ ।
प्रअ सिंह भन्छन्, ‘परीक्षाअघि पनि हामीले पटक पटक विद्यार्थी अनुपस्थित हुँदा अभिभावकहरुलाई सचेत गराएका थियौं । परिक्षामै सामेल नभएपछि अब चरणवद्ध रुपमा अभिभावकहरुसँग बसेर छलफल थाल्दैछौं ।’ बाँकेको विकट मानिने नरैनापुर गाउँपालिका–५ मा पर्ने मटेहिया माविमा ३७८ जना विद्यार्थी मात्रै पहिलो त्रैमासिक परिक्षामा सहभागी भएका थिए ।
‘अन्तर विद्यालय दोहोरो भर्नाको पनि समस्या छ,’ प्रअ सिंहले भने, ‘केही विपन्न परिवारका भएका कारण पनि कमाईका लागि विदेशतिर लागेको हुनुपर्छ । हामी चरणवद्ध कारण खोज्दैछौं ।’ उनका अनुसार कक्षागत रुपमा अभिभावकहरुको भेला बोलाएर अन्तरक्रिया तथा छलफल गरिनेछ ।
विद्यालयको रेकर्ड अनुसार सबैभन्दा धेरै कक्षा १ मा २५ जना विद्यार्थी अनुपस्थित भएका छन् । पहिलो त्रैमासिक परिक्षामा धेरै विद्यार्थी अनुपस्थित भएपछि आगामी परिक्षाहरुमा अझै अनुपस्थित हुने चिन्ता विद्यालयलाई छ । अबका परिक्षामा विद्यार्थी अनुपस्थित हुन नदिन अभिभावक भेला गर्ने तयारी गरेको प्रअ सिंहले बताए ।
उनले भने, ‘आगामी परिक्षाहरुमा सतप्रतिशत विद्यार्थीहरुको सहभागिता गराउन अभिभावकलाई नै सचेत गराउनुपर्ने छ । त्यसैका लागि हामीले कक्षागत भेला गर्ने तयारी गरिरहेका छौं । कक्षागत भेला सकिए पछि पुनः आम भेला बोलाएर छलफल गर्ने हाम्रो तयारी छ ।’
राप्तीपारिका अधिकांश विद्यालयमा यो समस्या धेरै छ । नरैनापुर–६ को आदर्श माविमा करिब एक सय बढी विद्यार्थी पहिलो त्रैमासिक परीक्षामा अनुपस्थित भएको विद्यालयका प्रअ मदनलाल श्रीवास्तवले बताए । उनी भन्छन्, ‘अभिभावकले छोराछोरीलाई नै पठाइदिनु हुन्न ।’
६३५ विद्यार्थी रहेको नरैनापुर–६ कै जयकिसान माविमा ५०१ जना विद्यार्थी मात्रै परीक्षामा सहभागि भए । १३४ जना विद्यार्थी अनुपस्थित भए । ‘अभिभावकलाई सम्झाउनै सकिँदैन । हामी विद्यार्थीलाई पढाउन लागौं कि अभिभावकलाई ?’ प्रअ लक्ष्मण तिवारीले प्रश्न गर्दै भने, ‘विद्यार्थीभन्दा अभिभावकलाई पढाउनेपर्ने भएको छ ।’
विद्यालय नआउने बालबालिकाको नाम, विद्यालय नआउने कारण र पारिवारिक अवस्थाको विषयमा पनि जानकारी लिने उनले बताए । ‘विद्यार्थीहरु विद्यालय आउन नसक्नुको कारण खोज्न सबै शिक्षकहरु लागिरहेका छौं । अभिभावकहरुलाई आफ्ना छोराछोरीलाई विद्यालय पठाउन भनेका छौं,’ उनले भने ।
नरैनापुर गाउँपालिकाका श्रोत व्यक्ति त्रिलोकीनाथ मौर्यले मधेसी समुदायमा यो ठूलो समस्याका रुपमा रहेको बताए । ‘छोराछोरीलाई भन्दा अभिभावकलाई पढाउनुपर्छ, अनि शिक्षकले कसरी कामा गर्न सक्छ ? अभिभावकले पटक्कै सहयोग गर्नुहुँदैन । हाम्रो एकतर्फी प्रयासले मात्रै विद्यार्थीलाई नियमित विद्यालयमा उपस्थित गराउन निकै समस्या छ,’ उनले भने ।
शिक्षा विकास तथा समन्वय इकाईका प्रमूख एवं उपसचिव गोर्खबहादुर थापाले यो समस्या समाधान गर्न निकै चुनौती रहेको बताए । उनले भने, ‘अब जनप्रतिनिधिले यस विषयमा चासो राखेमात्र केही हदसम्म समस्याको समाधान होला । तर हामीले यो समस्या समाधान गर्न सक्दैनौं ।’
विशेषगरी मधेसी समूदायमा यो समस्या धेरै देखिएको थापाको भनाई छ । ‘छात्रवृत्तिका लागि भर्ना गर्ने र पछि विद्यालय नपठाउने समस्या मधेसी समुदायमा धेरै छ,’ उनले भने, ‘चाँडो ठुलो होस् र कमाउन विदेश पठाउँ भन्ने सोंच अहिले पनि यो समूदायमा कायमै छ ।’
उनको अनुसार यो सबै विद्यालयको समस्या हो । विद्यालयमा विद्यार्थी नियमित हाजिर नहुनेको संख्या उच्च छ । ती मध्ये पनि धेरै विद्यार्थी विभिन्न परिक्षामा समेत उपस्थित हुँदैनन् । ‘विद्यालयमा निरन्तर उपस्थित नहुने समस्या समाधानका लागि अभिभावकनै अग्रसर हुनुपर्छ, थापाले भने ।

प्रकाशित मिति : २१ आश्विन २०७५, आइतवार १२:३७