बाँके । प्रहरी प्रधान कार्यालयको स्वीकृतिबिना घुमुवा प्रहरी परिचालन गर्न पाइँदैन । तर, नेपालगन्जको भन्सार नाकादेखि पूरै बजारको असुली धन्दामा केही घुमुवा प्रहरीको संलग्नता रहँदै आएको छ । सूचना संकलनका नाममा केही प्रहरी अधिकृतले नै आ–आफ्ना घुमुवा परिचालन गर्दै आएको खुलेको छ ।
तर, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेल आफूले कुनै घुमुवा नराखेको र बार्गेनिङमा संलग्न कुनै प्रहरी नभएको दाबी गर्दै आएका छन् । बाँके जिल्लामा कार्यरत नेपाल प्रहरीका घुमुवाहरू पछिल्लो समय मोटो रकम असुलीमा सक्रिय हुँदै आइरहेका छन् ।
उनीहरू यौन व्यवसायमा संलग्न केही युवतीको प्रयोगमा रकम असुल्ने र रातारात धनाढ्य हुने आपराधिक र महत्वाकांक्षी योजनामा प्रहरी नै सामेल हुन थालेका छन् । यस्तो पासो थाप्दा प्रहरीले पैसाको भोक र विलासिताको सोख भएका युवतीलाई प्रयोग गर्दै आएको खुलासा भएको छ
यसअघि यौन धरापमा परेर पैसा असुल्ने धन्दामा लागेका नेपालगन्जस्थित संघीय प्रहरी इकाइ कार्यालयका प्रहरी जवान ओमप्रसाद आचार्य, जगदीश बोहरा र बाँके फत्तेपुरकी श्रोती हमाल थारु प्रहरीकै फन्दामा परेपछि एउटा रहस्य खुलिसकेको छ । यो त एउटा उदाहरण मात्र हो । घुमुवा प्रहरी यस्ता काममा दैनिक लागिरहेका छन् ।
घुमुवा प्रहरीले रकम असुलीमा धम्की, डर र त्रास समेत दिदैं बार्गेनिङ गर्ने गरेका छन् । यसअघि पनि घुमुवाले उक्त घटनामा १० लाखको बार्गेनिङ गरेका थिए । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षक रमेशबहादुर सिंह पनि उक्त घटनामा घुमुवाले रकम असुली गरी बाँडेको स्वीकार गर्छन् । तर, यस्ता गतिधिीमा संलग्न भएका घुमुवामाथि जिल्ला प्रहरी कार्यालयले कुनै कारबाही गरेको देखिएको छैन ।
यी घुमुवाहरूले सिंगो प्रहरी संगठनलाई बदनाम गराएको सुइँको पाउनासाथ प्रहरी प्रधान कार्यालयबाटै उनीहरूलाई कारबाहीका लागि कडा निर्देशन दिएको थियो । यस्तो निर्देशनका कारण अहिले यस्ता घटनाहरू हुन छाडेका छन् । तर, उनीहरूमाथी कारवाही भएको छैन् । यसअघि घुमुवा प्रहरीकै संलग्नतामा यौन धरापमा पारेर १२ लाख रुपैयाँसम्म असुलेका तथ्य फेला परेका छन् ।
उजुरी गरे पनि प्रहरीकै संलग्नता हुने हुँदा न्याय पाउने सम्भावना न्यून देखिएकाले मौनता साँध्नुपरेको ती भुक्तभोगीको भनाइ छ । यस्तो धन्दामा धेरैजसो आफूलाई घुमुवा प्रहरी बताउनेहरूको मिलेमतो हुने गरेको पाइएको छ । वर्षौंदेखि मुद्दा फाँटमा बस्दै आएका प्रहरी अधिकृतको समेत नियत खराब देखिन्छ । प्रहरी स्रोत भन्छ, ‘१० वर्षदेखि मुद्दा फाँटमा जरो गाडेर बस्ने प्रहरी र घुमुवा मिलेर गर्ने यस्तो संगठित अपराध माथिल्ला हाकिमलाई समेत पत्तो हुँदैन ।’
।