सूचनाको शक्ति - The Power Of Information

        

गाउँगाउँमा कर शिक्षा दिन अगुवालाई प्रशिक्षण

बाँके । खजुरा गाउँपालिकाले सम्पत्ती करबारे गाउँगाउँमा प्रशिक्षण दिने भएको छ । खजुरा गाउँपालिकाको निर्वाचित टीम, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि र नागरिक अगुवाले यतिबेला सम्पत्ती करबारे प्रशिक्षण लिइरहेका छन् ।
उनीहरुले गाउँपालिकाको ८ वटै वडामा पुगेर सम्पत्ती करबारे जनतालाई बुझाउने छन् । त्यसपछि मात्र सम्पत्ती कर लागू गरिने खजुरा गाउँपालिकाले जनाएको छ । खजुरा गाउँपालिकाको आयोजनामा शनिबारदेखि नेपालगन्जमा राखिएको सम्पत्ती करसम्बन्धी २ दिने अभिमुखीकरणमा बोल्दै गाउँपालिका प्रमुख किश्मतकुमार कक्षपतिले जनताले आफ्नो सम्पत्तीको आफै कर तिर्ने वातावरण मिलाइने बताए ।
उनले कुनै जवरजस्ती, जथाभावी कर नउठाइने बताउँदै सम्पत्ती करबारे बुझ्ने बुझाउने कार्यमा लागेको बताए । गाउँपालिकालाई आन्तरिक स्रोतका रुपमा बलियो बनाउने एउटा माध्यम कर पनि हो भन्दै उनले भने, कर किन तिर्ने, के का लागि तिर्ने र कर तिर्दा गाउँपालिका वा स्थानीय सरकार कस्तो बनाउन सकिन्छ यी महत्वपूर्ण विषय भएको बताए ।
सम्पत्ति कर वैज्ञानिक पद्दती भएको उल्लेख गर्दै प्रमुख कक्षपतिले समय सुहाउँदो र जनता सन्तुष्ट भएर मात्र कर तिर्ने अवस्थाको सृजना गर्नका लागि सबै संयन्त्र लागि परेको बताए । खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले अभिमुखीकरण फलदायी रहेको उल्लेख गर्दै करबारे जानकार कोपिला पोख्रेल र मन्त्रालयका केशव पार्धेले सहभागीलाई प्रशिक्षण दिइरहेको जानकारी दिए । कार्यक्रममा उपप्रमुख एकमाया विक लगायतको सहभागिता रहेको छ ।

 

प्रकाशित मिति : २० आश्विन २०७५, शनिबार १०:३८