सूचनाको शक्ति - The Power Of Information

        

सिम्ताली भाषा र संस्कृति जोगाउन एकजुट हुनुपर्छ : पूर्वमन्त्री सुनार

बाँके । पूर्व सिँचाई राज्यमन्त्री दलबहादुर सुनारले सिम्तालीहरुको भाषा र संस्कृति संरक्षणका लागि एकजुट हुनुपर्ने बताएका छन् । सिम्ताली एकता समाज बाँकेले नेपालगन्जमा आयोजना गरेको भेलामा बोल्दै सुनारले भाषिक समृद्धि, लोक साहित्य र लोकनाचको त सिम्ता खानी नै भएको विचार व्यक्त गरे ।
उनले भने, ‘हाम्रा भाषिक, धार्मिक, साँस्कृतिक पहिचानलाई संरक्षण गरी त्यसको व्यापक प्रचारमा लाग्दै रचनात्मक कार्यहरुका लागि अघि बढ्नुपर्छ ।’ बाँके जिल्लामा रहेका सिम्तालीहरुलाई एकजुट र एकिकृत गर्दै सिम्ताली भाषा र संस्कृतिलाई जोगाउन एकजुट भएर लाग्नुपर्ने पूर्वराजयमन्त्री सुनारले बताए ।
भेलाले नेपालगन्ज उपमहानगरमा कृष्ण विकको अध्यक्षतामा ९ सदस्यीय नगरस्तरीय समितिसमेत गठन गरेको छ । समितिको उपाध्यक्षमा युवराज पोख्रेल, सचिवमा बालकृष्ण खड्का, सहसचिवमा नैनसरा भण्डारी र कोषाध्यक्षमा तुलसा चन्दलाई चयन गरेको छ ।
त्यस्तै सदस्यहरुमा काशीराम राना, पहलमान खत्री र तेजबहादुर खत्रीलाई चयन गरेको छ । समाजले यसअघि पनि बाँकेको बैजनाथमा खड्कबहादुर खड्काको अध्यक्षतामा ११ सदस्यीय गाउँ समिति र कोहलपुरमा निमबहादुर चन्दको अध्यक्षतामा ११ सदस्यीय नगर समिति गठन गरिसकेको छ ।
कार्यक्रममा समाजका अध्यक्ष, निमकान्त उपाध्याय, उपाध्यक्ष शोभा सिंह ठकुरी, पत्रकार काशीराम शर्मा समाजका आजिवन सदस्य सुरत बहादुर खत्री, केन्द्रीय सदस्य निरक पोख्रेल लगायतले आफ्ना भनाई राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन समाजका सचिव लिलाधर ढकालले गरेका थिए ।

प्रकाशित मिति : २० आश्विन २०७५, शनिबार १०:२१