सूचनाको शक्ति - The Power Of Information

        

आफूमाथिको विरोधबाट बच्न सरकारको विरोधमा कांग्रेस : मुख्यमन्त्री पोखरेल

बुटवल । मुख्यमन्त्री तथा नेकपाका प्रदेश पाँचका इन्चार्ज शंकर पोखरेलले नेपाली कांग्रेस नेतृत्व आफूमाथिको विरोधबाट बच्न सरकारको विरोधमा उत्रन खोजेको आरोप लगाएका छन् । उनले गत चुनाबमा पार्टी पराजय भएपछि कांग्रेस नेतृत्वले प्रश्नको सामना गर्नुपरेको र प्रश्नबाट बच्न सरकार विरुद्ध पार्टी पंतिलाई उभ्याउन खोजेको उल्लेख गरे ।
नेकपा प्रदेश पाँच कमिटिले शुक्रबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा पोखरेलले भए नभएका एजेण्डा खोजेर सरकार विरुद्ध विरोध गराउन कांग्रेस सभापति शेरबहादुर देउवा लागेको उल्लेख गरे । उनले बलियो सरकार बनेका समयमा हिंसा सहेर बस्नुहुँदैन भन्ने मनोवल महिलाहरुमा बढेकाले महिला हिंसाका घटना बाहिर आउने क्रम बढेको उल्लेख गर्दै त्यस्ता घटनामा संलग्नलाई कडा कारवाही हुने बताए ।
पोखरेलले सरकारले यातायात क्षेत्रको सिण्डिकेट, निर्माण क्षेत्रको दवदवा, गैरसरकारी संघसंस्थाहरुको अनुगमन तथा बजारको एकाधिकार तोडेर समाजमा सुधार गर्न खोज्दा पनि सरकारमाथि प्रहार भइरहेको बताए । कार्यक्रममा पार्टीका प्रदेश अध्यक्ष तथा पुर्वसभामुख ओनसरी घर्तिले पार्टीका सबै कार्यकर्ताको बनोवललाई उचो बनाउँदै पार्टीलाई बलियो बनाउने बताइन् ।
यसैबीच, नेकपा प्रदेश नं ५ ले प्रदेश तथा जिल्ला मातहतसम्म पार्टी एकता अभियान सार्वजनिक गरेको छ । नेकपा प्रदेश ५ को पहिलो बैठकले २० दिनभित्र कार्यसम्पादन गर्ने गरी जिल्लागत रुपमा पार्टी एकता सिफारिश कार्यदलसमेत गठन गरेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । प्रदेशका १२ वटै जिल्लामा चार चार जनाको दरले कार्यदल गठन गरिएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७५, शनिबार ०४:३४