सूचनाको शक्ति - The Power Of Information

        

चाडपर्वलाई लक्षित गरी ट्राफिक प्रहरीद्वारा बाँकेमा एक साथ तीन अभियान

बाँके । चाडपर्वलाई लक्षित गरी ट्राफिक प्रहरी कार्यालय बाँकेले एकसाथ तीन वटा अभियान सुरु गरेको छ । ‘आज सचेत बनौं भोलीका लागि बाँचौं’ नाराका साथ ट्राफिक प्रहरीले आम नागरिकहरुका लागि सचेतना अभियान सञ्चालन गरेको छ ।
त्यस्तै ‘सडक सुरक्षाका लागि शिक्षा’ नारा दिएर सवारी चालकहरुलाई ट्राफिक नियमबारे सचेतना अभियान चलाइरहेको छ भने गाडीमा सवार यात्रु र चलाकहरुलाई लक्षित गरी ‘तपाईको सुरक्षित यात्राको सरोकार, ट्राफिक प्रहरीको उपहार’ भन्ने नारा दिएर तेस्रो अभियान चलाइरहेको छ ।
चाडपर्वमा हुने सडक दुर्घटनालाई न्यूनीकरण गर्न एकैसाथ तीन वटा अभियान चलाइएको ट्राफिक कार्यालय बाँकेका प्रमूख एवं प्रहरी निरिक्षक हिरेन्द्र रोकायले बताए । उनले भने, ‘सबै सरोकारवालाहरुसँग छलफल गरी तीन वटा अभियानलाई एक साथ लिएका छौं । चाडपर्वमा हुने सडक दुर्घटना न्यूनीकरण गर्न हामीले यी अभियान चलाएका हौं ।’
ट्राफिक प्रहरीले सवारी साधनको बढी चांप हुने स्थानहरु नेपालगन्ज उपमहानगरपालिका बसपार्क र कोहलपुर बसपार्कमा यात्रुको सहजीकरणका लागि यात्रु सहायता कक्ष स्थापना गरेर पैदल यात्रु, गाडीमा सवार यात्रु र चालकहरुलाई सचेतिकरण गरिरहेको रोकायले बताए । उनका अनुसार यातायात व्यवसायीहरुसँग छलफल गरी यात्रुहरुको सहज यात्रा, गुणस्तरीय सेवा दिन तोकिएको भाडादर र गुनासो सुनुवाई गर्नसमेत छलफल गरी सम्झौता गरिएको छ । घटस्थापनादेखि सम्झौता कार्यान्वयन भए/नभएको बारे अनुगमन गरिने ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
प्रहरी निरिक्षक रोकायले भने, ‘यात्रु बसहरुमा व्यापारिक प्रयोजनका सामानहरु बेक्न पूर्णरुपमा रोक लगाइएको छ । यात्राका क्रममा सवारी साधनको संख्या कम भएमा यातायात व्यवसायीहरुले व्यवस्थापन गर्ने गरी सम्झौता गरिएको छ । सोही अनुसार कार्यान्वयन हुन्छ ।’
रोकायका अनुसार तोकिएको भाडादर, यात्रुको सहजता, तीव्र गति, यात्रुहरुलाई तानातान गर्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने लगायतको व्यवस्थापन तथा अनुगमनका लागि सादा पोसाकमा ट्राफिक प्रहरी खटाइएर निगरानी गरिरहेको छ । अनुगमनका क्रममा नियमविपरित गरेको पाइएमा कडा कारबाही गरिने उनले बताए ।
यसैबीच, ट्राफिक प्रहरीले चाडपर्वको अवसरमा आर्दश उच्च मावि र नेपालगंन्ज बहुमुखी क्याम्पससँग समन्वयमा सवारी दुर्घटना हुने स्थानको पहिचान गरी नेपालगन्जका विभिन्न स्थानमा २० वटा ट्राफिक जनचेतनामूलक बोर्डहरु राखिएको छ । बोर्डमा जनचेतनामूलक नाराहरु दिएर ट्राफिक नियम पालना गरिदिन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७५, शुक्रबार ०९:१८